संसदमा भिडन्तको संकेत

डिसी नेपाल
१४ जेठ २०८२ १२:४३
4.7k
Shares

काठमाडौं । सत्तापक्षले जसरी पनि संसद चलाउने तयारी गरेपछि विपक्षी दलहरु पनि जसरी पनि संसद बैठक अवरुद्ध गर्ने रणनीतिमा लागेका छन् । सत्तापक्षले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेर गृहमन्त्रीको राजीनामा असम्भव भएको निर्णय गरेपछि विपक्षी दल पनि रणनीति बनाउन बैठकमा जुटेका छन् ।

सत्तापक्षले जसरी पनि संसद बैठक चलाउने तयारी गरिरहेको छ । यसमा सभामुख पनि सकारात्मक रहेको आफूहरुले थाहा पाएको प्रतिपक्षी दलका एक सांसदले बताए । सभामुख सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेकै सांसद समेत हुन् ।

सत्तापक्षले आजको बैठकमा गृहमन्त्री रमेश लेखकले बोल्न पाउनुपर्ने र त्यसको लागि सभामुखसँग समय माग्ने निर्णय गरेको छ । सभामुख पनि गृहमन्त्रीलाई समय दिन तयार देखिएको आफूहरुले जानकारी पाएको ती सांसदले बताए ।

विपक्षी दलहरुले हिजोको बैठकमै गृहमन्त्रीले राजीनामा दिनुपर्ने एकसूत्रीय माग राखेर संसद अवरुद्ध गरेका थिए । तर, सत्तापक्षले आज बैठक बसेर गृहमन्त्रीले कुनै हालतमा राजीनामा नदिने निर्णय गरेपछि प्रतिपक्ष आक्रोशित छ ।

यसअघि २०८० को चैतमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न खोज्दा नेपाली कांग्रेसले बोल्न दिएको थिएन । कांग्रेसले लामिछानेलाई संसदमा बोल्न नदिने औपचारिक निर्णय नै गरेको थियो । त्यतिबेला लामिछानेमाथि सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप लागेको थियो ।

परिस्थिति अपहिले पनि त्यस्तै छ तर नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी अहिले ठिक विपरित स्थानमा छन् । त्यतिबेलाका गृहमन्त्रीको पार्टी रास्वपा अहिले प्रतिपक्षमा छ र त्यतिबेला लामिछानेलाई बोल्न नदिने कांग्रेसका रमेश लेखक अहिले गृहमन्त्री छन् । लेखकमाथि मानव तस्करीमा संलग्न भएको आरोप लागेको छ ।

आफ्ना सभापतिले बोल्न नपाउँदाकै जस्तो परिस्थिति अहिले निर्माण भएपछि रास्वपा लेखकलाई बोल्न दिने पक्षमा छैन । विपक्षीको विरोधको नेतृत्व नै रास्वपाले गरिरहेको छ । माओवादी र राप्रपाले उसलाई साथ दिएका छन् । आज सत्तापक्षको पेलेर जाने नीतिलाई सभामुखले समर्थन गर्ने र प्रतिपक्षी पनि गृहमन्त्रीले राजीनामा दिनैपर्ने र संसदमा बोल्न नपाउने अडानमा कायम रहने हो भने संसदमा भिडन्तको जोखिम बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.