लघुकथा : राजनीति
“लक्ष्मणजी, चुनावी प्रतिस्पर्धा कस्तो छ?” मैले लक्ष्मणजी समक्ष जिज्ञासा राखेँ। “घर दैला गरिरहेको छु। हिजो बलिया र खाप तिर गएको थिएँ मतदाताहरु उत्साहित रहेको पाएँ। म प्रति सकारात्मक छन् मान्छेहरु।” लक्ष्मणजीले मेरो जिज्ञासा मेटाउने कोशिस गरे।
लक्ष्मणजीले खानेपानी उपभोक्ता समितिको सदस्य पदमा मनोनयन दर्ता गराएका छन्। उनी कांग्रेस निकट समाजसेवी हुन्। ४ वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन्।
संसदीय चुनाव जस्तो राजनैतिक परिदृष्य झल्कने गरी दलहरु चर्चा पम्प्लेट र माइकिङ गरिरहेको छन्। पार्टीहरुले खानेपानीको चुनावमा समेत राजनीति गरिरहेका छन्। कुन ठाउँमा राजनीति गर्न हुने वा नहुने भन्ने विवेकनै छैन राजनीतिक दलहरुमा।
अहिले त टोल विकासमा पनि राजनीति नै रहेको छ। विद्यालय व्यवस्थापन समितिमा पनि राजनीतिनै भै रहेको छ। स्वतन्त्र हुनु पर्ने संस्थाहरु राजनैतिक खिचातानिको शिकार भै रहेका छन्। दलीय स्वार्थले सामाजिक संघ संस्थाहरु प्रताडित भएका छन्। के जुनसुकै संस्थामा राजनीति गर्नु सान्दर्भिक छ त? खै दलहरुको चेत पलाएको।
मलाई लाग्छ दलहरुको हस्तक्षेप अति भै सक्यो स्वतन्त्र रहनु पर्ने संस्थालाई स्वतन्त्रनै छोडि दिउन्। स्वतन्त्र व्यक्तिहरुले नै नेतृत्व लिउँन्। दलका अवान्छित गतिविधिबाट जनता वाक्क भै सकेका छन्। जनताले दलको विकल्प खोज्ने दिन किन निम्त्याउने? के जनताहरु राजनैतिक दलका भोट बैंक मात्रै हुन त?
प्रकाश तँ किन आदर्शको कुरा गर्छस्? तेरो आदर्श राजनीतिको छेउमा निरीह सावित बनाइन्छ। शौचालय निर्माणमा समेत राजनीति हुने देशको नागरिक भएर तैंले आदर्शको कुरा गर्न सुहाउँछ?
हो मलाई निरीह बनाइएको छ। ब्रम्हले देखेको कुरा भन्न वर्जित छ। मलाई त कुनै दलको राजनीति गर्नु छैन। म स्वतन्त्रतापूर्वक बाँच्न चहान्छु। म मानवअधिकार वादीको पक्षपाती हुँ। मैले स्वतन्त्रता र नागरिक अधिकारनिर्वाध उपभोग गर्न पाउनु पर्छ। मेरो संवैधानिक अधिकार सुनिश्चित छ त?
सुन्दरहरैंचा-६, दुलारी, मोरङ
















Facebook Comment