भीम रावलले अनुशासनहीन काम गरेपछि कारबाही गरिएको हो : शंकर पोखरेल

डिसी नेपाल
१२ पुष २०८१ १०:३७
232
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल पार्टी अनुशासनमा नरहेको कारण कारबाही गर्नुपरेको बताएका छन्।

शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको कारण भीम रावललाई सदस्यबाट निष्कासित गर्नुपरेको बताएका हुन्।

पार्टी कार्यकर्ताले पार्टीका आधारभूत नम्सहरुलाई मान्नु पर्ने बताउँदै पोखरेलले रावल त्यस भित्र टिक्न नसकेको जिकिर गरे। ‘रावल लामो समयदेखि पार्टी अनुशासन भन्दा बाहिर रहनु भयाे। चितवन अधिवेशनमा अध्यक्षको उम्मेदवार बन्नुभए पनि रावल पराजित भएको स्मरण गर्नुपर्छ,’ उनले भने।

महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकारमा मनोनित गर्ने नीतिगत निर्णय पार्टीले गरेको भएपनि रावलले त्यसलाई नस्वीकारेका कारण समस्या भएको उनको भनाइ छ। सल्लाहकार नभएर बाहिर बसेर पार्टीको पक्षमा काम गर्न सकिने भए पनि रावल हरेक समय पार्टीको विपक्षमा उभिएको पोखरेलको भनाइ छ।

‘हरेक पार्टीका निर्णय र नीतिका विपक्षमा क्याम्पियन चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र? त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने बुझ्नु पर्दछ’, उनले भने।

एमाले विकल्प दिन सबैलाई कानुन र संविधानले अनुमति दिएको बताउँदै उनले तर एमाले हो भने एमालेको विधि विधान र अनुशासनमा बस्नु पर्ने प्रष्ट पारे। संसद् भित्रको संसदीय ह्विप उलङ्घन गरेकै दिनबाट भीम रावलले एमाले छाेडीसकेको जनाउँदै पोखरेलले एमालेले उहाँलाई सुध्रिने अवसर दिएको भए पनि नसुध्रिएको पोखरेलको धारणा छ।

रावल आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने भए पनि आफू भने अनुशासनमा नबस्ने प्रवृत्तिको नेता भएको पोखरेलको टिप्पणी छ। ‘आफू जिम्मेवारीमा रहँदा जङ्गी अनुशासन लगाउने मान्छे, आफू चाहिँ जिम्मेवारीमा बस्नु पर्दैन ?’, पोखरेलले प्रश्न गरे।

पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गरेको पोखरेलले बताए। त्यसको अर्थ उनले पार्टी छाडिसकेकाे पोखरेलको जिकिर छ। अन्य दुई जना नेताहरूलाई गरिएको निलम्बन भने सचेत गराइएको मात्र उनले स्पष्ट पारे। निलम्बन पार्टीबाट बाहिर पठाउने काम नभएको बताउँदै पार्टी भित्रै प्रभाकारी भूमिका खेल्न भविष्यका लागि अनुकूल वातावरण बनाउन सो कार्य गरिएको पोखरेलको जिकिर छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *