रास्वा र राप्रपाको आरोप : संसद बिचौलियाको पक्षमा उभियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरुलाई बोल्न नदिएको आरोप लगाएका छन्।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्न दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भए पनि त्यस विपरित सभामुखले आफूहरुलाई बोल्न नदिएको बताएका हुन्।
उनले भने, ‘बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्न दिने भन्नु भएको थियो। तर बैठक सुरु भैइसकेपछि रास्वपालाई पहिले बोल्न दिइएन सभामुखले पनि झुटो बोल्नुभयो।’
झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न नसकेको र पेलेरै लाने व्यवहार देखाएको उल्लेख गरे। प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसँग उधारो सहमति गरेकाले आफूहरुले आन्दोलनलाई निरन्तरता दिएको उनले बताए।
उनले भने, ‘मानव तस्करी जुन भैइरहेको छ संगठित अपराध, त्यसमा गृहमन्त्रालयको केही जिम्मेवार कर्मचारी र गृहमन्त्रीको संलग्नताबारे हामीले आवाज उठाएर जुन बैठक अवरोध गर्ने र त्यसमा आवाज राख्ने र केही मागहरु हाम्रो छ स्पष्ट छ पाँच बुँदे। प्रमुख प्रतिपक्ष दलले दुई बुँदे सम्झौता गर्नुभयो तर हाम्रो यो उधारो सहमति भएन।’
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद र सभामुख बिचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन्। शाहीले भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदा हुँदै पनि जबरजस्ती सदन चलाएर संसद र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफूहरुले सदन बहिष्कार गरेको बताए।
उनले भने, ‘संसद र सभामुख विचौलियाको पक्षमा उभिएको छ। हामीले संसद बहिष्कार गरेका छौं यो भन्दा अरु विकल्प केही छैन। भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदा हुँदै पनि जबरजस्ती सदन चलाएर संसद र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफूहरुले सदन बहिष्कार गरेको हौँ। सांसदले उठाएका आवाजलाई सम्बोधन नगर्ने संसदमा बस्नुको कुनै औचित्य हुँदैन।’
शाहीले भिजिट भिसा प्रकरणमा माओवादी अध्यक्ष प्रचण्डले छेपारो प्रवृत्तिमा काम गरेको टिप्पणी पनि गरे।







डिसी नेपाल








Facebook Comment