देशको समृद्धिका लागि गैरसरकारी संस्थाहरु सँग सहकार्य गर्नुपर्नेमा सरोकारवालाको जोड
काठमाडौं। देशको समृद्धि र विकासका लागि सरकार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र नागरिक समाजका बिचमा आसपी सहकार्य गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।
बुधबार प्लान इन्टरनेशनलले ललितपुरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै सरोकारवालाहरुले देशको समृद्धि र विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताएका हुन् ।
उनीहरुले गैरसरकारी संस्थाहरुले गरिरहेका कामलाई नकारात्मक दृष्टिले हेर्नु नहुने भन्दै सरकारले आफ्नो सहयोगीको रुपमा लिनुपर्नेमा जोड दिए। त्यस्तै महिला, बालबालिका, जेष्ठ नागरिक लगायतको क्षेत्रमा काम गर्न सरकार असफल बन्दै गइरहेको भन्दै सरकारले प्रभावकारी काम गर्नुपर्ने सुझाव पनि दिइएको छ ।
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीकि सांसद रन्जु कुमारी झाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सबैभन्दा उपेक्षित मन्त्रालय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरिन् । उनले मानव जीवनको प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएपनि त्यस अनुरुपको काम हुन नसकेको बताईन् ।
महिला, बालबालिका र जेष्ठ नागरिकको पक्षमा काम गर्न उक्त मन्त्रालय उदासिन देखिएको उनको भनाई थियो । उनले समाज कल्याण परिषद्ले पनि आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न नसकेको उल्लेख गरिन् । सांसद झाले समाज कल्याण परिषद्सँग सम्बन्धित ऐन छिटोभन्दा छिटो संशोधन गर्नुपर्ने आवश्यकता औँल्याइन् । सांसद झाले देशको विकासका लागि गैरसरकारी संघसंस्थाले पनि भुमिका खेलिरहेका भन्दै उनीहरुको भुमिकाको अवमुल्यन गर्नु नहुने बताइन् ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. रामकुमार फुँयालले गैरसरकारी संस्थाहरुले ‘वाच डग’ को भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले गैरसरकारी संस्थाहरुले संविधानले प्रदत्त गरेका मौलिक हकहरुको कार्यान्वयन भए, नभएको सम्बन्धमा नजिकबाट हेरेर सरकारलाई सल्लाह, सुझाव दिनुपर्ने पनि बताए । गैरसरकारी संस्थाहरुले ग्रामिण भेगमा धेरै रोजगारीहरु दिइरहेका भन्दै उनले यि संस्थाहरुमार्फत् स्रोतको दुरुपयोग हुनबाट भने रोक्नुपर्ने बताए ।
नेपाली कांग्रेसकि सचेतक सुशिला थिङले सरकारी क्षेत्र र गैरसरकारी क्षेत्र सबैको एउटै उद्देश्य देश र जनतालाई समृद्ध बनाउनु भएको भन्दै उद्देश्य प्राप्तिका लागि आपसी सहकार्य आवश्यक रहेको बताइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रु्वबहादुर प्रधानले समाज कल्याण परिषद्सँग सम्बन्धित ऐन संशोधनका लागि आफुहरु गम्भीर रहेको बताए । उनले कर्मचारीहरुले गैरसरकारी संस्थाहरु सँग सेयर माग्ने प्रचलन पनि रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताए ।







डिसी नेपाल








Facebook Comment