कविता : पहाड भित्र एउटा सानो गाउँ

प्रकाशचन्द्र खतिवडा
२८ असार २०८२ ७:०४
84
Shares
देश टुक्रिएर खण्डहरु जस्तो भएको छ
पहिलो गाउँ
दोश्रो सहर
र तेश्रो तराई
मान्छेहरु फुटेर श्रृंखलाहरु टुटेको छ
पहिलो सम्पन्न
दोश्रो असम्पन्न
तेश्रो मालिक
र चौथो मजदुर
आकाश पुरै नांगिएको छ
सभ्यता पुरै बांगिएको छ
यी विभाजनका किरिङमिरिङ धर्साहरु
लम्बे चौडे इतिहास सँग टाँगिएर
गरल्याम्म/झरल्याम्म
संभवत
भोलि साँझ
एउटा भुइँचालो आउने छ
र गाउँ स्तब्धित बन्ने छ
दर्जनौं लाशहरुको बिस्कुन सुकाएर।
पहाड भित्र एउटा सानो गाउँ
ढुंगा खोपेर कुलो बनाउन
झम्पलका ट्वाङ् ट्वाङ आवाजहरुमा
निस्तर
बाजेको अभियान
नाति शिरनेधार्य गरि रहेछ
कृत्रिमताको छनक छैन
आधुनिकताको दनक छैन
उज्यालो सपना नदेखेरै
आफैं भित्र व्यस्त छ
पहाड भित्र एउटा सानो गाउँ।
झोपडीमा ठूले तमाखु तान्छ
अँगेनामा ठूली मकै पोल्छे
भान्सामा आमा ढिडो ओदाल्छिन्
खर्कमा बाबु भैसी हकार्छन्
सान्नानीहरु खोरिया फाँड्छन्
सान्दाजुहरु जुनेलो छर्छन्
कृत्रिमताको छनक छैन
आधुनिकताको दनक छैन
परम्परा बचाएर
आफै भित्र व्यस्त छ
पहाड भित्र एउटा सानो गाउँ।
कान्छो खेतमा पर्खाल लाउन जान्छ
कान्छी पँधेरामा पानी भर्न जान्छे
साइली दाउरा खोज्न जंगल जान्छे
साइलो खोलामा माछा मार्न जान्छ
ठूलाकान्छाहरु हाक्पारे गाउँछन्
ठूलीकान्छीहरु पात बजाउँदै
विरह भाखा सुनाउँछन्
कृत्रिमताको छनक छैन
आधुनिकताको दनक छैन
पाखुरी बजाएर
आफैं भित्र व्यस्त छ
पहाड भित्र एउटा सानो गाउँ ।
हर्के सुरिलो बाँसुरी बजाउँछ
भुण्टी भाखा हालेर संगिनी गाउँछे
धने झ्याउरे मादल बजाउँछे
चमेली कम्मर मर्काएर मारुनी नाच्छे
सन्तमानहरु ठाकठुके खेल्छन्
फसाङ सेलो गाउँछ
जसवीर लाखे नाच्छ
बेठी लगाएर खेत रोप्छन्
सिम्मा र पारुहाङ साकेला नाच्छन्
कृत्रिमताको छनक छैन
आधुनिकताको दनक छैन
आफ्नै संस्कृतिमा रमाएर
आफै भित्र व्यस्त छ
पहाड भित्र एउटा सानो गाउँ।
बाहिर विशेष कुनै सम्बन्ध छैन
कहाँ के हुन्छ? थाहा पत्तो छ्रैन
दुर्गम पहाड भित्र
सहरको प्रदूषण छैन
नैतिकताको कुनै अवमूल्यन छैन
मान्छेहरु निष्कलंक छन्
खुट्टा तान्ने परम्परा छैन
दुःख सुख साटी बस्छन्
छलछाम गर्ने बानी छैन
कृत्रिमताको छनक छैन
आधुनिकताको दनक छैन
कान्छी र सानीको पवित्र गंगा बगाएर
स्वच्छन्द नाचिरहेको छ
पहाड भित्र एउटा सानो गाउँ।
गरल्याम्म/ झरल्याम्म
संभवत
भोलि साँझ
भुइँचालो आउला वा नआउला
गाउँलेहरुमा कुनै शंका छैन
प्राचीन कालको मस्त निद्रामा
देश टुक्रिएको ज्ञान छैन
मान्छे चोइटिएको पत्तो छैन
भोलि अस्तित्व चिप्लने हो कि?
कि गाउँको नाउँ लोप हुँदैछ
इतिहासको सुन्दर पानाबाट
कृत्रिमताको छनक छैन
आधुनिकताको दनक छैन
विकासे सपना कोरलेर
आफै भित्र व्यस्त छ
पहाड भित्र एउटा सानो गाउँ।
सुन्दरहरैंचा-०६, मोरङ



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.