नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा

डिसी नेपाल
२० साउन २०८१ २३:५०
684
Shares

चितवन। नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ । दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि साँझ अबेर मात्रै बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।

नारायणगढस्थित मानव बस्ती नजिक नारायणी किनारमा रहेको अन्दाजी पाँच वर्षको भाले बाघलाई नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ भेटेनरी चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिए। निकुञ्जका तीनवटा हात्तीको सहयोगमा बाघलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो ।

आज दिउँसो दुईवटा हात्ती त्रसियर भागेपछि थप हात्ती ल्याएर बाघ नियन्त्रणमा लिइएको हो । डार्ट गरिएको बाघलाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको खोरमा लगेर राखिने उहाँले जानकारी दिए।

नारायणी नदी किनारमा नदीमा मिसिनु अघि ढललाई प्रशोधन गर्न बनाइएको ट्यांक रहेको क्षेत्रको नर्कटको झाडीबाट निकुञ्जका कर्मचारी, प्रहरी प्रशासनको सक्रियतामा बाघलाई नियन्त्रणमा लिईएको हो।

उक्त बाघले आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २ बेलटाँडीका ६० वर्षिय पशुपति श्रेष्ठलाई आक्रमण गरेको थियो। बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.