बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया

डिसी नेपाल
१५ जेठ २०८१ २२:०७

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यमान अर्थतन्त्रको चुनौतीलाई चिर्न र नवीन आशा जाग्ने गरी नयाँ सम्भावनाका साथ बजेट आउँछ भन्ने अपेक्षा रहेकामा त्यो नभएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘बजेट प्रस्तुत गरिरहँदा निरन्तरतामा नवीनता हुनुपर्ने हो त्यो देखिएन। अहिले बजारको जुन मूल्यवृद्धि छ त्यसलाई धान्न सक्ने आयको पक्ष हेरिएन।’

अहिलेको अर्थतन्त्रमा देखिएको चुनौतीलाई सामना गर्ने, निजी क्षेत्रको मनोबल उठाउने, चुहावटलाई नियन्त्रण गर्ने, व्यापार घाटा कम गरी आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने र अर्थतन्त्रमा छलाङ मार्ने ढंगबाट बजेट नआएको उनको टिप्पणी छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले बजेटले कृषिमा नयाँपन व्यक्त गरेको र देशका विभिन्न क्षेत्रमा विशिष्टीकृत रोजगारी सिर्जना गर्ने विषयलाई लक्षित गरेको पक्ष निकै सकरात्मक भएको प्रतिक्रिया दिए। उनले भने, ‘भौतिक पूर्वाधारको क्षेत्रमा यसपटक बजेट निकै विनियोजन भएको छ। यी नै बजेटका प्रमुख विषयहरु हुन्।’

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नेता राजेन्द्रप्रसाद पाण्डेले संसद्मा प्रस्तुत भएको बजेट समग्रमा ठीकै रहेको प्रतिक्रिया दिए। उनले भने, ‘यो बजेट कति कार्यान्वयन हुन्छ कति हुन्न त्यसमा भर पर्छ। बजेटमा समेटिएका सबै विषयवस्तु कार्यान्वयन हुन ९५ खर्बभन्दा बढी चाहिन्छ। प्याज, आलुलगायतका अत्यावश्यक कृषिजन्य सामाग्रीमा भ्याट लगाइँदै आएकोमा हटाइएको छ त्यो राम्रो कुरा हो।’

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोककुमार राईले नीति तथा कार्यक्रमको सारतत्वलाई बोकेकाले बजेट राम्रो भएको बताए। ‘मुलुकको अर्थतन्त्रलाई केही न केही अगाडि बढाउँछ भन्ने विश्वास जागेको छ’, उनले भने।

जसपाकी नेत्री रञ्जुकुमारी झाले निजी क्षेत्रलाई लगानी गर्न उत्पे्ररणा दिने र तरकारीलगायत अत्यावश्यक वस्तुमा कर घटाउँदा गृहिणीका लागि खुसी पैदा गरेको प्रतिक्रिया दिए।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बजेट सुन्दा कर्णप्रिय भए पनि कार्यान्वयनको कति हुन्छ भन्ने आधारमा मूल्यांकन गरिनुपर्ने बताए। ‘बजेट कार्यान्वयन फितलो हुँदै आएको परम्परा छ। यो पटक पनि कार्यान्वयनको पाटो कस्तो हुन्छ हेर्न बाँकी नै छ, त्यसको आधारमा बजेटको प्रभाकाकारिता निर्धारण हुन्छ’, उनले अगाडि थपे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *