विचारको रुपान्तरण

विचार हरेक मानिसको दृष्टिकोण र भावना हो, जसले मानिसलाई डोहोर्याइ रहेको हुन्छ।। विचार आफ्नो जीवन साथी नै जस्तो बनेर बसेको हुन्छ। यसैले नै मानिसलाई जीवनको अन्त्यसम्म पुर्याउँछ।
जब मानिस कुनै एक विचारलाई एकमुष्ट गरी एक मार्गको रुपमा आलिंगन गर्दछ, यो विचार उसको लागि संस्थागत हुन जान्छ। यो कुनै समयको लागि एक व्यक्ति र जमातको लागि बिश्वास लिइ बसेको हुन्छ। एकले लिएको विचार अरुको लागि कडा र नरम दुवै हुन सक्तछ। एकको विचार अरुलाई टिठ लाग्दो र दिल नै बसाउने वा उदासिन पनि हुन सक्तछ।
देखिएको विचार मुख्यत चार प्रकारका हुन्छन्। एक सकारात्मक, दुई नकारात्मक। तीन तटस्थ र चार निश्चित वा जड।
सकारात्मक विचार एक दैविक सोच हो जसले सधैं सबैको भलो हुने कुराको विचार गर्दछ र सबैको कल्याण चाहन्छ। यसले कसैलाई दुःख दिने काम गर्दैन। यसले जितको भूमिका खेल्दछ। कसैको बीच चित्त दुखाउने र दुश्ट्याइँ गर्ने काम गर्दैन। यो लौकिक विचारमा उत्कृष्ट ठहरिएको विचार हो।
यो विचार प्रेम, माया ,दया ,करुणा ,र क्षमा जस्ता कुराहरुले ओतप्रोत रहेको हुन्छ र विचारका बारीमा सधैं फूलहरु फुलिरहेको हुन्छ। दोस्रो नकारात्मक विचार, जसलाई दानबी विचार पनि भनिन्छ।
यसले कहीँ कसैको भलाई हुने काम गर्दैन। केवल आफ्नो स्वार्थहरु पूरा गर्न अरुलाई हानि नोक्सानी पुर्याउने काम गर्दछ। अरुको सकारात्मक कुरालार्ई हर प्रयास गरी उसले नकारात्मक सोचले जबर्जस्त कुल्चिइरहेको हुन्छ।
यो विचारधाराका व्यक्ति जमात र झुण्डहरु शंकास्पद ढंगले अतार्किक कुराहरु अगाडि सारी शंकालु तवरले दम्भको रुपमा आफूलाई सधैं प्रस्तुत गरिरहेका हुन्छन्। यो विचारका मानिसहरु रावण चरित्रका हुन्छन् अनि त्यसैमा आफ्नो जीवन निर्वाह गरी बसेका हुन्छन् र आफूलार्ई अन्धो बनाई परिवार समाज, राष्ट्र र अन्तर्राष्ट्र जगतमा सधैं खैलाबैला मच्चाई रहेका हुन्छन्।
तेस्रो एक थरीका मानिस र समाजको झुण्ड सकारात्मक र नकारात्मक दुवै विचारमा टेकी आफूलाई समाजमा एनकेन स्थापित गरिरहेका हुन्छन्। यो विचार झलक्क हेर्दा मध्यममार्गी जस्तो देखिन्छ र चाहेमा आगो पनि बन्न सक्ने नचाहेमा योगी पनि बन्न सक्ने हुन्छन्।
यस्ता विचारका व्यक्तिहरु सधैं तलमाथि भइरहेका हुन्छन्। तटस्ट विचारधाराका व्यक्तिहरुले ठोस निर्णय लिन सक्तैनन्। यस्तो विचारका व्यक्ति र समाज सधैं अल्मलिएका हुन्छन्।
चौथो प्रकारका विचारवादीहरु सकारात्मक, नकारात्मक र तटस्त विचार कुनै पनि नलिइ आफ्नो निश्चित विचारमा हिँडेका हुन्छन् जसबाट समाजलाई परिवर्तन गराउन सधैं प्रयत्नशील रहन्छन्। यस्ता जडबादी विचार बोकेका मानिसहरु बेतको लट्ठी भाँचिएला तर निश्चित विचार कहिल्यै टुक्राउन चाहँदैनन्।
यही विचारको बिबिधताले गर्दा आज व्यक्तिमा परिवारमा, समाजमा, राष्ट्रमा र अन्तर्राष्ट्रिय जगतमा एउटा बेमेल र असामन्जस्यताको सृजना गरी समाजलाई सधैं झगडा र अशान्तको बातावरण पैदा गरिरहेका हुन्छन्। तर यी माथिका विचारहरु जे सुकै हुन् आखिरमा सबै एकदिन यी विचारहरुले वितृष्णा पैदा गर्दछन्।
एकपछि अर्कोमा, अर्कोपछि अर्कोमा विचार हुँदै न घर न घाटको बन्न जाने कुरा निश्चित छ। जस्तो विचार छ, त्यस्तै परिणाम निस्कने हो र त्यही उपज बोकी जीवनसँग समाहित हुने हो।
यी माथिका विचारका विज्ञानहरु जतिसुकै राम्रा,नराम्रा, बीचको र जडबादी विचार भएपनि यी विचारका मानिसले आफ्नो र आफ्नो परिवारको समाजको, राष्ट्रको र अन्तर्राष्ट्रको विचारलाई एकै ठाउँमा ल्याई जोड्न भने सक्तैन। किनकि यी विचार एकल विचारका पाटपुर्जाहरु मात्र हुन् जसले समाजमा कुनै नयाँ विचारको रुपान्तरण गरी समाजलार्ई बदल्न सक्तैन।
यी सबै एकल भौतिक विचारबाट रुपान्तरित भई अझ माथि उठाई समाजलाई माथिल्लो अलौकिक प्राज्ञताको शिखरमा पुर्याउन आफैं भित्रबाट आफूलाई रुपान्तरण हुन जागरणको विचार आफूमा समाहित गरी सारा ब्रम्हाण्ड वरीपरीको संयन्त्रलाई बुझ्न सके जीवनमा एक अर्को रुपान्तरण हुन सक्ने कुरा निश्चित छ।
यो विचारलाई रुसका महान सन्त जर्ज गुर्जिएफले विचारहरु माथिको एक उच्च विचार हो भनी बुझाएका छन्।जर्ज इभानोविच गुर्जिएफ अठारांँ शताब्दीका रुसका महान, रहस्यमय, आधात्मिक, लेखक र जागरणका महान दार्शनिक थिए।
उनको रहस्यमय विचार र भावनादेखि आजका एक्काइसौं शताब्दीका महान सन्त ओशो रजनीशले पनि उनको अलौकिक विचारलाई जीवनभरी अनुशरण गरी आएका थिए जुन शाश्वत र बास्तविकतासँग बढी तादात्मता राख्दछ।
विचारको तहलाई सबैभन्दा माथि लैजान पहिला मान्छेले आफू स्वयंलाई चिन्नसक्नु पर्दछ। आफू स्वयंलाई सम्झिन सक्नु पर्दछ र आकास र पातालको रसातलमा गइ जीवनको रहस्य बुझ्न सक्नु पर्दछ।
जीव र जगत, शरीर मन र आत्मालाई बुझ्न सक्नु पर्दछ जसको अध्ययन र प्राज्ञताले मानिसलाई मानव र मानवबाट महान सन्त, दार्शनिक र रहस्यमय बनाइ परमेश्वरमा लीन गराउँछ र ध्यानको माध्यमबाट मानिसलार्ई बिभिन्न अलौकिक शक्तिको बल प्रदान गराउँछ।
यस्तै शक्ति प्राप्त गर्ने मानिसमा एक गन्ध बाबा नामका एक बाबा थिए, जसले आफ्नो शरीरबाट बिभिन्न बासनाहरु र गन्धहरुको प्रतिपादन गर्दथे। यस्तै ध्यान र योग साधनाबाट संसार बुझेका विश्वका महान विचारक स्वामी बिबेकानन्द, हिमालयन बाबा, निमकरोली बाबा, खप्तड बाबा, चीनका लाओत्से, पंजाबका गुरु नानक, ब्रिटेनका लिड बिटर, रुसका गुर्जिएफ, भारतका रजनीश, नेपालका शिवपुरी बाबा, भारतका सन्त लाहेरी, एनी बेसेंट र जयकृष्ण मुर्ति गहन विचारका मुर्धन्न्य पुरुषहरु हुन, जो सधैं विचारले उच्च स्थानमा रहेका छन्।
जतिसुकै ज्ञान हासिल गरेका किन नहुन् संसारका भौतिक विचारले कोही पनि प्राज्ञ भएका छैनन्। विचारलाई प्राज्ञमा रुपान्तरित गराउन ध्यान योग साधना र अध्यात्म चिन्तनलाई सधैं चित्तमा लीन गराउनु पर्दछ, जसबाट सबैको कल्याण होस्, जो सधैं अरुबाट प्रिय बनोस् र जसले निरन्तर अरुलाई परमानन्दको लोक गंजमा अवतरित गर्न सकोस्।
यस्तो विचार होस् जो सधैं प्राज्ञको शिखरमा रहेको होस् जो सधैं अजर र अमर बनोस्। यो विचारमा लागेकाहरु अरु विचारसँग खेलबाड गर्ने तृष्णा राख्दैनन् र यसबाट नै मानिसको सम्पूर्ण इच्छा शक्ति पूर्ति हुने निश्चित छ।
यो विचार बिज्ञानले खराब मानिसहरुमा सोच शैली, विचार आचार, भावना, प्रबृत्ति, बानी व्यहोरा,संस्कार र संस्कृतिमा फेरबदल ल्याइ उनीहरुलाई भित्रदेखि स्वतन्त्र बनाई जीवन नै परिवर्तन गराई ठूलो बदलाव आउनुलाई नै रुपान्तरण भएको मान्नु पर्दछ।
यो विचारको रुपान्तरण गर्ने व्यक्तिहरु प्रथमत नकारात्मक सोचबाट सकारात्मक सोचको वृत्तमा प्रवेश गर्नु पर्दछ, ताकी त्यसबाट पनि माथि जानको लागि उसले आफ्नो मार्ग प्रशस्त गर्न सकोस्।
अनि मात्र विचारको रुपान्तरणको पर्दा खुल्दछ। सबै ठाउँमा उसले उज्यालो मात्र देख्दछ। सबलाई आफूजस्तो बनाउन खोज्दछ। उ आफू रुपान्तरित भई अरुलाई पनि विचारको रुपान्तरण गर्न गराउन कोसिस गर्दछ।
वास्तवमा एक खराब मानिस यसको बिपरित एक सज्जन मानिसमा परिवर्तन हुन्छ भने यो नै विचारको रुपान्तरण हो। यो विचारको रुपान्तरण गर्ने अभियान आज हाम्रो देशमा निकै आवश्यक बनेको छ।
किनकि मानिस आज लोभ, लालच, गुण्डागर्दी गर्ने जस्ता नकारात्मक विचारले मानिसहरु निक्कै आक्रान्त बनेका छन्। अतः भविष्यमा शान्तिसँग बस्नको लागि सबैको विचारमा रुपान्तरण गर्नुनै पर्ने बेला आएको छ। अन्यथा भविष्य अन्धकार मय देखिन्छ।
Facebook Comment