‘मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

डिसी नेपाल
१ साउन २०८२ २३:३२
32
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘मेडिकल टुरिजम’ को विकास र प्रवर्द्धनका लागि दन्त उपचारको क्षेत्रलाई विस्तार र व्यवस्थित गरिनुपर्नेमा जोड दिएका छन्। समाज डेन्टल अस्पतालको २५ औँ वार्षिकोत्सवको अवसरमा बिहिबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले मेडिकल टुरिजमलाई आकर्षित गर्नका निम्ति आँखा, दाँत उपचारको विश्वसनियता अझ बढी बढाउनुपर्ने खाँचो औँल्याए।

‘मेडिकल टुरिजमको विकासका लागि दन्त चिकित्साको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसका निम्ति दन्त उपचारको क्षेत्रलाई व्यापक विस्तार र आवश्यक प्रचार प्रसार गर्न आवश्यक छ’, स्वास्थ्यमन्त्री पौडेलले भने, ‘मेडिकल टुरिजमलाई आकर्षित गर्न आँखा, दाँत उपचारको विश्वसनियता अझ बलियो बनाउन र विशिष्टिकृत सेवाको सुनिश्चितता गर्न जरूरी छ।’

स्वास्थ्यमन्त्री पौडेलले मेडिकल टुरिजमका लागि आवश्यक पर्ने कानुनी प्रवन्धहरू र राज्यले सहजिकरण गर्नुपर्ने विषयहरूका निम्ति सरोकारवाला पक्षसँग समन्वय गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे। उनले भने, ‘नेपालको दन्त चिकित्सा क्षेत्र अन्तर्राष्ट्रिय जगतमा पनि विश्वसनिय छ, त्योभन्दा पनि बढी आँखा उपचार विश्वसनिय बन्दै गएको स्थिति छ। दन्त उपचार नेपालमा राम्रो हुन्छ भन्ने सन्देश बाहिर गएको छ।’

स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासमा देखिएका कानुनी उल्झनलाई सहजीकरण गरेर नागरिकको स्वास्थ्य उपचारलाई सरल र सहज बनाउनेतर्फ सरकार लागि परेको विश्वास व्यक्त गरे। उनले समाज डेन्टल दन्त चिकित्सा क्षेत्रमा विशिष्टिकृत उपचार प्रदान गर्ने संस्थाको रूपमा स्थापित भएको भन्दै दाँत स्वास्थ्यसम्बन्धी चेतना आम नागरिकमा फैलाउन पनि भूमिका खेल्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक एवं अस्पतालका संस्थापक श्यामकुमार घिमिरेलेले अस्पतालको सेवालाई देशभर विस्तार गर्ने योजना रहेको बताए। दन्त स्वास्थ्यको क्षेत्रमा जनचेतना, सामान्य मानिसको पहुँच विस्तार गर्ने र आवश्यक जनशक्ति उत्पादन गर्ने लक्षसहित संस्थास्थिापित भएको उहाँले उल्लेख गरे।

समाज डेन्डल अस्पतालका प्रबन्ध निर्देशक शङ्कु घिमिरेले गुणस्तरीय दन्त स्वास्थ्यमा सबैको पहुँच भन्ने उद्देश्यसहित स्थापित संस्थाले विभिन्न आरोह अवरोह पारगर्दै विशिष्टिकृत स्वास्थ्य सेवा प्रदानमा प्रतिबद्ध रहेको बताए। उनका अनुसार विसं २०५८ साउन १ गते स्थापना भएको समाज डेन्टलले हाल काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरी कूल १० स्थानमा सेवा दिइरहेको र आगामी दिनमा देशका ७७ वटै जिल्लामा उपचार सेवा विस्तार गर्ने लक्ष्य रहेको छ। सो अवसरमा प्रवन्ध निर्देशक घिमिरेले रु १ करोड बराबरको उपचार कोष स्थापनाको घोषणा गरे। गरिब तथा विपन्न नागरिकको दन्त उपचारका लागि सहयोग गरिने उनले उल्लेख गरे।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा ३१ का वडाअध्यक्ष सरोज ढकाल, मध्यपुर ठिमी नगरपालिका वडा ३ का वडा अध्यक्ष कृष्णहरि आचार्य, सूर्य बिनायक नगरपालिका वडा २ का वडाअध्यक्ष प्रदीप कार्की, नेपाल डेन्टल एसोसिएसनका महासचिव डा प्रदीप भण्डारी, नेपाल दन्त सामग्री वितरक संघका अध्यक्ष सालिकराम अर्याल, बानेश्वर उद्योग तथा व्यापार संघका अध्यक्ष नविन लुंईटेललगायतले आम नागरिकलाई गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध गराउन सरकार र निजी क्षेत्रको बलियो समन्वय र सहकार्य जरूरी भएको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.