कविता : म युद्धको योङ्का यक्ष हुँ
म युद्धको योङ्का यक्ष हुँ,
रगतका रेखाहरूमा अक्षर कोर्दै,
काँधमा घाउका गठ्ठा बोकेर
न्यायका निदाएका देवताहरूको ढोका घच्घच्याउँदै।
म युद्धको योङ्का यक्ष हुँ,
जहाँ बारुदको ब्रह्मास्त्रले
मानवताको मुटु च्यात्छ,
र म त्यस च्यातिएको मुटुमा पनि
आशाको सानो बत्ती बाल्न खोजिरहेछु।
म युद्धको योङ्का यक्ष हुँ,
जहाँ आँसुहरूले कविताका पानाहरू भिजाउँछन्,
र प्रत्येक आँसु, एक अक्षर बन्छ,
जसले इतिहासलाई लेख्न बाध्य पार्छ।
म युद्धको योङ्का यक्ष हुँ,
जहाँ कान गुमाउँदा पनि न्यायका करुण क्रन्दन सुन्छु,
जसको शरीरमा खतै खत छन्,
तर ती खतहरू मौन छैनन्,
तिनीहरू शब्द बनेर चिच्याइरहेका छन्-
“न्याय बिना शान्ति हुँदैन!”
म युद्धको योङ्का यक्ष हुँ,
जहाँ ज्यानको सट्टा न्याय मागिन्छ,
जहाँ मृत्युको मुखमा बाँच्नु नै विद्रोह हुन्छ,
र लाशहरूका आँखामा अझै सपना पलाइरहेका हुन्छन्।
म युद्धको योङ्का यक्ष हुँ,
जसले आगोको बाछिटामा जीवनको चियो खोजिरहेछ,
जसले विषका भेलमा अमृतको थोपा खोजिरहेछ,
जसले बारुदको बास्नामा पनि करुणाको गन्ध सुँघ्न चाहिरहेछ।
म युद्धको योङ्का यक्ष हुँ,
जहाँ काठका सडकहरूमा हिँड्दै
न्यायका नाममा अन्यायको उत्सव देख्छु,
तर म मौन बस्दिनँ,
म रोइदिन्छु, हाँसिदिन्छु, कराइदिन्छु-
किनकि युद्धमा घाइते घाउहरू कविता बन्न चाहन्छन्।
म युद्धको योङ्का यक्ष हुँ,
तिम्रा सुनिने कान, देखिने आँखा, धड्किने मुटु बन्न
रगतको अक्षरमा न्यायको आह्वान लेख्न
फेरि युद्धको यो रणमैदानमा उभिएको छु।
प्रतिक्रिया
















Facebook Comment