पूर्व पश्चिम फर्कियो, पश्चिम पूर्व
![पूर्व पश्चिम फर्कियो, पश्चिम पूर्व](https://www.dcnepal.com/wp-content/uploads/2024/06/c98c9090-8370-4129-80e0-57f5288eec16.jpg)
हाम्रा प्राचीन ऋषिमुनिका ज्ञान र अनुभूतिका अनुपम भण्डार हामीसँग छन्। तपस्वी ऋषिमुनि बिद्वानले प्रतिपादन गरेका वेद, गीता, उपनिषद, मनुस्मृति तथा रामायण महाभारतका ज्ञान नै अत्यन्त गहिरो र अपरंपार छन्। हाम्रो सनातन प्राचीन धर्म भारतबर्षबाट पश्चिमतर्फ लगेर उनीहरुले त्यसको भरपुर सदुपयोग गरे।
अहिले हामी हाम्रो धर्म संस्कृति परम्परालाई तथ्यगत रुपमा बुझ्न नसकेर हाम्रा नयाँ युवाशक्ति बाटो बिराएर पश्चिममुखी हुँदै गएका छन्। पश्चिमका बिद्वान, बैज्ञानिक, दर्शनशास्त्री तथा इतिहासबिद्ले प्राचीन पूर्वीय सभ्यताबाट अत्यन्त प्रभावित भएर त्यसको बखान गरेको हामी पाउँछौं।
सिलाङ निवासी लेखक शलील ज्ञावालीद्वारा संकलन गरि डा. गोबिन्दराज भट्टराईद्वारा अनुबाद गरिएको पुस्तक “पूर्वीय सभ्यता” (बिश्वविख्यात विद्वानको दृष्टिमा) मेरा सिक्किम निवासी पूर्ब प्रधानअध्यापक मित्र कमल सापकोटाले अति प्रेमसहित अध्ययनको लागि सिड्नीमा मलाई दिनुभयो। यसको अध्यन गरिसकेपछि मलाई यसको महत्व बारेमा केही लेख्ने इच्छा भयो।
युरोप र अमेरिकामा भएका बिद्वान, बैज्ञानिक, साहित्यकार, दार्शनिकहरु प्राय सबैले वेदको तारिफ गरेका छन्। प्राचीन संस्कृति, इतिहास, खगोलशास्त्र, भूगर्भ ज्ञान, गंणित जुन पूर्वबाट सुरु भएको थियो, त्यसको महत्व बुझेर त्यसको तारिफ गरेका छन्। पूर्वीय ज्ञानको अतुलनीय ज्ञानको भण्डार भनेकै वेद हो।
ऋषिमुनिले ऋगवेद, यजुर्वेद, सामवेद र अर्थवेद यी चार वटा वेदका संहिताहरु मात्र ग्रहण गरेका छन्। अहिले रामायण, महाभारतलाई पनि पाँचौ वेद भनिन्छ। वेद भनेको सम्पूर्ण ज्ञानको भण्डार हो भन्ने बुझ्नु पर्दछ। वेदमा समस्त सृष्टिको रहस्य विद्यमान छ।वेदमा समस्त ज्ञान विज्ञान भए तापनि यसमा अध्यात्मज्ञान प्रमुख रहेको छ।
संस्कृत भाषामा लेखिएका वेद गीताहरु अहिले बिभिन्न भाषामा लेखिएर संसारभर पुगिसकेका छन्। त्यही भएर पश्चिमका बिद्वान, दार्शनिक, बैज्ञानिकले वेदलगायत पूर्वीय सभ्यताको महत्व बोरमा यसप्रकार लेखेका छन्।
युरोपेलीहरुको उच्चतम दर्शन पनि वेदान्तका तुलनामा एउटा निस्तेज फिलिङगो जस्तो मात्र देखिन्छ-महान जर्मन बिद्वान, कवि तथा समालोचक अगस्ट विलहेल्म भोन स्लेगे।
कुनैपनि मानव भाषामा विद्यमान सम्भवतः गम्भीरतम, सर्बाधिक उदात्त एकमात्र दार्शनिक गीत गीता नै हो- प्रसिद्ध जर्मन दार्शनिक, प्रतिभाशाली भाषावैज्ञानिक र स्रष्टा , विलहेल्म भोन हुम्बलोट।
ज्ञानरुपी वृक्षमा उपनिषद्भन्दा सुन्दर पुष्प कहीँ फुलेको छैन, अनि वेदान्त दर्शन भन्दा सुन्दर फल कहीँँ फलेको छैन-प्रसिद्ध जर्मनेली बिद्वान प्राच्यविद पौल डुसन।
भारतवर्ष वेदहरुको भूमि हो। ती उल्लेख्य कर्महरुमा पूर्ण जीवनको निमित्त धार्मिक कर्महरु मात्र छैनन्, अपितु त्यहाँ यस्ता सत्य पनि छन् जसलाई बिज्ञानले पनि सत्य प्रमाणित गरेको छ। बिद्युत, रेडियम, इलेक्ट्रोनिक्स, हवाइजहाजजस्ता सारा कुरा ती द्रष्टालाई जानकारी थियो जसले वेदको रचना गरे-सर्बधिक पृय अमेरिकी कवयित्री तथा पत्रकार प्रखर रहस्यवादी एला विलर विल्कक्स।
भारतवर्ष सबै धर्मकी जननी हुन्। उनमा धर्म र विज्ञान दुबै तत्व पूर्ण एकत्वमा सँगै छन्, उनी अब फेरि पनि विश्वकी अध्यात्मिक जननी बन्ने छिन्- सम्मानित आइरिस लेखिका, प्रखर वक्ता एनी उड बेसन्ट।
भगवत्गीता जस्तो लोकोत्तर, उदात्त सिर्जनालाई राम्ररी बुझेर त्यसमा प्रवेस गर्न हामीले आफ्नो आत्मालाई पनि त्यसैमा समर्पण गर्न जरुरी छ-सर्बधिक बहुसर्जक प्रतिभा अष्ट्रियन लेखक, दार्शनिक रुडोल्फ स्टेइजर।
वेदान्त मानव मस्तिष्कले परिकल्पना गरेको सर्बाधिक प्रभावशाली तत्वमीमांसा हो-महान बेलायती दार्शनिक एबं गणितज्ञ अल्फ्रेड नर्थ वाइटहेड।
हिन्दुधर्म सहनशीलता र नीतिको कुरा मात्र होइन अपितु यो बिश्वासको आधार पनि हो-अंग्रेजी साहित्यका बहुकृतिका श्रष्टा, उपन्यासकारक अनि दार्शनिक एच. जी. वेल्स।
हामी पुर्वीयप्रति चिर ऋणी छौं किनकि उनीहरुले हामीलाई गणित सिकाए , त्यसको अभावमा कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार गर्न सकिने थिएन। आधुनिक भौतिकशास्त्रमा हामीले जुन उपलब्धि हासिल गरेका छौं, त्यो कुरा सबै प्राचीन हिन्दु विद्वत्ताको प्रतिपादन, समर्थन र परिष्करण मात्र हो-बिश्वका एक महान भौतिकशास्त्री जो फादर अफ अटोमिक बम ( अणुबमका पिता ) जुलिअस रोबर्ट ओपन हाइमर।
हामी हिन्दुधर्म जस्तो पूर्वीय धर्मको क्षमतावाट प्रभावित छौं- ब्रम्हाण्डको आयु र आकृतिजस्ता अनेक महत्वपूर्ण बिषयमा धेरै पक्षबाट हेर्दा यो धर्म बिज्ञानसम्मत देखिन्छ। आज यो सार्बभौम चेतना धर्मको अबशेषको रुपमा रहेको अन्तिम अन्तःक्षेत्र हो-प्रसिद्ध अमेरिकी बिदुषी अनेक अध्यात्मिक कृतिकी श्रष्टा लिण्डा जोनसेन।
यसरी पश्चिमाहरुले अत्यन्त आदर गरिएका हाम्रो प्राचिन कालदेखिको ज्ञान, संस्कृति जसलाई हाम्रो पूर्वीय क्षेत्रमा र कतिपय हाम्रो देशमा जन्मेर हाम्रो वेद गीता तयार गर्न समर्थ हुने वेद ब्यास, बाल्मीकिहरुले तयार गरिएको यो चमात्कारी ज्ञान समस्त संसार भरि छरिएको छ।
त्यस्तै संसारलाई शान्तिको ज्योति छर्ने हिंसाको बिरुद्ध आफ्नो ज्ञान दिने भगवान बुद्धले यसै स्थानबाट प्राप्त गरेको ज्ञानको प्रकास अहिले बिश्वभर फैलिएको छ। अहिले बृद्यधर्म बाट प्रतिपादित ध्यान विपश्यान केन्द्रहरु संसारभर खुलेका छन्। जसबाट कराडौ मानिसहरुले ध्यानको माध्यमबाट मनमा शान्ति र धैर्यता प्राप्तिको लाभ ग्रहण गरिरहेका छन्।
योगेश्वर श्री कृष्ण, मर्यादा पुरुषेत्तम श्रीराम, महायोगी शिव, महर्षि दयानन्द, रामकृष्ण परंहस, स्वामी विवेका नन्द, संकराचार्य यी सबै अलौकिक शक्ति र सिद्धीबाट पारंगत भएका थिए। पछिल्लो समयमा नेपालमा बसेर बिभिन्न ज्ञानका उपदेशहरु बाँडेर समाधिस्त भएका शिबपुरी वावा, खप्तड स्वामी जस्ता सिद्य पुरुषहरु समेत हामीले दर्शन गर्ने अबसर पायौं।
यो सबै यथार्थ भएको पूर्वीय सभ्यता र दर्शनको महत्व बुझेका पश्चिमा बिद्वानहरुले आफ्नो देशमा यसको उपयोग गर्दै आज जर्मनमा संस्कृत बिश्वबिद्यालय संचालनमा छ। कृष्णका अनुयायी पश्चिमाहरुले इस्कोनको माध्यमबाट आज संसारभर कृष्णका मन्दीर बनाएर गाईको रक्षा गर्दै गीताको ज्ञान बांडि रहेका छन्।
अर्कोतर्फ हाम्रा बिद्वान बुद्धिजिवीहरु आज आफ्नो धर्म संस्कृतिको बचाव गर्दै प्रचार प्रसारमा लागेर युवा जगतमा सही जानकारी गराउनु भन्दा यसलाई अपहेलित गर्दै पश्चिमी धर्मलाई अंगाल्नमा आतुर छन्। हाम्रा नेताहरु सिर्फ पश्चिमा राजनीतिको चेपुवामा पर्दै हाम्रो सनातनी धर्म परंपरालाई मास्नमा उद्दत हुनु हाम्रो दुर्भाग्य पनि हो।
अब हामीले हाम्रो प्राचीन धर्मका महत्वपूर्ण बिषयहरुलाई पाठ्यक्रममा राखेर भएपनि संस्कृत भाषाको ज्ञान सबै स्कुलहरुमा अनिबार्य गराउँ। कमसेकम हाइस्कुलतहमा यसलाई अध्यन र अध्यापन गर्न सुरु गरौं। जसबाट हाम्रा वेद गीता, रामायण, महाभारत जस्ता पौराणिक कथाबाट अध्यात्म ज्ञान र नैतिक ज्ञानमा बल पुग्नेछ।
आज पश्चिमी जगतले संस्कृत साहित्यलाई महत्व दिएर बिश्वबिद्यालय मार्फत यसको प्रचार गरिरहँदा हाम्रा संस्कृतका बिश्वबिद्यालयमा केही वर्ष पहिला आगो लगाउने केही बिदेशी एजेण्टले आफ्ना गल्ती महसुस गरी हाम्रा पुर्बजले छोडेर गएको सनातन धर्म संस्कृत, ज्ञानको आत्मसात गर्दै युवाबर्गलाई त्यसतर्फ सचेतना गराउन आबश्यक छ।
जसबाट युवाहरुमा धार्मिक र नैतिक ज्ञानको अभिबृद्धि हुनेछ। त्यसपछि उनीहरुमा आउने सहनशिलताको शक्ति र आत्मबलले ब्यक्तिगतरुपमा उनीहरुको बौद्धिकतामा फाइदा पुग्नेछ भने दीर्घकालमा देशको हित हुनेछ।
Facebook Comment