इजरायली युद्धमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

डिसी नेपाल
१४ असार २०८२ २०:५६
376
Shares

तेहरान। इरानले शनिबार इजरायलसँगको युद्धमा मारिएका करिब ६० वैज्ञानिक र कमान्डरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको छ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी र उच्च कूटनीतिज्ञहरूले इरानविरूद्ध इजरायल र अमेरिकाले गरेको आक्रमणप्रति आक्रोश व्यक्त गर्दै एक स्वतन्त्र राष्ट्रका रूपमा इरानले अन्तर्राष्ट्रिय कानुनको परिधिमा रहेर गर्ने विकासका गतिविधि नितान्त आफ्नो हित र सुरक्षामा भएको बताएका छन्।

अन्त्येष्टि समारोहमा ‘अमेरिका मुर्दावाद’ र ‘इजरायल मुर्दावाद’ भन्ने नारा लगाउँदै हजारौं नागरिकले अमेरिका र इजरायलको आक्रमणमा ज्यान गुमाएका मृतकको फोटो भएका ब्यानर, प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

इरानले १२ दिनको युद्धको क्रममा इजरायलविरुद्ध गरेको प्रतिशोधात्मक क्षेप्यास्त्र आक्रमणलाई संकेत गर्दै लेखिएको ‘बुम, बुम, तेल अभिभ,’ उल्लेख गरिएको ब्यानर लिएर हजारौँ इरानीले मृतकप्रति सम्मानका लागि अन्त्येष्टि समारोहमा सहभागी भएका थिए।

इरानी सरकारी टेलिभिजनले इरानले इजरायलमाथि प्रहार गरेको क्षेप्यास्त्रजस्तै ब्यालेस्टिक क्षेप्यास्त्रको नक्कल र इरानी झन्डामा ओछ्याइएको कफिनलाई प्रत्यक्ष प्रशारणमार्फत् देखाएको थियो।

राष्ट्रपति मसूद पेजेस्कियान र खामेनीका वरिष्ठ सल्लाहकार रियर एडमिरल अली शमखानी पनि उक्त समारोहमा उपस्थित भएका थिए। उनले युद्धमा इजरायली आक्रमणमा घाइते भएपछि बेतको लौरोको सहायतामा अन्त्येष्टि समारोहमा हिँडिरहेको देख्न सकिन्थ्यो। यसले सहभागीहरूबीच उत्तेजना र आक्रोश छाएको देख्न सकिन्थ्यो।

अन्त्येष्टि समारोहमा सर्वोच्च नेता स्वयं भने सहभागी भएनन्। उनले बिहीबार भिडियो सम्बोधन गर्दै यसै साताको सुरुमा युद्धविरामसहित समाप्त भएको द्वन्द्वमा ‘विजय’ भएको घोषणा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *