खुलाचौरमा स्वास्थ्योपचार
बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाको धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भवन अभावका कारण बिरामीको स्वास्थ्योपचार खुलाचौरमा हुँदै आएको छ।
गाउँपालिकाको केन्द्रमा रहेको वडा नं ६ धुलाचौर आधारभूत स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका बिरामीलाई राख्ने कोठा नहुँदा खुलाचौरमा सेवा प्रवाह हुँदै आएको स्वास्थ्य केन्द्रले जनाएको छ।
चिसो बढेपछि बिरामीको चाप बढ्दै गएकाले उनीहरुलाई राख्ने कोठा नहुँदा स्वास्थ्य केन्द्र बाहिर राखेर उपचार सेवा प्रवाह गर्दै आएको स्वास्थ्य केन्द्रकी सहायक इञ्चार्ज विमला पाण्डेले जानकारी दिइन्।
उनले दिएको जानकारीअनुसार स्वास्थ्य सेवा केन्द्र प्रशासनिक र अन्य भिडियो, एक्स–रे सेवा प्रवाह गर्ने प्रयोग गरिएकाले अन्य उपचारका लागि आएका बिरामीलाई कोठा अभाव रहेको बताएकी छन्।
गाउँपालिकाको केन्द्रमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा दैनिक रुपमा २० बढी बिरामी आउने गरेका छन्। स्वास्थ्य केन्द्रमा ज्वरो, पखाला लाग्ने र अन्य प्रकृतिका बिरामी आउने गरेको सहायक पाण्डेले बताइन्।
स्वास्थ्य सेवा केन्द्रबाट गर्भवतीको भिडियो जाँच, एक्स–रे, सुरक्षित मातृत्व र जनरल सेवा प्रवाह हुँदै आएकाले बिरामीको चाप दैनिक रुपमा बढ्दै गएको उनले बताइन्।
स्वास्थ्य सेवा केन्द्रमा एक हप्तादेखि लगातार बिरामीको चाप बढ्न थालेको पाण्डेको भनाइ छ। उपचारमा आएका बिरामीलाई सरकारलेबाट पाइने निःशुल्क औषधि पर्याप्त भए पनि बिरामीको उपचार कक्ष नहुँदा स्वास्थ्य सेवा केन्द्र बाहिरको चौरमा उपचार सेवा दिनुपरेको उनी बताउँछिन्।
गाउँपालिकाले पालिकामा आउने नगारिकको स्वास्थ्य सेवाको उपचारका लागि सञ्चालन गरेको स्वास्थ्य सेवा केन्द्रमा स्थानीयभन्दा बढी छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिकाका स्थानीय बढी सेवा लिन आउने गरेको छन्।
उक्त गाउँपालिकाले करारका कर्मचारी हटाएपछि उपचारका लागि धुलाचौरमा आउनुपरेको उपचारमा आएका एक बिरामीले आफूलाई गुनासो गरेको स्वास्थ्य केन्द्र सहायक पाण्डेको भनाइ छ।
गाउँपालिकाको स्वास्थ्य सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण भए पनि हस्तान्तरण नहुँदा जीर्ण रहेको भवनमा सेवा प्रवाह हुँदै आएको छ। भवनको निर्माण भएकाले निर्माण कम्पनीले हस्तान्तरण गर्न ढिलाइ गरेको हिमाली गाउँपालिकाले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment