नेपाल प्रेसका पत्रकार सुवेदी न्युजरुमबाटै पक्राउ, नयाँ पत्रिकामा पनि प्रहरी पुग्यो
काठमाडौं। नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ। नयाँबानेश्वरस्थित नेपाल प्रेसको कार्यालयमा पुगेका सादा पोशाकका प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएका हुन्।
समाचारको स्रोत खुलाउन दबाब दिँदै प्रहरीको साइबर ब्यूरोले सुवेदीलाई नियन्त्रणमा लिएको हो। लामो समयदेखि सुरक्षा र अपराध मामिलामा कलम चलाउँदै आएका पत्रकार सुवेदीलाई पक्राउ गरेपछि प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारितामाथि गम्भीर प्रश्न उठेको छ।
यसैबीच, उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएका सादा पोशाकका पाँच जना प्रहरी अधिकारी नयाँ पत्रिका दैनिकको कार्यालयमा समेत पुगेका छन्। बिना पक्राउ पुर्जी पुगेका प्रहरी अधिकारीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा उपस्थित गराउन भन्दै कार्यकक्षमै बसिरहेका छन्।
समाचार कक्षभित्रै छिरेर प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिन थालेपछि नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले राज्यको यस कदमलाई ‘राज्य आतंक’ को संज्ञा दिँदै यस्ता कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
नेपालको संविधान, प्रेस स्वतन्त्रताको सर्वमान्य सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन गर्दै प्रहरीले पत्रकारमाथि धरपकड बढाएको भन्दै महासंघले विरोध जनाएको छ। राज्यले यो रवैया तत्काल नसच्याए र समाचार कक्षबाटै पत्रकार उठाउने कार्य नरोके कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत महासंघले दिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment