सभापति देउवाद्वारा पूर्वसांसद कँडेलको निधनप्रति दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधनप्रति दुःख व्यक्त गरेका छन्।
सभापति देउवाको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको शोक विज्ञप्तिमा कांग्रेस बाग्लुङका पूर्वजिल्ला सभापति एवम् बाग्लुङ क्षेत्र नं १ का पूर्वसांसद् कँडेलको निधनप्रति दुःख व्यक्त गरेका छन्।
बाग्लुङको बिहूँकोटमा विस १९९५ पुस १४ गते जन्मनुभएका कँडेल विस २०१० सालमा जननायक विपी कोइरालाबाट पार्टी सदस्यता प्राप्त गरेका थिए। वि.सं. २०१९ सालमा गुल्मी, अर्घाखाँची र पाल्पाको कमाण्डर भर्ई वनारसबाट तरूण पत्रिका लिएर आउँदा उनी पाल्पामा गिरफ्तार भएका थिए।
स्वर्गीय कँडेल कांग्रेसको जेष्ठ राजनीतिज्ञसभाका पूर्वसदस्य समेत थिए। निरंकुश पञ्चायती व्यवस्थाको विरुद्धमा र लोकतन्त्रको पक्षमा भएका सङ्घर्ष र आन्दोलनका क्रममा विस २०१९ देखि २०४६ सालसम्म पटक–पटक गरी उनले सात वर्ष जेल जीवन बिताएका थिए।
नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कँडेलले कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर काम गरेका थिए।
सरल, सादगी, शालीन र प्रेरणादायी जीवनशैली जीउने कँडेलको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको बताएका थिए। उनका दुई छोरा र एक छोरी छन्।
सभापति देउवाले कांग्रेस बाग्लुङका पूर्वसभापति, पूर्वसांसद एवम् नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा कँडेलको निधनको खबरले आफूलाई अत्यन्त स्तब्ध र दुःखीत बनाएको बताए।
‘स्वर्गीय कँडेलले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ’, सभापति देउवाले भने।
सभापति देउवाले कँडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय आत्माको चीर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्ने व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन्।







डिसी नेपाल







Facebook Comment