शीर्ष दलका र कार्यदलको बैठक बालुवाटारमा जारी

डिसी नेपाल
१४ जेठ २०८१ ९:५८

काठमाडौं। शीर्ष दलका नेता र कार्यदलको बैठक बालुवाटारमा जारी छ। संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल प्रचण्डले बालुवाटारस्थित निवासमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुसँग छलफल गरिरहेका छन्।

छलफलमा सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुसमेत छन्।

बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, एमालेबाट कानुनमन्त्री पदम गिरि, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम् वाग्ले, सन्तोष परियार लगायत छन्।

यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको छ। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पनि शीर्ष नेतासँग बसेर कार्यादेश टुङ्ग्याउने समझदारी भएको बताए।

सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग, ठगी छानबिन गर्न प्रमुख दलहरूबीच संसदीय समिति बनाउने सैद्धान्तिम सहमति बनेपनि क्षेत्राधिकारमा कुरामा भने सहमति हुन सकेको छैन।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडियामा रकम गएकाले त्यो संस्थालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नाम क्षेत्राधिकारमा तोक्नुपर्ने अडान राख्दै आएको छ।

सत्तापक्षले सुप्रिम, सूर्यदर्शन लगायत सहकारीहरूको नाम अनुसूचीमा उल्लेख गरेर जानुपर्ने अडान राखेको छ। यसैमा कुरा नमिल्दा कांग्रेसले संसददेखि सडकसम्म विरोध जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *