निबन्ध : हराएको स्मृति खोज्दै
चाउरिँदै गइरहेको चेहराभित्र छोपिएको त्यो बालापनको चञ्चल मन। खेल्ने चौर, मिल्ने साथी र घुम्ने बनपाखा। चिल्लो, पोषिलो र पोटिलो अनि भरभराउँदो अनुहार। नाच्दै चुम्न, छुन आउने उत्ताउँलो हावा। गाला चिसो पारेर, कान चिमोटेर भाग्ने त्यो बदमास बतास। गाला रातो हुने गरी चिस्याउने त्यो मौसम !
यिनै हुन् मेरा हराएका स्मृतिहरू…
हराएको स्मृति खोज्दै जाँदा कहिले भेटिन्छ। कहिले भेटिँदैन। चाउरी अनुहारमा म आफूलाई खोज्छु। ऐनामा टोलाउँछु, त्यो चञ्चल आँखाको चमक त कतै हराएजस्तो लाग्छ। कहिले नथाक्ने कुदाइ, नअघाउने हाँसो, बिना कारण खुसी भएर बुर्कुसी मार्दै नाच्ने ती पाइलाहरू… कतै कुनै अतीतको कुनामा थन्किएजस्तो लाग्छ।
वास्तवमा बालापन एउटा जादू हो। त्यसले अनेक तमासा देखाउँथ्यो। त्यो जादू आज छैन, तर त्यसको स्मृति भने गहिरो छ। मनभित्र गाडिएको, तर बेला-बेला हावाले उचालेर ल्याउने, आँखाका परेली भिजाउने स्मृति। बाल्यकालको त्यो मौसम, जहाँ हावा सुइइय्या गर्दै चिच्याएर आउँथ्यो, गालामा चिसो झापडले मनै झस्किन्थ्यो। मुटु कम्पित बनाउँथ्यो।
तथापि ती दिन रमाइलो लाग्थ्यो। त्यो हावा भूत जस्तै नदेखिने भएर तर्साउन आउँथ्यो। कहिले हावा बेजोडले आउँथ्यो। त्यसले जस्केला घ्वारक्क खोल्थ्यो। नदेखिँदा पनि यति शक्तिशाली हुन्थ्यो। रुखविरुवा ढाल्थ्यो। हल्लाएर तूलफूल सखाप पाथ्र्यो। धानबाली, मकैघारी ढालेर सोत्तर पारी सखाव हुन्थ्यो।
कहिले कलिलो घामसँग खेल्थ्यो, जिस्किन्थ्यो। कहिले गाला चिमोट्थ्यो, कहिले कान तन्काउँथ्यो, अनि हाँस्दै भाग्थ्यो। त्यसपछि अब कहिले फेरि फर्किन्छ भनेर म पिँढीमा पर्खी बस्थें। हावाले चिसो मात्र होइन तातो गर्मी पनि ल्याउँथ्यो। कता-कताबाट बटुलेर मीठो सुगन्ध पनि बोकेर ल्याउँथ्यो।
आज ती सबै हराएका छन्। न त त्यो बाल्य मन बाँकी छ, न त्यो सुगन्ध, न त्यो चिसोमा पनि तातो लाग्ने मित्रता। अब त मौसमले पनि चेताउँछ र भन्छ- ‘अब तिमी फेरि सानो हुन सक्दैनौं।’
तथापि मन मान्दैन। अझै पनि कहिलेकाहीँ बाल्यकालको कुनै झिल्को भित्र-भित्रै झल्याँस्स झस्किन्छ। जस्तै पुतली नचाएर अचम्भित पार्ने कुसुले दाइ अचेल गाउँघरमा डुल्दैनन्।
घर छेउको कान्लामा रोपिएको नास्पाति, अम्का, सुन्तोला र स्याउको बोट सम्झन्छु। करेसाबारीमा केराको घारी, तोरीबारीमा मौरीको भुन्भुन्। त्यहाँ हावाले हल्लाएको हाँगामा मलाई सानो हातले टाँसिनुपर्ने हुन्थ्यो। त्यो मिठास, त्यो खेल, त्यो निष्कलंक पन। त्यसमा न स्वार्थ थियो, न डर, न प्रतिस्पर्धा। केवल ‘आज’ थियो- पूरै जिउनु पर्ने भोलि होइन ‘आज’ मात्रै।
स्मृति भन्नु नै त हो, हराएको कुरालाई सम्झेर पुनः बाँच्ने एक अवसर। तर कहिलेकाहीँ ती स्मृतिहरू आफैँ पनि लुक्न थाल्छन्। परन्तु ती पुराना साथीहरू भेटिँदैनन्। समयले अनुहारहरू बदलेको छ। तर, सम्बन्धको त्यो बालपन अझै पनि मुटुको कुनामा कतै टल्किरहेको छ। कतै झल्किरहेको छ। स्मृतिको आलेखमा आउँछ-जान्छ।
सम्झना र बिर्सनाको दोसाँधमा ओहोर-दोहोर गरिरहन्छ। तर यादहरूमा मात्रै हो ती बाँच्ने भनेको। यथार्थमा ती केवल हराएका स्मृतिको रूपमा सीमित रहन्छन्।
कहिलेकाहीँ गहिरो सास फेर्छु- शायद त्यो बाल्यकालको हावालाई फेर्ने झोंकमा छु। त्यो हावामा रमाइरहेका अनुहारहरू सम्झन्छु। त्यसपछि आफूलाई सम्झन्छु। अनि लाग्छ, ‘म अझै हराएको छैन। तर ती विगतको सुगन्ध, समय र साथी आज कोही पनि साथमा छैनन्।’
वस्तुतः केवल केही अंशहरू ओझेलमा छन्, जसलाई खोजिरहेछु- जसरी दिउँसोको घामले बिहानको शीत खोजिरहेको हुन्छ। साँझको गोधूलिले शीतल जूनको आगमन पर्खिरहेको हुन्छ। घामपानीको जम्काभेटले इन्द्रेणी रङको सौन्दर्य पेश गरिरहेको हुन्छ। छुटेका जोडीले मिलनको प्रतीक्षामा छिनभरको समय पनि घण्टौं लामो लागिरहेझैं लाग्छ।
हो, म स्मृतिको त्यो दोबाटोमा छु। बाटो अनेकतिर फैलिएको देख्छु। कुन बाटो जाँदा कहाँ पुगिन्छ ? कुन बाटो हिँड्दा सजिलो हुन्छ ? म अन्यौलमा पर्छु। बाटो सुनसान छ। सोधेर सही जवाफ दिने कोही मान्छे छैनन्। बटुवा बिहीन चौतारीको बिसौनी, पेटी, पर्खाल र ढुंगामा लेउझेउले भरिएको छ। बरपिपलका रुख धेरै बूढो भएर जरा–जीर्ण अवस्थामा फुकिढल भइसकेका छन्।
बनपाखामा भेँडाबाख्रा चरिरहेका, गोठाला गफिँदै हाँसिरहेका देखिँदैनन्। जंगल पनि मासिएर पाखोबारी, घरबारी हुँदै बसाइँ जानेको ताँतीले रुखो, उजाड र मरुभूतितुल्य देखिन्छ। गोठाला, खेताला, मेलापातको रमझम सबै सिद्धिएर सखाप भइसकेको जस्तै लाग्छ। धानबालीले लहलह हुने बेंसीको फाँट बगर बनेको छ। काँसेघारीबाहेक त्यहाँ अरू केही छैन।
असारे हिलोमा रोपाईको रौनक, असारे भाका र भावको परम्परागत मिठास पनि रित्तिएर परमधाम गइसकेको देख्दा मन बेचैन हुन्छ। यसरी क्रमशः हराउँदै गइरहेका स्मृतिका दंशले मेरो मन झस्किन्छ। म हराएको स्मृति भेट्टाउन नसकेर छट्पटिन थाल्छु।
अनायासै केही धूमिल सम्झनाका चोइटा फुत्त उफ्रिएर मेरो आँखाको डिलमा आउँछ। म आँखाले सकेसम्म नियालेर देख्ने कोसिस गर्छु। तर, त्यहाँ मेरो अतीतका टुक्रा झिना सम्झनाबाहेक केही बाँकी नरहेको देख्दा दिक्क भएर बलेसीमा थचक्क बस्छु। त्यतिबेला असारे झरीले भिजाएको पनि ख्याल हुँदैन।
यस्तो अवस्थामा त्यहाँ न गन्तव्य निश्चित छ, न यात्रा टुंगिन्छ। तर हरेक पाइलामा आफ्नै हराएका अनुहारहरू भेटिन्छन्। आफ्नै स्वरहरू सुनिन्छन्। अनि मन भन्छ- ‘मेरो बाल्यकाल बगेर कहाँ गयो होला, तर म त्यहीँबाट बनिएको हुँ।’
हराएको स्मृति खोज्दै… म अझै हिँडिरहेछु।
















Facebook Comment