जनकपुरमा विद्युतीय शवदाहगृह निर्माण प्रक्रिया अघि बढ्यो
जनकपुर । मधेश प्रदेश सरकारको गौरवको योजना भनिएको विद्युतीय शवदाह गृह निर्माण प्रक्रिया अघि बढाइएको छ।
प्रदेश सरकारको उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा रहेको स्वर्गद्वारमा शवदाहगृह निर्माण गर्न लागेको हो। शुक्रबार सो मन्त्रालयको सरोकारवालासंगको छलफलमा यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने निर्णय गरिएको हो।
सरोकारवालासंगको छलफलमा वर्तमान स्वर्गद्वारको दोस्रो कितामा शवदाहगृह यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने, यसै साता टेण्डर प्रक्रिया अघि बढाइने र निर्माण भइसकेपछि सम्बन्धित जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरि कार्यविधि बनाएर स्वर्गद्वार समितिलाई संचालनको जिम्मा दिइने निर्णय गरिएको छ।
छलफलमा उर्जा सिंचाई तथा खानेपानीमन्त्री शेषनारायण यादवले मधेश सरकारको गौरवको योजना रहेको र यो शवदाह गृह निर्माणले आम जनतालाई आर्थिक र समयको बचतसंगै वातावरणीय हिसाबले प्रदूषण रोक्ने काम समेत गर्ने बताए।
दुई वर्ष भित्रमा शवदाहगृह निर्माण हुने र यसैसाता टेण्डर निकाल्ने साथै त्यसका लागि मन्त्रालयले ११ करोड रुपैयाँ छुट्याइएको जानकारी मन्त्रालयले जानकारी दिएको छ।
कार्यक्रममा उपस्थित जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले जनकपुरधाममा शवदाह गृह निर्माण हुनु ठुलो गौरवको विषय रहेको भन्दै निर्माण सम्पन्न भएपछि तत्कालै कार्यविधि बनाएर स्वर्गद्वारी समितिलाई संचालनको जिम्ममा र आर्थिक कोष स्थापना गरि संचालनमा ल्याइने जानकारी दिए।
शवदाहगृहका लागि अढाई तल्ले भवन निर्माणसहित दुईवटा शवदाह ट्रली बेड, भृन्चुरी स्क्रबर, वेट स्क्रबर, धँुवा निस्किने चिम्नी र अस्तुलाई व्यवस्थापन गर्ने सहितका वातावरणीय संरचना निर्माण गरिनेछ।
विद्यमान परम्परागत दाहसंस्कार प्रणालीमा आउने कठिनाइ, खर्च र वातावरणीय असरलाई ध्यानमा राखेर इलेक्ट्रिक शवदाह गृहको विकल्प अपनाइएको हो। यसले काठको खपत कम गर्नुका साथै कार्बन उत्सर्जनमा समेत कमी ल्याउने विश्वास गरिएको छ।







डिसी नेपाल








Facebook Comment