सुक्खाबाट उत्पन्न संकट समाधान गर्न प्रदेश सरकारलाई विपक्षी दलहरुको ध्यानाकर्षण

महेन्द्रनगर (धनुषा)। सुक्खा र पानी अभावका कारण उत्पन्न संकट समाधान गर्न मधेस प्रदेशका प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा प्रतिपक्षी दलका सांसदहरूले आज मुख्यमन्त्री सतिशकुमार सिंहलाई भेटी औपचारिक ध्यानाकर्षणपत्र बुझाएको हो। ध्यानाकर्षणपत्रमा प्रदेशका सुक्खाग्रस्त क्षेत्रमा सिँचाइको तत्काल व्यवस्था, कृषि ऋणमा छुट, मलखादको न्यायोचित वितरण, तथा खानेपानीको अभाव समाधान गर्न तुरुन्त कदम चाल्न आग्रह गरिएको छ।
प्रतिपक्षी सांसदहरूले जलस्रोत संरक्षणका दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले नेपालको जीवनरेखा भनिने चुरे क्षेत्रको दोहन रोक्नु, जलाशय निर्माण गर्नु र सतही तथा भूमिगत सिँचाइ योजनालाई प्राथमिकतामा राखी कार्य अघि बढाउन माग गरे।
ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘मधेस प्रदेशलाई दीर्घकालीन रूपमा जलसंकटबाट जोगाउन चुरे क्षेत्रको संरक्षण र जलाधार व्यवस्थापन अनिवार्य छ। सरकार मौन बस्न पाउँदैन।’ कृषि ज्ञान केन्द्रमार्फत बोरिङ जडानसम्बन्धी जारी गरिएको सूचना झन्झटिलो र विभेदपूर्ण भएको गुनासो गर्दै सबै पालिका समेटिने गरी पारदर्शी प्रक्रिया अपनाउन सरकारसँग माग गरिएको हो। साथै, नदीनाला, कुलो, पैनीहरूका जीर्णोद्धार गरी सतही सिँचाइ प्रणाली व्यवस्थित गर्नुपर्ने माग पनि गरिएको छ।
पूर्वमुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी नेता यादवले अविलम्ब राहतको व्यवस्था नगरेमा चुप लागेर नबस्ने सडकमा उत्रन बाध्य हुने चेतावनी दिएका छन्। ध्यानाकर्षणपत्र बुझाउने टोलीमा जनता समाजवादी पार्टी नेपालसँगै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका प्रदेश सांसदहरूको पनि उपस्थिति थियो।
Facebook Comment