पाँच दिनभित्र शिक्षा विधेयकमा सहमति जुटाउन मन्त्री पन्तलाई संसदीय समितिको अल्टिमेटम

डिसी नेपाल
२२ असार २०८२ १७:०१
60
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा फेरि पनि विद्यालय शिक्षा विधेयकमा सहमति जुट्न सकेको छैन। सरकारले बढुवासम्बन्धी नयाँ प्रावधान ल्याएको भन्दै विधेयकमा सहमति नजुटेको हो।

समितिका सभापति अम्मरबहादुर थापाले सरकारले नै नयाँ-नयाँ प्रावधान ल्याएर विधेयक अड्काएको आरोप लगाउँदै शिक्षा मन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र सहमति जुटाएर ल्याउन अल्टिमेटम दिएका छन्।

‘पाँच दिनभित्र बहादुरीका साथ सहमति गरेर ल्याउनुभयो भने धन्यवाद दिन्छु। सहमति पनि जे विषय हो त्यसमै गर्नुपर्‍यो। नयाँ एजेन्डा लिएर नआउनुहोला। अबको छैटौं दिन बैठक बस्छ,’ सभापति थापाले भने।

सभापतिले समय दिँदै गर्दा मन्त्री पन्तले समय नतोक्न आग्रह गरेका थिए। ‘अहिल्यै समय नतोकौं। त्यसभन्दा अघि नै पनि बैठक बस्न सकिन्छ,’ मन्त्री पन्तले भने।

सभापति थापाले पाँच दिनअघि जहिले भने पनि बैठक बोलाउन तयार रहेको बताए। तर, अब समितिलाई खेलाउनजस्तो खेलाउन नपाउने उनले बताए।

‘समिति र माननीयहरूलाई खेलाउन जस्तो खेलाएर भएन। घरी बैठक बोलाउ भन्ने, घरी बैठक स्थगित गरौं भन्ने अब मान्य हुँदैन। पाँच दिनभित्र सहमति गरेर आउनुस् कि विधेयक फिर्ता लैजानुस्,’ सभापति थापाले भने। उनले समितिलाई अनिर्णयको घेराबन्दीमा पार्नुभन्दा विधेयक नै फिर्ता लिएर जान मन्त्री पन्तलाई आग्रह गरेका थिए।

उनले व्यक्तिपिच्छे फरक-फरक कुरा सुनेर कानुन बनाउन नसकिने बताए। ‘यही तरिकाले फरक-फरक व्यक्तिको कुरा सुनेर कानुन बनाउन सकिँदैन। पहिले ६०-४० को विषय अड्किएको थियो। अहिले त्यसमा सहमति जुटेपछि बढुवाको विषय अड्किएको छ,’ उनले भने। सभापति थापाले सिनियरिटी र कार्यसम्पादनको हिसाबले माथिल्लो पदमा बढुवा हुने प्रावधान रहेको मन्त्री पन्तलाई जानकारी गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.