भारत र पाकिस्तान कसरी युद्धको सँघारबाट बाहिर निस्किए

डिसी नेपाल
२९ वैशाख २०८२ ७:४०
1.2k
Shares

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार सामाजिक सञ्जालमार्फत् भारत र पाकिस्तान “पूर्ण तथा तत्काल युद्धविरामका लागि” सहमत भएको बताउँदा धेरै मानिसलाई उनको घोषणा नाटकीय लागेको थियो।

उनले त्यस्तो घोषणा गर्नुअघि भारत र पाकिस्तानका गतिविधि हेर्दा धेरै जनाले उनीहरू पूर्णस्तरको युद्धतर्फ अग्रसर भए जस्तो ठानेका थिए।

तर विशेषज्ञहरूका अनुसार युद्धको सँघारबाट परमाणुअस्त्र भएका यी दुई छिमेकीलाई पूर्वावस्थामा फर्काउन अमेरिकी मध्यस्थकर्ताहरूसँगै मूलधारबाहेक अन्य कूटनीतिक माध्यम र क्षेत्रीय शक्तिहरू प्रयत्नशील थिए।

वाशिङ्टन डीसीस्थित ब्रूकिङ्स इन्स्टिट्यूशनकी वरिष्ठ प्राज्ञ तान्वी मदनका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबिओले गत बिहीवार पाकिस्तानका सेनाप्रमुख असिम मुनिरसँग गरेको टेलिफोन संवाद युद्धविरामतर्फको “एउटा महत्त्वपूर्ण बिन्दु” हुन सक्छ।

“अरू अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिकाबारे हामीलाई अझै पनि धेरै कुरा थाहा छैन,” उनी भन्छिन्, “तर विगत तीन दिन कम्तीमा तीन देशहरू सङ्घर्षलाई मत्थर पार्न प्रयासरत थिए। अमेरिका त भइहाल्यो, त्यसबाहेक यूके र साउदी अरब पनि।”

पाकिस्तानका विदेशमन्त्री इशाक डारले भने टर्कीसमेत तीन “दर्जन देशहरू” कूटनीतिक रूपमा सक्रिय रहेको बताएका छन्।

“यो (रुबिओको) कल छिट्टै अर्थात् भारतको प्रारम्भिक आक्रमणलगत्तै आएको भए तनाव अझ धेरै चर्कने थिएन,” मदन भन्छिन्।

भारत र पाकिस्तानबीचको तनावमा अमेरिका संलग्न भएको यो पहिलो पटक होइन।

यसअघि ट्रम्पको कार्यकालमा विदेशमन्त्री रहेका माइक पोम्पिओले आफ्नो संस्मरणमा आफूलाई एक “भारतीय समकक्षी”ले सन् २०१९ को तनावका बेला पाकिस्तानले परमाणुअस्त्रको तयारी गरिरहेको बताएका थिए।

तर पाकिस्तानका लागि भारतका भूतपूर्व उच्चायुक्त अजय बिसारियाका अनुसार पोम्पिओले परमाणुयुद्ध चर्कने डर र द्वन्द्व मत्थर पार्न अमेरिकाले खेलेको भूमिकाबारे अतिशय चर्चा गरेका थिए।

यद्यपि त्यस बेलाको संकट टार्न अमेरिकाले महत्त्वपूर्ण भूमिका खेलेको कुरामा खासै शंका नरहेको धेरै कूटनीतिज्ञहरूको मत छ। यसपालि भने सुरुमा अमेरिकाले यस मामिलाबाट केही दूरी कायम गरे जस्तो देखिएको थियो।

बिहीवार मात्रै उपराष्ट्रपति जेडी भान्सले आफूहरू “आधारभूत रूपमै आफ्नो चासो नभएको” युद्धमा संलग्न नहुने बताएका थिए।

“हामी यी देशहरूलाई नियन्त्रणमा राख्न सक्दैनौँ। मूलतः भारतको पाकिस्तानसँग केही गुनासा छन्… अमेरिका भारतीयलाई अस्त्र बिसाऊ भनेर भन्न सक्दैन, पाकिस्तानीलाई त्यसो भन्न पनि सक्दैन,” एक टेलिभिजन अन्तर्वार्तामा उनले भनेका थिए।

त्यस्तै ट्रम्पले भनेका थिए, “म [भारत र पाकिस्तानका नेता] दुवैलाई राम्ररी चिन्छु र दुवैले यसलाई समाधान गरेको हेर्न चाहन्छु… दुवैले यसलाई रोकून् र आशा छ कि उनीहरू रोक्न सक्छन्।”

लाहोरस्थित रक्षा विश्लेषक एजाज हैदरका अनुसार भारत-पाकिस्तानी द्वन्द्वमा यसपालिको अमेरिकी संलग्नता विगतभन्दा यसै कारण भिन्न थियो।

पाकिस्तानका विशेषज्ञहरूका अनुसार भारतसँगको तनाव चर्कँदै गर्दा इस्लामावादले एकसाथ “दोहोरो सन्देश” दिएको थियो।

एकातिर सैन्य प्रत्याक्रमण गरिएको थियो भने अर्कातर्फ न्याश्नल कमान्ड अथोरिटी (एनसीए) को बैठक बोलाएर परमाणुअस्त्र प्रयोग गर्ने तयारी रहे जस्तो देखाइएको थियो।

एनसीए पाकिस्तानका आणविक अस्त्रको प्रयोग नियन्त्रण र त्यसबारे निर्णय गर्ने निकाय हो। करिब यसै बेला रुबिओले हस्तक्षेप गरेका थिए।

“अमेरिका [को भूमिका]लाई बेवास्ता गर्न नमिल्ने थियो। मन्त्री रुबिओको प्रयासबिना यो नतिजा आउँदैनथ्यो,” कार्नेगी इन्डोमन्ट फर इन्टर्न्यान्शल पीसका प्राज्ञ एश्ली जे टेलिस भन्छन्।

दिल्ली र वाशिङ्टनबीचको बढ्दो सामीप्यले पनि तनाव मत्थर पार्न काम गरेको हुन सक्छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको व्यक्तिगत सम्बन्धका कारण पनि अमेरिकी प्रशासनले यस मामिलामा कूटनीतिक लाभ पायो।

भारतीय कूटनीतिज्ञहरूका अनुसार तनाव मत्थर पार्न विशेष गरी तीन तहका माध्यम सक्रिय थिए :

अमेरिकी अधिकारीहरूले बढाइचढाइ गरे पनि तथा भारतीय अनि पाकिस्तानी अधिकारीहरूले अस्वीकार गरे पनि सङ्कट व्यवस्थापका रूपमा अमेरिकी भूमिका महत्त्वपूर्ण रहेको विशेषज्ञहरू बताउँछन्।

केही भारतीय सञ्चारमाध्यमले दुई देशका सैन्य अधिकारीहरूले नै युद्धविरामका लागि संवाद गरेको र त्यसमा अमेरिका संलग्न नभएको बताएका छन्। अनि युद्धविराम कति टिक्ने हो भन्ने कुरामा पनि आशंका व्यक्त गरिएको छ।

“यस युद्धविराम निश्चय नै कमजोर छ। तनाव चर्कँदै गर्दा यो एकदमै छिटो भयो अनि भारतको व्याख्या अमेरिका र पाकिस्तानको भन्दा फरक देखिएको छ,” विदेशनीति विश्लेषक माइकल कुगेल्म्यान भन्छन्।

“यो यति हतारमा गरिएकाले पनि तनावका बेला चाहिने जस्तो सहमतिमा समुचित निश्चितता नभएको हुन सक्छ।” अर्कातर्फ दुवै देशहरूले एकअर्कालाई युद्धविराम सहमति तोडेको आरोप लगाइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *