जिन्दगी
जिन्दगी यात्रा होकि गन्तव्य? किन अवस्थित छौं यो दुनियाँमा हामी? दुनियाँ हाम्रो हो कि हामी दुनिया को?
बारम्बार मनले मनलाई सोध्ने प्रश्न हो यो। हामी जवाफ खोज्छौं भेटिँदैनन् जवाफ।
जवाफ त्यत्ति सजिलो कहाँ मिल्छ र?
भेटिन्न पनि। जीवन बुझेकाहरुले भन्ने गर्छन्। गर्नु पर्छ रे साधना गहिराइमा डुबेर। तर यो देख्नेलाई देखाउनको निम्ति होडबाजी गर्दै बाँचेको जिन्दगीमा कस्लाई हुँदो हो फुर्सद साधनामा लिप्त भएर जिन्दगी को परिभाषा केलाउन।
“अपवाद बाहेक।
भ्रम मा बाँचेको सत्यलाई अस्वीकार गर्न सकिएला र? फेरि जीवन कसरी भ्रम भन्नुहोला? मेरो बुझाई मात्रै पस्केको हो। मेरो बुझाईमा सहमत हुनुपर्छ भन्ने छैन। मलाई भ्रम जस्तो लाग्यो।
किनभने यो-त्यो,तँ-तँ र म-म गर्छन्। सानो-सानो देखि ठूला-ठूला कुराहरुमा हामी। तर अन्ततोगत्वामा आफू नै आफ्नो हुन्न र पनि मान्छेको मनमा पलाएको अहंकार, घमण्डको कुरा गरि साध्य छैन।
जीवनहरु यतिसम्म अस्तब्यस्त छन्। मिल्ने भए उनिहरुलाई चाहिने हरेक आधारभूत कृयादेखि फेर्ने सास, लाग्ने भोक धरी अरुलेनै पूरा गरिदिउन् भन्ने सोच राख्न पछि पर्दैनन्।
आखिर यति धेरै अस्तब्यस्त छन् किन हामी? आखिरमा महाशुन्यमा विलीन हुनुनै छ एक दिन। यस्तो अस्थायी डेराजस्तो जुनिलाई के सार्ह्रो पीडा दिन्छ। जानेर भनौं कि या नजानेर। हुनेलाई अझै धेरै चाहिने। बरु नहुनेले यस्तै रहेछ भनेर चित्त बुझाउनु जानेका हुन्छन्।
बिचित्रको शिलशिला। थिएन ठिकै थियो। भयो जाति भो। हलक्क बढ्याे गोबर थुप्रोमा उम्रेको लट्टेको बिरुवा झैं| हलक्क शब्द सँगै हलक्क बढेर हुर्केको सपनाहरूको भारिले गधा जस्तै बनाएको छ। जिन्दगीलाई !
सपनाहरूको भारी बोक्दा-बोक्दै नलिखुट्टो भित्रको मासी सुकेको थाहै हुँदैन। जिउँदो जोवन ढल्दैगएको चालै पाउँदैनन्। अन्धभक्त भक्त बनेर, अन्धबिश्वाको मूर्ती, धामी, झाक्री, पुराेहित,पण्डितको बिचित्रको कुरा सुनेर। अनिष्ट दश ग्रहहरु मन्छ्याउँदै-पन्छ्याउँदै सफलताको चुलिमा पुगि शान्तिको एक फाँग सास फेराऊँला भन्दा-भन्दै।
जिन्दगी थाकेर ढलेपछि थाहा हुँदो होलाकी नाई अनुभव बोकी फर्कने कोही हुँदैन?
सकिन्छ होला आफू सकेपछि सबैकुरा। सोचे सजिलो सम्झे धेरै अफ्ठ्यारो फ्रीमा भनौं कि बा-आमाको प्रेममा फुलेर पाएको फूल जस्तो जिन्दगी।
















Facebook Comment