नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति

डिसी नेपाल
२३ जेठ २०८२ १६:४८
20
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान् र शीलवान् नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका छन्।

नेपाल आदर्श माध्यमिक विद्यालयको ७५औँ जन्मजयन्ती हीरक महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गरे।

उनले भने, ‘राजनीतिक परिवर्तनपछि मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अवलम्बन गर्दै तीव्र विकासको बाटोतर्फउन्मुख छ। सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई अघि बढाउन तदनुरुपको शिक्षा दिन आवश्यक छ भन्ने मलाई लाग्छ।’

उनले विद्यालय तहदेखि नै हामीले हाम्रा बालबालिकालाई आधुनिक समयको मागअनुसारको पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए।

राष्ट्रपति पौडेलले गुणस्तरीय, प्राविधिक र प्रतिस्पर्धाको पक्षलाई ध्यान दिइ भविष्यमा योग्य र क्षमतावान् व्यक्तिका रुपमा उभिनसक्ने गरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाका क्षेत्रमा कार्यरत सबै पक्षले उत्तिकै ध्यान दिनु जरुरी रहेको बताए। उनले अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन र रोजगार बजारअनुसारको जनशक्तिको विकास गर्न जोड दिनु आजको आवश्यकता रहेको बताए।

उनले ज्ञान, चेतना, जागरण र रुपान्तरणमा शिक्षाको भूमिका महत्वपूर्ण रहँदै आएको बताउँदै सभ्य र सु–संस्कृत आधुनिक समाज निर्माणमा मात्र नभएर राष्ट्रको समग्र विकासको जग र आधार नै शिक्षा भएको स्पष्ट पारे। राष्ट्रपति पौडेलले जनता शिक्षित भएमा आफ्नो निरंकुश शासनको विरोध गर्लान् भनी जनतालाई शिक्षाबाट बञ्चित गर्न खोज्ने राणा शासनकालमा राजधानीको मुटुमा नेपाल आदर्श विद्यालयको स्थापना हुनु एउटा ऐतिहासिक घटना भएको बताए।

उनले सो विद्यालयका संस्थापकको आदर्श, कर्तव्यपरायणता एवं मातृभूमिप्रति समर्पित कर्मठ विद्यार्थी तयार गर्ने सपनाअनुसार नै विद्यालयको नाम ‘नेपाल आदर्श’ रहनु सधैँ स्मरणीय विषय भएको बताए।

सो क्रममा राष्ट्रपति पौडेलले विद्यालयका पूर्वविद्यार्थी सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान, नेपाल बार अध्यक्ष विजयप्रसाद मिश्रलगायत पूर्वविद्यार्थी एवं विद्यालयमा योगदान पुर्‍याउनेलाई सम्मान गरको थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.