लेख्नु फेरि बाँच्नु पनि हो

ज्ञानेन्द्र विवश
२० वैशाख २०८२ ७:३४
56
Shares

वास्तवमा लेख्नु भनेको फेरि बाँच्नु पनि हो। एउटा लेखकको पुनर्जन्म पुनःप्राप्तिको सुखद संयोग पनि हो।

कहिलेकाहीँ लाग्छ-कलम र कागज मिलेर आत्माको स्वर लेख्छन्। समयको भीडमा हराएको लेखक जब पुनः आफ्नै शब्दहरूमा फर्किन्छ। त्यो क्षण एउटा चिरनिन्द्राबाट ब्युँझाइजस्तो लाग्छ। मन्दिरका पुराना मूर्तिहरूलाई फेरि प्राण-प्रतिष्ठा गरिन्छ। त्यसरी नै म पनि फेरि आफ्नो अक्षरमा प्राण भर्न चाहन्छु। प्राण देख्न थाल्छु।

मेरा प्रेमिल पलहरूलाई अक्षरका हरफहरूमा हलक्क हुर्काउन म सधैं उद्दत रहन्छु। गोडमेल गर्दै अशुद्धि शब्द-विन्यास, व्याकरण सुधार्दै त्यसमा सरल शिल्प-सौन्दर्यको लेखकीय पहिचान निर्माण गर्छु।

हिँड्दा ठेस लागेजस्तो वा खाँदा ढुंगो टोकेजस्तो त्यस्तो कदापि हुनु हुँदैन पढ्दा। लेख्नु फेरि बाँच्नुको अभिप्रायलाई यसले ध्वस्तै पार्छ। अतः यसलाई जीवित र जीवन्त पार्न शुद्ध भाव-गाम्भीर्यको उपस्थिति असनवार्य हुनुपर्छ।

वस्तुतः सृष्टिको मूलभूत तत्व हो सिर्जनशीलता। तर सिर्जनशीलता सदैव जागृत रहँदैन। कहिलेकाहीँ त्यो थकित पनि हुन्छ, मौन पनि रहन सक्छ, अनि हराउँछ पनि। म पनि हराएको थिएँ- कहिल्यै फर्केर नआउने जस्तो गरी। शब्दहरू त थिए, तर ती मेरा थिएनन्। अक्षरहरू सरेका थिए, तर मुटुका धड्कनजस्ता थिएनन्। किनभने तिनमा जीवन थिएन।

त्यसैले लेखे भने पनि त्यो लेखाइ थिएन, केवल वर्णविन्यासहरूको जथाभावी जमघट मात्र थियो। भाषिक संरचनालाई नै ध्वस्त पारी जथाभावी शब्द र वाक्यको अशुद्ध प्रयोग नेपाली भाषाको भाषिक सौन्दर्य होइन। यस कुरामा म सचेत, सजग र गम्भीर थिएँ।

तर एक दिन…नशामा झैँ छरिएका भावहरू एकाएक सिंगो बन्दै गए। मनले सम्झियो-मैले किन लेख्न थालेको थिएँ। पहिलोचोटि लेख्दा मनका बाँध फुटेका थिए, जीवन बगेको थियो कागजमा। र आज फेरि, ती बाँधहरू केही खुल्न थालेका छन्।

हातमा कलम चल्न थाल्दाथाल्दै, मुटुको एक-एक स्पन्दन शब्दमा रूपान्तरण हुन थाल्यो। वास्तवमा लेख्न सक्नु भनेको फेरि बाँच्न सक्नु पनि रहेछ। आफ्नो लेखक पहिचानलाई पुनर्जीवित प्रदान गर्न सक्नु पनि रहेछ।

म महसुस गर्छु- म फर्किएको छु। अक्षरहरूमार्फत् आफ्नो अभिव्यक्तिको पुनर्जन्म मैले आफैँमा देखेको छु। यो पुनःप्राप्ति कुनै सानो कुरा होइन। यो मेरो अस्तित्वको पुनःस्थापना हो। मैले फेरि आफूलाई भेटेको छु, आफ्नै सिर्जनामा।

अब लेख्दालेख्दै, मैले विचार मारेको छैन। म आफूलाई पुनःसृष्टि गरिरहेको छु। शब्दहरूले अब मलाई मात्र होइन, मेरा पाठकहरूलाई पनि जीवन दिन सक्छन्। किनभने ती शब्दहरूमा मेरो मनको जिउँदो धड्कन मिसिएको हुने छ।

यो नयाँ सुरुवात हो- सिर्जनाको पुनरागमन, भावना र सौन्दर्यको पुनर्जन्म हो।

कहिलेकाहीँ जीवन ठप्प लाग्छ। समय घडीको काँडाझैँ अघि बढिरहेजस्तो देखिए तापनि भित्रभित्रै केही जमेको, चिसिएको, ओइलिएको महसुस हुन्छ। लाग्छ- अब यहींसम्म हो, यसपछिको यात्रा असम्भव छ। शब्द सुकेका छन्। रङ हराएका छन्। स्वर मौन भएको छ। कलम उठ्दैन, मन लेख्दैन, आँखा हेर्दैनन्।

तर त्यही मौनताको गर्भबाट कहिलेकाहीँ अनौठो पुनर्जन्म हुन्छ। अन्त्य ठानेको क्षणमै एक प्रकारको बीज उम्रन थाल्छ– नदेखिएको, नबुझिएको तर गहिरो रूपमा महसुस गरिएको।

म सम्झन्छु, केही वर्षअघि मैले चित्र कोर्न छाडेको थिएँ। ब्रश उठाउँदा हात काप्थ्यो, रङहरू बोझ लाग्थे। आत्मा चिम्लिएको थियो– कुनै बिचित्र बन्धनमा। मैले सोचेँ– बस, कलाकारिता मेरो जीवनबाट अन्त्य भइसक्यो।

त्यही बेला एक साँझ, बगैँचामा ओइलिएको गुलाफको फूलतिर दृष्टि पुग्यो। त्यो कोरिएको जस्तै लाग्ने रङमय ओइलाइमा एक किसिमको सौन्दर्य थियो। त्यसैले म फेरि रङको क्यानभासतिर फर्किएँ- यसपटक उद्देश्य फरक थियो। म चित्र कोर्न चाहन्थेँ, ओइलाइको कथा भन्न। जीवनको अन्त्यजस्तै लाग्ने पलमा मैले जीवनको नयाँ अध्याय फेला पारेँ।

कला, साहित्य, वा जीवन स्वयं-सबैमा अन्त्य भन्नु मिथ्या–भ्रम हो। जस्तो कि शिशिरपछि वसन्त आउँछ, अन्धकारको छेउमै उज्यालो टाँगिन्छ। हामी सोच्छौँ– अब केही बाँकी छैन, तर मलाई विश्वास छ– सिर्जनाको प्रकृति यहीँबाट प्रारम्भ हुन्छ।

एक लेखकका लागि, लेख्न सक्नुको पुनःप्राप्ति कुनै पुनर्जन्मभन्दा कम हुँदैन। जब आफ्ना अक्षरहरूमा आफ्नै मुटुको धड्कन सुन्न सकिन्छ– त्यो क्षण एक नयाँ सुरुवात हो।

म अहिले पनि कहिलेकाहीँ लेख्न सक्दिनँ। तर अब मलाई थाहा छ- त्यही मौनताभित्र कतै कुनै सम्भावनाको स्पन्दन चलिरहेको हुन्छ। त्यसैले त्यो स्पन्दन पूर्ण लयमा बद्लियोस् भनेर पर्खिन्छु। मभित्र ओइलाएको ऊर्जा छिनभरमै जाग्छ। म लेखनमा पुनः प्रवृत्त हुन हतारिन्छु।

वास्तवमा अन्त्य भनेको अवकाश होइन, त्यो त यात्राको अर्को पाटो हो। एक अध्याय सकिएपछि अर्को सुरु हुन्छ। त्यो नयाँ अध्याय सधैं उज्यालो हुँदैन, सधैं सुगन्धित हुँदैन, तर त्यो सधैं नयाँ हुन्छ- नयाँ अनुभव, नयाँ अभिव्यक्ति, नयाँ जीवन। नवीनताको प्राप्ति, नयाँ दृश्यको खोजी मानवीय स्वभाव हो।

जीवनलाई कहिलेकाहीँ म एउटा चित्र सम्झन्छु-अधुरो, रङ उडेका केही कोपिला जसले अझै पनि सपनाहरूको उज्यालो बोकेका हुन्छन्। प्रत्येक रेखा एउटा अनुभूति हो, प्रत्येक रङ एउटा सम्झना। कुनै चित्र पूरा भएपछि म बुझ्छु- मेरा लागि त्यो अन्त्य होइन; अर्को क्यानभासको सुरुवात हो।

सम्झिन्छु, स्कुले दिनहरूमा अन्तिम घन्टी बज्दा कति आनन्द लाग्थ्यो। लाग्थ्यो-अब खेल्ने स्वतन्त्रता पाइन्छ। तर साँझ परेपछि फेरि भोलिको गृहकार्यको बोझ सम्झँदा त्यो आनन्द टक्क अडिन्थ्यो।

यसरी नै जीवनका धेरै अध्यायहरूमा मैले अन्त्यलाई उत्सवझैँ मनाएँ-कहिलेकाहीँ खुशी हुँदै, कहिलेकाहीँ रुँदै। तर पछि-पछि थाहा हुँदै गयो- कुनै पनि पूर्णविरामले कथा सक्दैन, त्यो त अर्को अनुच्छेदको आमन्त्रण हो।

मैले एकजना कलाकारसँग सोधेको थिएँ। उनले आफ्नो पछिल्लो चित्रमा कालो रङ मात्रै अधिक प्रयोग गरेका थिए। म अचम्ममा परेँ- ‘किन यति धेरै अँध्यारो ?’ मैले सोधेँ।

उनी मुस्कुराउँदै थिए। उनले भनेको कुरा मेरो कानमा गुञ्जिरह्यो- ‘यो अँध्यारो अन्त्य होइन, उज्यालोको पूर्वाधार हो। कालो बिना रङहरू चम्किँदैनन्।’

त्यही दिन मैले महसुस गरेँ-अन्त्यले मात्रै अन्तर्मन हल्लाउँदैन। त्यो सिर्जनाको बीउ पनि हो। जीवनले कुनै सम्बन्ध बन्द गर्दा, त्यो हामीलाई आफ्नै आत्मासँग सम्बन्ध गाँस्ने मौका दिन्छ। एउटा बाटो बन्द हुन्छ, त्यस्तै अर्को गोप्य पथको ढोका खुल्ने संकेत गर्छ।

समयसँगै म बुझ्दै गएको छु-विरामहरू पनि संगीतका अंग हुन्। मौनताले लय बनाउँछ। र, शून्यताले नै सिर्जनालाई मञ्च दिन्छ। एउटा प्रेम जब टुट्छ, मन भत्किएजस्तो लाग्छ। तर त्यो भत्किएको मनमै कविताको फूल फुल्छ। जब चिरफार हुन्छ, तब कलाका गहिरा तहहरू उघ्रिन्छन्। त्यहाँ हरेक अनुभूतिका भावहरू मृदु स्पन्दनमा सुसेलिन थाल्छन्।

अहिले म यात्रालाई लम्काइरहेछु- पछाडि छोडिएका धेरै कुराहरू छ। पुग्नुपर्ने अगाडि अन्तिम गन्तव्य अझ धेरै टाढा छ। अर्को बिदाइ जब आउने छ, म मुस्कानसहित त्यसलाई स्वागत गर्ने छु- किनकि म जान्दछु, त्यो अन्त्य होइन, त्यो त नयाँ यात्राको प्रारम्भ हो। किन कि मैले मभित्रको लेखकलाई पुनर्जीवन प्रदान गर्नु छ। लेखेर फेरि बाँच्नु छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.