निबन्ध : मेरा किताब नै मेरा खुसीहरू
मेरा किताब नै मेरा खुसीहरू हुन्। मेरा यात्रा नै किताबका पानामा, कागजका अक्षरमा, शब्दका संयोजनमा व्यक्त भावनाहरू हुन्। यिनैमा म मेरो जीवन भेट्छु। मेरा खुसीहरू पाउँछु। र, म यिनैमा रमाएर हाँस्छु। यो जीवनको सर्वाधिक खुसीको उत्सव हो भन्ने मलाई लाग्छ।
मेरा लागि किताबहरू पानाहरूमा छापिएका शब्दहरूको संग्रह मात्र होइनन्, यी त मेरा अनमोल खुसीहरूका प्रतिमूर्ति हुन्। हरेक किताब एउटा नयाँ संसारको ढोका हो। त्यहाँ ढोकाभित्र पसेपछि म आफैँलाई हराउन सक्छु र फेरि नयाँ रूपमा पाउन सक्छु। किताबका पानाहरू पल्टाउँदा निस्किने मन्द सुगन्धले मलाई सधैं एउटा नौलो यात्रामा लैजान्छ। त्यस यात्रामा समय र परिस्थितिका बन्धनहरू हराएर जान्छन्।
जब म कुनै किताब खोल्छु, त्यो केवल एउटा कथा पढ्ने कार्य मात्र रहँदैन, त्यो त लेखकको मनसँग जोडिने एउटा गहन अनुभव बन्छ। कहिलेकाहीँ म आफूलाई कुनै पात्रको जीवनमा समाहित पाउँछु, उनीहरूको हाँसोमा हाँस्छु, उनीहरूको पीडामा रुन्छु।
उनीहरूको जितमा उत्सव मनाउँछु। किताबहरूले मलाई मानिसका भावनाहरूको गहिराइ बुझ्न सिकाउँछन्, समाजका विविध पाटोहरू चिनाउँछन् र जीवनका जटिल प्रश्नहरूको उत्तर खोज्न प्रेरित गर्छन्।
मेरो लागि किताबहरू शान्तिको आश्रयस्थल पनि हुन्। जब बाहिरी संसारको कोलाहलले मलाई थकाउँछ, म आफ्ना किताबहरूका बीचमा पुग्छु र त्यहाँ एक प्रकारको अलौकिक शान्ति पाउँछु।
किताबका अक्षरहरूले मेरा मनका चिन्ताहरूलाई मेटाएर एउटा अद्भुत विश्राम दिन्छन्। हरेक वाक्यले मलाई नयाँ विचार दिन्छ, हरेक अनुच्छेदले नयाँ दृष्टिकोण दिन्छ। किताबहरूले मलाई एक्लोपनको अनुभूति हुन दिँदैनन्, बरु अनेक मित्रहरू र मार्गदर्शकहरूले घेरिएको महसुस गराउँछन्।
यी किताबहरूले मलाई जीवनको अर्थ बुझ्न र हरेक पलको महत्व चिन्न सिकाएका छन्। उनीहरूले मलाई कल्पनाको संसारमा उड्न मात्र होइन, यथार्थको धरातलमा अडिग रहन पनि सिकाएका छन्। मेरा खुसीहरूका यी प्रतिविम्बहरूले मेरो जीवनलाई सधैं उज्यालो र अर्थपूर्ण बनाएका छन्। किताबहरू मेरो लागि केवल पढ्ने साधन मात्र होइनन्। किताब मेरो जीवनका अनमोल साथीहरू हुन्। यसले मलाई हरेक मोडमा साथ दिन्छ। अनन्त खुसी प्रदान गर्छ।
यी खुसीहरूका स्पर्शहरू सधैंभरि मेरो जीवनका अभिन्न अंग बनिरहने छन्। मेरा किताब, मेरा खुसी, मेरो जीवन-दर्पण हुन्। किताब ! यो शब्द उच्चारण हुँदा मेरो मनमा एउटा आत्मीय प्रकाश फैलिन्छ।
कुनै जन्मेको शिशुको मुस्कानझैं निष्कलंक र न्यानो अनुभूति। जीवनका धेरै मोडहरू पार गर्दा, जहाँ शब्दहरूको उज्यालो नहुँदो हो त, म कतै अन्धकारको शून्यतामा हराउने थिएँ। ती किताबहरूले मलाई नबोली, नहिँडी महसुस गराए संसारसँग नजिक पुर्याए।
म आफूलाई भेट्न अक्षर, शब्द र किताबसँग साक्षात्कार हुन पुग्छु। त्यहाँ म आफूलाई पाएर खुसीको महसुस गर्न पाउँछु। यस्तो खुसी मलाई किताबहरूले दिन्छन्।
मेरो कोठाको र्याकमा थुप्रिएका पुस्तकहरू मेरा मौन मित्रहरू हुन्।
जति पटक म तिनीहरूलाई छुन्छु, उति पटक उनीहरूले पनि मलाई भित्रदेखि छोएजस्तो लाग्छ। कोही त्यहाँ छन् जो कविता, कथा, निबन्ध, नियात्रामा बग्छन्। कोही गम्भीर उपन्यासमा रमाउँछन्। कोही इतिहासका पहराहरू चढाउँछन्। कुनै यात्राका किताबले पहाडी बाटो हुँदै हिमाल नजिक पुर्याउँछन्।
सबैको एउटै उद्देश्य मलाई जीवन देखाउने, सुनाउने र चखाउने हुन्छ। किताबसँग म केवल पढ्दिनँ, म बोल्छु, सोध्छु, तर्क गर्छु र कहिलेकाहीँ भावुक बनेर एक्लै एकान्तमा चुपचाप हुन्छु। यिनै किताबका चाङ्चुलीमा चुलबुल गर्दै तिनैबाट प्रेरणा लिन्छु। मेरो गुरु, पथप्रदर्शक, साथी, सहयात्री सबै हुन् किताब।
लाग्छ, मैले विचरा यी निर्दोष शब्दहरूलाई कति चलाएँ, कतिपटक खेलाएर हैरान पारें। कहिले कुन शब्दसँग सम्बन्ध जोडाएँ। कहिले कुन शब्दसँग सम्बन्ध विच्छेद गराएर नयाँ सम्बन्ध स्थापित गराएँ।
शब्दहरूको उकाली र ओरालीहरूमा शब्द हिँडाउँदै भावनाको आलेखमा आफूलाई विश्राम गराएँ। धन्य म ! झन् धन्य मलाई शब्द सापटी दिएर मेरा भावना अक्षरहरूमा रूपान्तरण गरिदिने अनेकौं शब्दहरू !
म कहिलेकाँही आफ्नै डायरीका पानामा फर्किन्छु, जुन किताबभन्दा टाढा छैन। किनभने त्यो पनि त लेखिएको आत्मा हो। ती शब्दहरू अरूका र मेरा अनुभव हुन्, जसलाई म आफूले पढ्छु। र, त्यही पढाइमा लुकेको हुन्छ एक किसिमको राहत। त्यसले हिजोका पीडालाई आजको खुसी बनाउँछ। म दुःखलाई बिर्सेर हर्षित वर्तमानमा जीवनको बिहान मन पराउँछु।
किताबको एउटा विशेषता के हो भने, उसले कहिल्यै पनि मनको ढोका बन्द गर्दैन। बरु, मनको झ्याल खोलेर नयाँ आकाश देखाउँछ। त्यहाँ विचारहरू चरा भएर उड्छन्। त्यहाँ कल्पनाहरू बादलझैं घुम्छन्। मेरा किताब, मेरा भावना त्यहाँ मेरा सुखद खुसी भएर व्यक्त भएका हुन्छन्।
बाहिरी संसारमा कहिले कुरा नमिल्न सक्छ- व्यक्तिहरू टाढा हुन सक्छन्, समयले धोका दिन सक्छन्। तर किताब कहिल्यै पनि बदलिँदैन, न त धोका दिन्छ। जति जुनी बित्छ, उति झनै आत्मीय र प्रिय लाग्छ। मेरा खुसीहरू यिनै अक्षरहरूमा लुकेका छन्- कहिले निबन्ध बनेर, कहिले सम्झना बनेर, कहिले आँसु भएर।
किताबसँगको सम्बन्ध केवल अध्ययनको हुँदैन, यो सम्बन्ध आत्माको पनि हुन्छ। त्यसैले, जब म एउटा किताब बन्द गर्छु। वास्तवमा म केही नयाँ खोलिरहेको हुन्छु– मेरो भित्री स्वर, मेरो चेतना, मेरो भविष्य।
यसरी, जब म भन्छु- ‘मेरो किताबसँग मेरा खुसीहरू छन्। त्यो केवल वाक्य होइन; त्यो मेरो आत्मा, मेरो अनुभूति र मेरो अस्तित्वको बयान हो। किताब पाएर हराएका मेरा खुसीहरू म भेटिरहन्छु।’
















Facebook Comment