कविता : प्रीतको कोलाज

सुशील लामा
११ जेठ २०८२ १०:३३
104
Shares

जसरी आकाश को आकार
ठम्याउन सकिन
त्यसैगरी चिने मैले तिमीलाई
तिमीले मलाई त्यसरी चिन्न सकेन
जसरी मैले चिनेँ-
चिन्न नसक्दा-नसक्दै
खोइ कसरी-कसरी रोपिन पुग्यो
पिरतिको पिपल बृक्ष
तिम्रो अज्ञात पहिचान भित्र लुकेको तिमी
रहस्यमय अमेजोन जंगल भित्र
कसैले भेट्न नपाएको
अनौठो प्रजातिको जैविक जीव जस्तै
विस्मय लाग्दो थियो
प्रसंसा रहित तिम्रो र मेरो
अधिर सम्बन्ध-
जुग र जमाना थियो साक्षी
मौलाएको थियो भनौं माया !
ऎजेरु जस्तै पलाएको थियो
जिन्दगीको डाली-डालिमा पिरतिको फूल
अनेकन रंग बोकेर
फुलेको थियो मौसममा-बेमौसममा
भरोसामयी आशाको आशावादी कोपिलाहरु
स्वर्णिम आनन्दित सहवासको क्षण
जीवन र जोवनको उन्माद
उत्ताउलिएर-
बर्खे खहरे सरि म तिमीमा, तिमी म मा
हुन्थ्यो विलीन।
प्रीत भित्रको कोलाज।
~~~~~
म बग्दथेँ।
खोला जसरी, खोला सँगै पुग्ने गरि टाढा-टाढा
तिमी बालेर प्रेमको दियो
कुरी बस्थ्यौ।
बर्षौं बर्ष खोला छेउको बगरले जसरी
सम्झौतामा बाँचेको जीवन
सम्झनाको बिसौनी हरुमा
यादको अश्रुधाराले भिजेको हुन्थ्यो।
पुरानो हुँदै गरेको सिङ्गो रुखको
सग्लो तिमी र म बसेको मैले बेञ्च
पर्खाईको पारिलो पाखा भरी
वसन्त डाक्दै गरेको कोइलीको आवाजले
स्मृति बन्दै गरेको
तिमीले बजाउने बाँसुरीको धुन सम्झन पुग्छु
अनायास मौनतालाई गर्लम्म अंगालेर
एक्लै-एक्लै-
तिम्रो सम्झनामा, तिम्रो यादमा
बेस्सरी रोएर मन धुन्छु।
हरपल सम्झनु
हररात सपनाहरूमा देख्नु
लागि रहेको बाडुली तिमिलाई सम्झदा
अचानक टक्क रोक्नु
एक दिन बोल्न नपाउँदा
त्यो दिन बर्षौ जस्तो लाग्नु
कतै यी सब
कोलाज प्रीतको त होइन?
~~~~~
दुनियालाई प्रत्येक पन्ध्रौं दिनमा
एक रात कालो किरण बाँडेर
जून लुक्छ।
अध्यारो आकाश को कोखिलोमा
कहिलेकाही तिमी त्यसरी जून जसरी लुक्दा
म कालो रातको
कालो कल्पनाको बाटो-कुबाटोमा
यसरी भौंतारिएर हराउँछु
जसरी पहिलोपटक नयाँ ठाउँमा पुगेको
यात्रामा यात्री हराउँछ।
तिम्रो पर्खाईमा
दिन लामो लाग्दथ्यो, रात त झनै लामो-
भोक-प्यास मेटिँदो रहेछ
मनबाट-
तिम्रो आगमनमा परिवन्धको तगारो लाग्दा
भावनाको भवसागरमा
ममताको डुङ्गा, वियोगान्त वियोगको तुफानले
ढलपल-ढलपल भएर
अन ब्यालेन्स हुँदा
भयंकर त्रासको ज्वालामुखी
बिस्फोट हुन खोज्दा रहेछ
तिमी र म साथमा नहुँदा
मनको क्यानभासमा मनमनै
एक होइन अनेकन
इन्द्रेणीमा नआटाएको रंग समेटेर
रङ हिन जिन्दगीको
टारी र बारीमा
रंगीन पिरतिको अनौपचारिक अनौठो आकृति
कुची सँगै बग्दैछ
कोलाज प्रीतको।

हाल – साईप्रस,लिमासोल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.