एकीकृत समाजवादीको सचिवालय मंगलबार फेरि बस्ने, झाँक्रीको विषयमा छलफल नै भएन

डिसी नेपाल
२२ असार २०८२ १८:५६
28
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक मंगलबार पुनः बस्नेगरि स्थगित भएको छ। पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले बैठकमा उठेका विचार र सुझावहरूलाई समेटेर निष्कर्षमा पु‍र्‍याउन मंगलबार २४ गते बिहान ११ बजेका लागि अर्को बैठक तय गरिएको बताए।

उनले भने, ‘आगामी कार्यक्रमहरु कसरी लौजाने भन्ने विषयमा पनि बैठकमा छलफल भयो। र बैठकमा बोलेका कुराहरुलाई निश्कर्षमा पुर्‍याउनका लागि र बैठक सक्ने गरि २४ गते ११ बजेका लागि बैठक तय भएको छ। २४ गते ११ बजे बस्ने बैठकले नेताहरुको समग्र धारणाहरुलाई सुझावहरुलाई समेटेर निश्कर्ष निकाल्ने छ। ती निश्कर्षका आधारमा पार्टीले आवश्यक निर्णयहरु गर्नेछ।’

बैठकमा नेताहरूका धारणा राख्ने प्रक्रिया आइतबार सम्पन्न भएको छ। सम्मानित नेता झलनाथ खनालसहित विभिन्न वरिष्ठ नेताहरूले बैठकमा आफ्नो विचार प्रस्तुत गरेका थिए। बैठकमा आगामी पार्टीका कार्यक्रमहरू कसरी अगाडि बढाउने भन्ने विषयमा समेत छलफल भएको ज्वालाले जानकारी दिए।

बैठकमा पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको विषयमा कुनै छलफल नभएको बताइएकाे छ। झाँक्रीले एक सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपाललाई सिनोसँग तुलना गर्दै अब काँधमा हालेर हिँड्न नसकिने बताएकी थिइन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध पतञ्जलि योगपीठको जग्गा घोटाला अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको सन्दर्भमा झाँक्रीले नेपालविरुद्ध अभिव्यक्ति दिएकी थिइन्।

झाँक्रीको उक्त अभिव्यक्तिले एकीकृत समाजवादीमा हलचल ल्याइदिएको छ। पार्टीका केही नेताहरुले झाँक्रीलाई कारबाही गर्नुपर्ने बताउँदै आएका छन्। झाँक्रीको पार्टी सदस्यता नै खोसिनुपर्ने उनीहरुको मत रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.