परिणाममुखी काम गर्न मन्त्री भण्डारीकाे निर्देशन

डिसी नेपाल
६ पुष २०८२ १६:१५
40
Shares

काठमाडौं । खानेपानीमन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रालय मातहतका सबै निकायलाई गौरवको अनुभूति हुने गरी परिणाममुखी काम गर्न निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा उनले आमनागरिकलाई स्वच्छ, सुरक्षित र शुद्ध खानेपानी उपलब्ध गराउने मार्गमा सबैले इमान्दार भएर प्रयास गर्नुपर्ने बताए।

मन्त्री भण्डारीले खानेपानी नागरिकको आधारभूत आवश्यकता र अधिकार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले प्रभावकारी योजना र कार्यान्वयनमा जोड दिनुपर्ने स्पष्ट पारे।

उनले देशका ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि सुरक्षित खानेपानीको पहुँच नपुगेको भन्दै त्यसलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता जनाए।

“नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था गर्न सबै लाग्नुस्। आवश्यक सहकार्य र समन्वय गर्न मन्त्रालय प्रतिबद्ध छ”, मन्त्री भण्डारीले भने, “हामीले गर्ने कामले आमनागरिकलाई सहजता दिनुपर्छ र त्यसबाट कर्मचारीदेखि नेतृत्वसम्म सबैले गौरवको अनुभूति गर्न सक्नुपर्छ।”

मन्त्री भण्डारीले मन्त्रालय तथा मातहतका कार्यालयमा सुशासन, पारदर्शीता र जवाफदेहितालाई प्राथमिकता दिइने बताउँदै अधुरा र निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिए।

उनले विकास निर्माणका काममा ढिलासुस्ती, लापरबाही र अनियमितता सह्य नहुने स्पष्ट गर्दै जनताको करबाट उठेको स्रोतको सदुपयोग हुनुपर्नेमा जोड दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *