बागमतीको स्थलगत अनुगमनमा पुगे उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार बागमती करिडोरको अनुगमन गरेका छन्। उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले विहानै सो क्षेत्रको निरीक्षण गरेको हो।
उपप्रधानमन्त्री सिंहले वर्षा लागेसँगै बागमतीमा बाढीको सम्भावित जोखिमबारे स्थलगत निरीक्षण गरेर चासो व्यक्त गरेका हुन्। वर्षा लागेसँगै बागमती नदीले पार्न सक्ने असर न्यूनिकरणका लागि आवश्यक काम अघि बढाउन पनि उपप्रधानमन्त्री सिंहले मन्त्रालय मातहतका निकायलाई सचेत गराएका छन्।
टोलीले सुन्दरीजलदेखि गोकर्ण र माकलबारी क्षेत्रमा मन्त्रालयअन्तर्गत भइरहेका कामहरू, ढल व्यवस्थापन, बागमति सौन्दर्यकरणलगायतको अवलोकन गरेको छ। सो क्षेत्रमा अवलोकन गर्ने क्रममा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई बागमतीलाई स्वच्छ बगाउन र ढल व्यवस्थापनका लागि तत्काल आवश्यक कार्यअघि बढाउन निर्देशन दिए।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल र काठमाडौं ३ का सांसद सन्तोष चालिसे सहरी विकास मन्त्रालयअन्तर्गत धेरै कामअघि बढेको भन्दै आभार व्यक्त गरेका थिए। नगर प्रमुख रिसालले नगरपालिकाले बागमति स्वच्छ बनाउन पालिकाभित्र गरिरहेको कामबारे जानकारी गराए।
काठमाडौं उपत्यकाको नदी र कोरिडोरको विषयलाई सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र बाग्मती सभ्यता एकीकृत विकास समितिले हेर्दै आएको छ।
उपप्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेदेखिनै काठमाडौं उपत्यकाका नदीनालामा सफाइ र सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिँदै आएका छन्।
यस वर्षको बजेटमा समेत सहरी विकास मन्त्रालयले उपत्यकाको नदिनाला संरक्षण र कोरिडोर विस्तारमा तीन अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ। सो क्रममा काठमाडौं आयुक्त सुवास बस्नेतलले गोकर्ण क्षेत्रको सुन्दरीजल सडकमा परेका घरहरूको क्षतिपूर्तिको विषयमा उपप्रधानमन्त्री सिंहलाई जानकारशि गराएका थिए।
उपप्रधानमन्त्री सिंहसँगै मन्त्रालयका सचिव गोपाल सिग्देलसहितको टोली, काठमाडौं उपत्यका विकास प्राधिकरणको काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका प्रतिनिधि सहभागि थिए। बुधबार उपप्रधानमन्त्री सिंहले विष्णुमतिको बूढानीलकण्ठ क्षेत्रको निरीक्षण गरेका थिए।







डिसी नेपाल







Facebook Comment