बजेट विनियोजनमा मधेशले विभेद र उपेक्षा मात्रै भोग्नु दुखद : नैनसिंह महर
वीरगन्ज । नेपाली कांग्रेसका नेता नैनसिंह महरले देशको अर्थतन्त्रमा सर्वाधिक योगदान दिने र सबभन्दा बढी जनसंख्या भएको मधेश प्रदेशका लागि संघीय बजेट विनियोजनमा कमी कमजोरी देखिएको औंल्याएका छन्।
नेपाल प्रेस युनियन पर्साले वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महरले देशको अर्थतन्त्रमा मधेश प्रदेशले ठूलो योगदान दिइरहे पनि केन्द्र सरकारले त्यसको मर्म बुझ्न नसकेको बताएका हुन्।
‘वीरगन्ज नाकाले देशको ढुकुटी बढाउन ठूलो योगदान पुर्याउँछ। सबैभन्दा बढी श्रमिक विदेश यही प्रदेशले पठाउँछ र देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ,’ उनले तथ्यांक प्रस्तुत गर्दै भने, ‘तर, बजेट विनियोजनमा मधेशले आफ्नो जनसंख्या र योगदानको अनुपातमा सधैं विभेद तथा उपेक्षा मात्रै भोग्यो।’
नेता महरले सत्ताको खेलले नीतिगत शून्यता जन्माएको र प्रमुख दलहरूको आन्तरिक किचलोले व्यवस्थाप्रति नै नागरिकको विश्वास कमजोर बन्दै गएको बताए। उनले केही शक्ति धमिलो पानीमा माछा मार्ने षडयन्त्र गर्दै व्यवस्था परिवर्तनको दिवा सपना कोरिरहेको आरोप लगाए।
नेता महरले सरकार र सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै विधायिकी प्रक्रिया ठप्प पारेर देशलाई संकटतर्फ धकेलेको बताए। ‘सरकार कसरी चलिरहेको छ भन्ने कुरा संसदीय समितिले महिनौं लगाएर टुंग्याएका विधेयकसमेत सदनमा अलपत्र पर्नुले प्रस्ट पार्छ,’ उनले भने, ‘विधायिकी प्रक्रिया ठप्प पारेर सत्ता स्वार्थको खेलमा रमाएको यो गठबन्धनले देशलाई निकास दिनसक्नु पर्दछ।’
उनले सरकारको उदासीनताले मधेशका आधारभूत समस्या झनै विकराल बनेको बताए। ‘चुरेको अनियन्त्रित दोहनले जलवायु परिवर्तनको प्रत्यक्ष मार मधेशले भोगिरहेको छ। पहिले २०० फिटमा आउने पानी आज ५०० फिट खन्दा पनि मुस्किलले आउँछ,’ उनले पर्यावरणीय संकटतर्फ संकेत गर्दै भने, ‘तर, सरकारको प्राथमिकतामा यी विषय कहिल्यै परेनन्।’
नेता महरले मधेशमा महिला हिंसा, दाइजो प्रथा, दलित उत्पीडन, नागरिकता समस्या र देशकै सबैभन्दा बढी विद्यालय छाड्ने दर (ड्रपआउट रेट) हुनुले प्रदेशको भविष्यमाथि खेलबाड भइरहेको बताए।
‘सबै चुनौतीका बाबजुद, स्थानीय तहमा देशभरबाट निर्वाचित महिलामध्ये सबैभन्दा बढी मधेशबाटै हुनु यहाँको अन्तर्निहित ऊर्जाको प्रमाण हो,’ उनले भने, ‘कांग्रेस अब यही ऊर्जालाई साथ लिएर मधेशको नेतृत्व गर्न तयार छ ।’
फरक प्रसंगमा महरले पार्टी विधान कार्यान्वयनमा चुकिरहेको औंल्याएका छन्। ‘नीति महाधिवेशन गर्न बसेको महासमितिको प्रतिवेदनसमेत सार्वजनिक गरिएको छैन। पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था निष्क्रिय हुँदा पार्टीमा नयाँ ऊर्जाको सञ्चार हुन सकेको छैन। कांग्रेस नेतृत्व विधान कार्यान्वयनमा चुकिरहेको छ। शासन राम्रो हुन पहिला दल राम्रो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने।
महरले आगामी असार १६ गते बस्ने केन्द्रीय समिति बैठक यी विषयलाई मिहिन रूपमा उठाएर समीक्षा गरिने बताएका छन्। पत्रकार सम्मेलन प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो।







डिसी नेपाल








Facebook Comment