निर्वाचन आयोगले ल्याउन लागेको स्वमूल्यांकन कार्यविधिको कांग्रेस-एमाले बाहेकका दलले गरे विरोध
काठमाडौं। संघीय संसदमा प्रतिनिधित्व गर्ने कांग्रेस र एमालेबाहेकका दलले राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२ संविधान विपरित भएको भन्दै अस्वीकार गर्ने निर्णय गरेका छन्।
बुधबार माओवादी अध्यक्ष प्रचण्डको आह्वानमा सिंहदरबारमा बसेको कांग्रेस र एमाले बाहेकका दलको बैठकले निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ संविधानविपरीत रहेको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको हो।
बैठकले निर्वाचन आयोग एमाले–कांग्रेसको इशारामा चलेको आरोप लगाएको छ। बैठकपछि माओवादी नेता वर्षमान पुनले आयोगले तयार गरेर सुझावका लागि पठाएको कार्यविधिप्रति आफुहरुको आशंका रहेको बताए। दललाई नियन्त्रण गर्नका लागि कार्यविधि प्रेरित रहेकाले ठूला दलको इशारामा आयोग चलेको हो की भन्ने आभाष भएको उनले उल्लेख गरे।
पुनले दलसम्बन्धी ऐन अपूग भए अन्य कानून बनाउने निकाय संसद भएकाले त्यसलाई छलेर आयोगले कार्यविधि बनाउन खोज्नु संविधानको उलंघन भएको जिकिर गरे। दलहरुलाई सहजीकरण गर्नुको साटो निर्वाचन आयोग नियमनकारी निकाय बन्न खोज्नु उचित नभएको उनको भनाइ छ। उनले यस विषयमा कांग्रेस र एमाले बाहेकका दलले साझा रुपमा आयोगलाई पत्राचार गर्ने जानकारी दिए।
त्यस्तै नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संविधान विपरित राजनीतिक दललाई नियन्त्रण गर्नका साथै दुई ठूला पार्टी मात्रै रहने व्यवस्था आयोगले गर्न खोजेकाले विरोध रहेको बताए। कांग्रेस र एमालेकै चाहनाअनुरूप कार्यविधि ल्याउन लागिएकाले साझा रुपमा प्रतिवाद गरिने उनको भनाइ छ।
त्यस्तै रास्वपाका नेता गणेश पराजुलीले राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा रहेका व्यवस्था संविधान विपरित रहेकाले आफूहरु यसको विरोधमा रहेको बताए।त्यस्तै अन्य दलका नेताहरु समेत राजनीतिक दल स्वमूल्यांकन कार्यविधिले दलहरुलाई नियन्त्रण गर्न खोजेको भन्दै विरोध जनाएका थिए।







डिसी नेपाल








Facebook Comment