लघुकथा: अनुहार
चोर थियो-पटकेचोर। गीत पनि गाउँथ्यो।
दिलसरा पनि गीत गाउने।
गीतैगीतमा बसेको थियो-दिलसरा र उसको पिरती।
केही यता भने हैरान थिई-दिलसरा। सबैले चोरकी श्रीमती भनेर चिन्ने-उसलाई।
शुरुशुरुमा चोरेपिच्छे मान्छेहरूले पिटे-उसलाई, सुध्रेन।
पुलिस चौकीमा पनि पुर्याइयो, चोर्न छाडेन।
अदालतमा पनि ठिङ्याइयो, जेल पर्यो, छुटेपछि फेरि पहिलेकै लिक पक्रियो।
दिलसराले ठाँउँ छाड्ने कुरा निकाली, यसमा ऊ पनि असहमत देखिएन।
दुवै मधुर स्वरका धनी। नयाँ ठाउँमा सार्वजनिक मञ्चमा गाउन थाली-दिलसरा।
ऊ पनि स्वर मिसाउँथ्यो।
बिस्तारै मान्छेहरूले दिलसरालाई चिन्न थाले, सम्मान गर्न थाले। दिलसरा सँगसँगै देखिन्थ्यो-ऊ।
नयाँ ठाउँका मान्छेहरूले उसलाई पनि सम्मान गर्न थाले।
दिलसराको कारणले उसले जीवनलाई नयाँ रङ्गमा पायो-यहाँ। जीवनको यो नयाँ अनुभव उसले गुमाउन चाहेन।
नयाँ ठाउँमा उसले आफ्नो पुरानो अनुहार देखाउने आँट गरेन।
















Facebook Comment