हट्यो काठमाडौंका सार्वजनिक स्थानमा लगाइएको निषेधाज्ञा

काठमाडौं । काठमाडौंको चक्रपथभित्रका विभिन्न सार्वजनिक स्थानमा लगाइएको निषेधाज्ञा हटेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै चक्रपथभित्र लगाइएको निषेधाज्ञालाई हटाएको जनाएको हो।
राजावादीहरूले जथाभावी विरोध प्रदर्शन गर्न थालेपछि प्रशासन कार्यालयले जेठ १८ गते चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला, जुलुश, प्रदर्शनलगायत विरोधका कार्यक्रम गर्न निषेध गरेको थियो।
निषेधाज्ञा हटाइए पनि ती क्षेत्रमा कुनै कार्यक्रम गर्न भने प्रशासनसँग अनुमति लिनुपर्ने जनाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जारी गरेको विज्ञप्तिमा निषेधाज्ञा लगाइएका ठाउँहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने बताइएको छ।
‘मिति २०८२/०२/१८ गतेको आदेश मार्फत काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थान बाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध आदेश जारी गरेकोमा हाललाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यक्रम गर्ने गरी उक्त आदेश कायम नरहेको व्यहोरा गराइन्छ,’सूचनामा भनिएको छ।
Facebook Comment