लागूऔषधसहित आठ जना पक्राउ, १३ जुवाडे प्रहरी नियन्त्रणमा
काठमाडौं । देशका विभिन्न स्थानबाट प्रहरीले आठ जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र ब्रुप्रेनोर्फिन ५० एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा म्याग्दी घर भएका २० वर्षीय सुजल छन्त्याल र २० वर्षीय मिस्सल पुन रहेका छन्। अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका-८ बस्ने २९ वर्षीय विकेश भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
बर्दियाको बढैयाताल गाउँपालिका-८ साघुनघारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२८ माझ्ठाना बस्ने २८ वर्षीय महेश तिवारी र तनहुँ ब्यास नगरपालिका-६ दमौली बस्ने ३० वर्षीय बिपिन अधिकारी रहेका छन्। इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सुवास शाही, १८ वर्षीया किशोरी र जानकी गाउँपालिका-४ बस्ने २६ वर्षीय तिला राम कठरिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
यस्तै प्रहरीले भक्तपुरबाट १३ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ।
मध्यपुर थिमी नगरपालिका-५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा फुर्वा समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ५ सय ५० रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको छ।
यसैगरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने नुवाकोट तादी गाउँपालिका-३ घर भएका ३२ वर्षीय सुजन दाहाल समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो।
यस सम्बन्धमा पनि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल








Facebook Comment