भारत-पाकिस्तानलाई युद्धको संघारतर्फ धकेलिरहेका कट्टरपन्थी मसुद अजहर
बीबीसी। दुई साताअघि भारत-प्रशासित कश्मीरमा २६ जना पर्यटकको ज्यान जाने गरी गरेको एउटा हमलाको जबाफमा भन्दै भारतले यसै साता पाकिस्तानका नौ स्थानमा क्षेप्यास्त्र प्रहार गर्यो।
ती क्षेत्रहरू ‘आतंककारीको गढ’ भएको भन्दै पूर्वी पाकिस्तानस्थित बहवलपुर क्षेत्रको सुभानअल्लाह मस्जिदलाई निसाना बनाएको बताइयो। भारतीय अधिकारीहरूले त्यसलाई प्रतिबन्धित लडाकु समूह जैश–ए–मोहम्मदको “लडाकु भर्ती, सैन्य तथा वैचारिक तालिम केन्द्र”का रूपमा अर्थ्याए।
उक्त प्रतिबन्धित संगठन के हो अनि संयुक्त राष्ट्रसंघले आतंककारी करार गरेका र भारतीय हमलामा आफ्ना कैयौँ आफन्त मारिएका दाबी गरिरहेका उक्त संगठनका नेता मसुद अजहर को हुन्?
मसुद अजहरको अन्तर्राष्ट्रिय छवि त्यस्तो कट्टरपन्थी नेताको रूपमा छ जसले विश्वभरका मुसलमानहरूलाई जिहाद (पवित्र युद्ध) का नाममा मार्न र अन्य आतङ्ककारी कार्य गर्नका निम्ति प्रभावित तुल्याएका छन्।
उनी सन् १९६८ मा बहवलपुरमा बसोबास गर्दै आएको एक धार्मिक परिवारमा जन्मिएका थिए। उनका पिता चिकित्सा तथा दर्शनको क्षेत्रमा काम गर्थे।
प्रारम्भिक शिक्षापछि उनी थप अध्ययनका निम्ति पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीस्थित बनूरी भन्ने स्थानमा रहेको जामिया उलुम-अल-इस्लामिया नामको इस्लामिक विश्वविद्यालय पुगे। स्नातक सकेपछि उनी धार्मिक संस्था ‘जामिया बनूरी’मा शिक्षक नियुक्त भए।
उनका निकट सहयोगी ताहिर हमिदलाई उद्धृत गर्दै विद्रोहीहरूको पत्रिका रिसाल-ए-जिहादले जनाएअनुसार अजहरले सन् १९८९ मा अफगानिस्तानमा जिहादीहरू (इस्लामवादी लडाकूहरू) सँगै लडाइँमा समय बिताएका थिए।
अफगानिस्तानबाट फर्केपछि उनले कराची, हैदराबाद, सुक्कुर, खुप्रु र नवावशाहसहितका स्थानहरूमा निरन्तर हिंसाको आह्वान गर्न जारी राखे।
उनले लेखहरूमार्फत् आफ्नो विचार प्रकट गर्दै हिंसक जिहादको प्रवर्द्धन गरे भने सन् १९९० को ज्यानुअरीमा उनले ‘सदा-ए-मुजाहिद’ (मुजाहिदको आवाज) नामको मासिक पत्रिकाको पहिलो अंक प्रकाशित गरे।
यो कश्मीरमा सक्रिय पाकिस्तानको त्यतिखेरको प्रतिबन्धित (तर हाल निष्क्रिय) विद्रोही समूह हर्कत-अल-मुजाहिद्दिनको प्रभावमा रहेको र यसले उक्त समूहको धार्मिक व्याख्यानहरूको अनुसरण गर्ने गरेको बताइन्थ्यो।
मसुद अजहरले इस्लामवादी जिहाद, इतिहास तथा जिहादी तालिम तथा व्यवस्थापनबारे ३० वटाभन्दा धेरै पुस्तक लेखेका छन्। पत्रकार तथा जानकारहरूका अनुसार तिनमा इस्लामवादी आदर्शको रक्षाका निम्ति अफगानिस्तानको लडाइँको महत्त्वबारे जोड दिइएको छ।
मसुद अजहर विश्वस्तरको जिहादी हिंसामा विश्वास गर्थे। उनका केही सहयोगीहरूका अनुसार उनले भारत, बाङ्लादेश, साउदी अरब र जाम्बियाका साथै यूकेको समेत भ्रमण गरेका थिए। सन् १९९४ मा उनी भारत–प्रशासित कश्मीरबाट पक्राउ परे। भारतले उनीमाथि आतंककारी गतिविधिमा सामेल भएको आरोप लगायो।
त्यतिखेर सञ्चारमाध्यममा आएका विवरणहरूका अनुसार, भारतीय निकाय ‘सीबीआई’लाई दिएको बयानमा अजहरले ‘जिहाद’को सम्भावनाबारे बुझ्न उनी भारत छिरेका थिए। उनी पहिले बाङ्लादेश गए, त्यसपछि पोर्चुगलको राहदानीमा भारतको राजधानी दिल्ली पुगे।
मसुद अजहरको नाम त्यतिखेर चर्चामा आयो जति बेला भारत-प्रशासित कश्मीरबाट सन् १९९५ मा छ जना विदेशी पर्यटकहरू अपहरणमा परे। अपहरणकारीहरूले आफू ‘अल फरान’ समूहका रूपमा चिनाए र अजहरको रिहाइको माग गरे। उक्त मागलाई भारत सरकारले अस्वीकार गर्यो।
अपहरणमा परेकामध्ये एक जना कसै गरी भाग्न सफल भए भने बाँकी पाँच जना मारिएको ठानियो।
त्यसपछि २४ डिसेम्बर १९९९ मा नेपालको राजधानी काठ्माण्डूबाट दिल्ली जाँदै गरेको इन्डिअन एअरलाइन्सको विमान अपहरणमा पर्यो। जहाजलाई अफगानिस्तानको कान्दहारमा ओह्रालियो, जहाँ तालिबान (अतिवादी इस्लामवादी समूह) शक्तिमा थियो।
अपहरणकारीहरूले जहाजमा सवार यात्रुको बदलामा मसुद अजहरको रिहाइको माग गरे। लामो वार्तापछि थप दुई लडाकु ओमर सईद शेख र मुस्ताक जर्गारसँगै मसुद अजहर पनि रिहा भए।
भारतमा पक्राउ पर्नुअघि मसुद अजहर हर्कत-अल-मुजाहिद्दिनको हिस्सा थिए। आफ्नो रिहाइपछि सन् १९९९ मा उनले कराचीमा जैश–ए–मोहम्मद (मोहम्मदको सेना) स्थापनाको घोषणा गरे।
उनले हर्कत-अल-मुजाहिद्दिनसँगको सबै सम्बन्ध तोडेनन् मात्रै, उनको सङ्गठनले हर्कत-अल-मुजाहिद्दिनका केही शिविर र कार्यालयसमेत कब्जा गर्यो।
सन् २००० को एप्रिलमा भारत–प्रशासित कश्मीरको राजधानी श्रीनगरको बादामी बागनजिकै रहेको सैन्य मुख्यालयमा आत्मघाती कार हमला गराइयो। यो कश्मीर आन्दोलनको इतिहासकै पहिलो आत्मघाती हमला थियो। भारतीय अधिकारीहरूले उक्त घटनामा जैश-ए-मोहम्मदलाई जिम्मेवार ठहर्याए।
लगत्तै अर्को वर्षको अक्टोबरमा भारत–प्रशासित जम्मू–कश्मीरको संसद्मा हमला भयो भने त्यसै वर्षको डिसेम्बरमा दिल्लीस्थित भारतीय संसद्मा पनि आक्रमण भयो। ती घटनामा पनि भारतले जैश-ए-मोहम्मदलाई जिम्मेवार ठहर्यायो तर उक्त संगठनले आफूमाथिको आरोप अस्वीकार गर्यो।
सन् २०१६ मा भारत–पाकिस्तानको सीमामा अवस्थित पठानकोटमा रहेको सैन्य शिविरमा भएको हमलामा पनि भारतले जैश-ए-मोहम्मदलाई दोषी ठहर्यायो।
सन् २०१६ मै अफगानिस्तानको मजार-ए-शरिफस्थित भारतीय महावाणिज्यदूतको कार्यालय र भारत-प्रशासित कश्मीरको उरीस्थित आर्मी ब्रिगेडको मुख्यालयमा भएको हमलामा पनि भारतले जैश-ए-मोहम्मदलाई दोषी ठहर्याएको थियो।
तीन वर्षपछि, सन् २०१९ को फेब्रुअरीमा उक्त समूहले आफूले भारत–प्रशासित कश्मीरमा आत्मघाती विस्फोट गराएको र त्यसमा ४० जना सैनिकको मृत्यु भएको बतायो।
सन् २००१ मा भारतीय संसदमा भएको हमलापछि अमेरिकाले जैश–ए–मोहम्मदलाई विदेशी आतंककारी संगठनहरूको सूचीमा समावेश गर्यो।
त्यससँगै भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मार्फत् विश्वस्तरको आतंकवादी संगठन घोषित गराउने प्रयत्न गर्यो, तर चीनले उक्त प्रयासका विरुद्ध ‘भिटो’ लगायो।
तथापि, मे २०१९ मा ४० जना भारतीय सैनिकको ज्यान जाने गरी पुलवामामा भएको घटनासँगै संयुक्त राष्ट्रसंघले मसुद अजहरको नामलाई आतंककारीहरूको सूचीमा चढायो।
त्यस हमलाले भारत र पाकिस्तानलाई पूर्ण-युद्धको संघारमा पुर्यायो किनकि भारतले बालाकोटमा हमला गरेर जबाफ दियो भने त्यसको प्रत्युत्तरमा पाकिस्तानले समेत हमला गर्नुका साथै छोटो हवाई युद्धसमेत भयो।
जनरल परवेज मुशर्रफको शासनकालमा सन् २००२ को प्रारम्भमा जैश-ए–मोहम्मदमाथि प्रतिबन्ध लागे पनि पछि उक्त संस्था तान्जीम अल–फर्कनको नाममा सक्रिय रहिरह्यो र अल–रहमत ट्रस्ट नामको लोककल्याणकारी संस्था समेत स्थापना गर्यो।
बीबीसी उर्दूबाट







डिसी नेपाल







Facebook Comment