निबन्ध : साथी यस्तो होस्

ज्ञानेन्द्र विवश
२१ असार २०८२ ७:२५
32
Shares

साथी यस्तो होस् जो पहिलो भेट नै सधैंभरिका लागि अविस्मरणीय बनोस्। भेटिँदाको खुसी अनुहारमा पोखियोस्। बोलिँदाको आवाज मीठो गुञ्जनमा परिणत होस्। पहिलो भेट नै अन्तिम नहोस्। प्रत्येक भेटहरू भेटिँदै रहुन्। एकपटक भेटिएपछि फेरि अर्को पटकको भेट बन्द नहोस्।

प्रत्येक भेटहरू मायाको स्पन्दनमा स्पन्दित होस्। भेटिएपछि छुटिनुपर्छ। तर, छुटिएपछि पनि फेरि–फेरि भेटको मौका मिलिरहोस्। भेटिनुपर्ने आवश्यकता खड्किरहोस्। प्रथमतः भेट्ने चाहना प्रवल भइरहोस्। साथी–साथीको सम्बन्धमा कुनै दाग नलागोस्। साथित्व यस्तो रहोस् जो बाँचुनज्याल कायम रहोस्।

भेट्न मन लागिरहने साथी होस्। प्रत्येक साथीसँग भेट्ने मन लागिरहोस्। कुनै साथीसँग मन दुखेर टाढिने अवस्था कदापि नआओस्।

यसरी भेटदा विगतलाई एकपटक झलक्क सम्झना गरियोस्। अनि वर्तमानका खैखबरी गर्दै हार्दिक मनका प्रेमिल वार्ता क्रमशः अगाडि बढोस्।

साथी-साथीको सम्बन्धमा स्थायित्व होस्। मित्रता नमैलियोस्। सम्बन्ध नधमिलियोस्। मन फाटेर टाढाको दूरी नहोस्। बोलचालै बन्द भई पानी बाराबारको अवस्था कदाचित पनि नआओस्।

तनाव व्यवस्थापनमा सहयोगी बनोस्। मन दुखेको बेला उसको सान्त्वनाका शब्द सुनेर मन हाँस्न सकोस्। टाढिएको बेला संवादको शब्दले जोडिएर नजिकैको जस्तो आभास भइरहोस्। कहिल्यै बिरानो वा पराईपन अथवा टाढाको भावना नआओस्। सधैं मित्रवत सन्निकट सम्बन्धले जरा गाडिरहोस्।

नभेटिँदा पनि भेटिएकै जस्तो ‘बातचित’ गर्न पाइयोस्। कहिले झर्कोफर्को, दौडधुपको हतारो, कहिले कामको चटारो, विश्रामको खाँचो, बेफुर्सदको समय ! तर, यस्तो बेला साथी यस्तो होस्– जो मुसुक्क मुस्कुराउँदै मिठो बोली र व्यवहारले ‘हाईहेल्लो’ गर्न आइरहोस्। ‘के छ, कस्तो छ ?’ भनी सोधखोज गरिरहोस्।

प्रत्येक संवादहरूमा जीवनका मर्महरू पोखियोस्। हरेक बोलीहरूमा अनुभवका परिस्कृत स्वरहरू गुञ्जिउँन। भेटका प्रत्येक क्षणहरूमा प्रगतिका चरणहरूले फड्को मारुन्। सधैं आशाको भावनाले बास गरुन्। त्यहाँ कहिल्यै मित्रघात नहोस्।

अर्कोपटक भेट्न साथी आइदियोस्। अर्कोपटक साथी आइदियोस्। साथीको सम्बन्ध यति घनिष्ठ होस् प्रेम–प्रीतिको प्रथम बिहानी जस्तै बनोस्। सम्मानको माला र खादाले गला भरिभराउ भएजस्तै मन गदगद भइरहोस्।

कुर्कुरे बैंसको प्रेम होइन परिपक्व उमेरको विश्वास र आस्थाको प्रेम होस्। त्यसमा समय समर्पण होस्। सद्भाव र हार्दिक शुभेच्छा कायम रहोस्। कदापि पनि त्यहाँ कुनै दिन मनमोटाव नहोस्।

साथी यस्तो होस्। जो जीवनभरिकै लागि सहयागी साथ रहोस्।

अगुल्ठो देख्दा तर्सिएर भागेझैँ विजुली चम्किँदा साथी भागेर कतै लुक्न नजाओस्। साथीले साथीलाई देख्दा तर्किएर टाढिँदै पराइजस्तो नहोस्। दुःखसुखमा साथ रहोस्। खुसीमा मन हाँसोस्। दुःखमा दुःख साटियोस्। यौटा साथीको चोटमा अर्को साथीको मन दुखोस्। सानो दुःख पनि साझा होस्। त्यो दुःखलाई मिलेर मलम पट्टीले निको पार्ने एकता जुटोस्।

साथी यति सहयोगी होस्। आफ्नो स्वार्थमा मात्र नअल्मलिने होस्।

भेटिँदा पुराना कुराहरूको नवीकरण गर्न पाइयोस्। बल्ल भेटिँदा बोल्दै नबोल्ने, नजिकै आउनै मन नगर्ने मन, कुनै साथीको पनि नहोस्। भेटिन मन भइरहोस्। बोल्ने

चाहना जागिरहोस्। मित्रतामा विश्वास कायमै रहिरहोस्। विश्वासघात कहिले कदापि कुनै साथीले पनि कुनै साथीलाई कहिल्यै नगरोस्।

मित्रताको भावना र सम्बन्ध सदा अमर रहोस्। साथीले साथीको सम्मान पनि गरोस्। साथीले साथीको इज्जत, माया र हार्दिक प्रेम गरोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.