बालुवाटार बैठक : टीओआरको विषयमा कुरा मिलेन, साँझ फेरि बस्ने

डिसी नेपाल
१४ जेठ २०८१ ११:५८

काठमाडौं। सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्षविहीन भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए। तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन्। सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफलमा कुरा नमिलेपछि कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने बताएको छ।

बालुवाटार बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘टीओआरको विषयमा कुरा मिलेको छैन। थप छलफलका लागि हामीले १ बजे बस्दैछौं। त्यहीबाट पार्टीको आधिकारिक धारणा ल्याउँछौँ।’

बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, एमालेबाट कानुनमन्त्री पदम गिरि, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम् वाग्ले, सन्तोष परियार लगायत सहभागी थिए।

यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको छ। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पनि शीर्ष नेतासँग बसेर कार्यादेश टुङ्ग्याउने समझदारी भएको बताए।

सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग, ठगी छानबिन गर्न प्रमुख दलहरूबीच संसदीय समिति बनाउने सैद्धान्तिम सहमति बनेपनि क्षेत्राधिकारमा कुरामा भने सहमति हुन सकेको छैन।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडियामा रकम गएकाले त्यो संस्थालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नाम क्षेत्राधिकारमा तोक्नुपर्ने अडान राख्दै आएको छ।

सत्तापक्षले सुप्रिम, सूर्यदर्शन लगायत सहकारीहरूको नाम अनुसूचीमा उल्लेख गरेर जानुपर्ने अडान राखेको छ। यसैमा कुरा नमिल्दा कांग्रेसले संसददेखि सडकसम्म विरोध जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *