परराष्ट्रमन्त्री राणा र जापानी विदेशमन्त्री ताकेसीबीच टोकियोमा भेट

डिसी नेपाल
८ जेठ २०८२ १७:१०
128
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोस्थित जापानी विदेश मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल-जापान सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री डा. राणाले नेपालको दीर्घकालीन आर्थिक तथा सामाजिक क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरिन्।

डा. राणाले नेपाल सन् २०२६ पछि अति कम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा उक्लिन लागेको जानकारी दिँदै त्यसपछिको चरणमा पनि जापानले निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

भेटवार्तामा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवसम्बन्धी छलफल पनि भयो। सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। डा. राणाले उक्त अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पनि दिइन्।

नेपालमा जापानी लगानी प्रवर्द्धन गर्न आग्रह गर्दै डा. राणाले नेपालले लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गरिसकेको जानकारी दिइन्। लगानीको प्रतिफलको हिसाबले नेपालले ठूलो सम्भावना बोकेको उल्लेख गर्दै उनले जापानी उद्योगी-व्यवसायीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गरिदिन ताकेसीसँग आग्रह गरिन्।

उनीहरूले नेपाल-जापान सम्बन्धको ऐतिहासिक, सांस्कृतिक र धार्मिक पृष्ठभूमिबारे पनि कुराकानी गरे। डा. राणाले बुद्धको शिक्षा र लुम्बिनीमार्फत दुई देशबीच रहेको सांस्कृतिक सेतु झल्काउँदै, जापानी पर्यटकहरूले नेपाललाई रोज्ने परम्परा अझ सुदृढ बनाउने सम्भावनामा जोड दिइन्।

डा. राणा गत शनिबार जापानमा भएको ज्येष्ठ नागरिकको सामाजिक एकान्तता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन टोकियो गएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.