टिप्पणी : रचनाकार भनेको को हो ?

एक दिनअघि कवि तथा गीतकार शिव पलाँसको फेसबुक पोस्टमा अचानक मेरो आँखा पर्याे। उक्त पोस्टमा उहाँले एक फोटोसहित केही कुरा पोख्नु भएको थियो। पोस्टमा ‘अम्बर गुरुङ संगीतकार हुन्। स्वर हो अरूणा लामाको। यो गीतका रचनाकार राजेन्द्र थापा हुन्। अलि गम्भीर बनौं’ भन्नु भएको थियो।
यो के मसला रहेछ त भनेर फोटोमा क्लिक गरेर हेरेँ। फोटो कक्षा ९ को नेपाली विषयको किताबको चिर्कुट तस्वीर रहेछ जसमा गायिका अरुणा लामाको जीवनीमा अधारित प्रसंग रहेछ र यसपाली त मनै फाट्यो भन्ने गीत अम्बर गुरुङद्वारा रचित भनिएको रहेछ।
गीतकार पलाँसले त्यसमाथि पनि रोष प्रकट गर्दै लेख्नु भएको रहेछ ‘यसरी लेख्ने पनि होइन। पोहोर साल खुशी फाट्दा भनेर स्थायीको पहिलो पङ्ती लेख्ने हो। तेस्रो लाइन झिक्ने होइन। श्रोता- पाठक झुक्किन्छन्’
समाजिक सञ्जालमा उक्त फोटो धेरैले सेयर गर्दै रिस पोख्ने क्रम जारी नै छ। मलाई भने आखिर यो रचनाकार भनेको को हो त भनेर यसो गम्न मन लाग्यो। के संगीतकार चाहिँ रचनाकार होइन त? आउनुस् एकैछिन सोचेर हेरौं। गीतको शरीर भनेको धुन हो। धुनको रचना संगीतकारले गर्छ। त्यसो हो भने गीत भनेको धुन पनि हो।
धुनबिनाको शब्द भनेको ‘निश्चित भइनसकेको धुनलाई लेखिएको रचना’ मात्रै हो। मेलोडीमा शब्द लेख्नु अथवा शब्दमा मेलोडी भर्नु जसरी सोच्दा पनि संगीतकार पनि गीतको रचनाकार नै हो। फरक यति हो उसले धूनलाई अक्षर वा अल्फाबेटहरूको माध्यमद्वारा सरगम,स्वर वा नोटहरूमा लेख्छ। अथवा म्युजिकल सिम्बोलहरूको माध्यमद्वारा ‘नोटेसन’ मा लेख्छ।
साँच्चिकै भन्ने हो भने शब्दभन्दा पनि धुन वा लय नै संगीतको युनिभर्सल भाषा पनि हो। शब्दहरू त देश,जाति,समुदाय वा क्षेत्रमा बाँडिएका हुन्छन्। संगीत मात्रै एक वैश्विक साझा भाषा हुन्छजसलाई कुनै न कुनै ध्वनिले व्यक्त गर्नु पर्ने हुन्छ। संगीतका लागि ध्वनि अनिवार्य हो ,शब्द ब्याख्याता हो।
भारतीय भेट्रान जावेद अख्तरले दिनुभएको व्याख्या मलाई औधी मन पर्छ। उनका अनुसार यदि गीत सुन्दर स्त्री हो भने लिरिक्स (शब्द) त्यस स्त्रीको चरित्र हो। त्यस स्त्रीसँगको सम्बन्धको टिकाउ उसको चरित्रमा भर पर्छ न कि रंगरूपमा। यद्यपि चरित्र हुनलाई सुरुमा त रूप अर्थात् शरीर नै चाहियो।
एक पटक सोचेर हेरौं । शुभ बहादुर सुनामले जिन्दगीमा कति गीतमा सैक्सोफोनको धुन भर्नु भयो होला? संगीतकारले नसिकाएका कति धुन आफैं रचना गरेर गीतको मर्मलाई योगदान दिनु भो होला? यसरी हेर्दा प्रत्येक राम्रो ‘इन्स्ट्रुमेन्टलिस्ट’ पनि रचनाकार नै हुन्।
प्राविधिक रूपमा भन्नु पर्दा सामान्य कर्ड र रिदम बजाइदिएर जागीर खाइरहेका वाद्यवादकहरूलाई छोड्ने हो भने सबै क्रियटिभ वाद्यवादकहरू रचनाकार नै हुन्। अझ ब्यान्ड संस्कृतिमा त रचना आफैंमा एक साझा कर्म र साझा सम्पत्ति हुन जान्छ।
‘परेलीमा लुकाइराख न..’ भन्ने १९७४ ब्यान्डको गीतमा प्लकिङको भाग कसलाई फुर्याे अथवा गितारको लिड कसले रच्यो, शब्द क-कसले कोरे भन्ने कुरा गौण हुन जान्छ। केवल गीतको सम्पूर्णतामा त्यसको अर्थ झल्कन्छ। त्यसैले प्रत्येक गिटारिस्ट,प्रत्येक ड्रमर या फ्लुटिस्ट आफैमा एक रचनाकार हुन्।
आवाजको रजनाकार, कर्णप्रिय साउन्डको जन्मदाता हुन्। नेपाली चलचित्र अल्लारेको ‘रातो टीक निधारमा टलक्कै टल्कियो..’ भन्ने गीतमा बाँसुरीको जुन धुन छ त्यसैमा आधारित भएर अर्को एउटा नयाँ गीतै बनाउन सकिने ठाउँ छ। त्यो धुनको सर्जक रचनाकार हो कि होइन? निसन्देह हो।
उसो भए के गायक पनि रचनाकार हो? हो, एउटा असल गायक पनि रचनाकार नै हो। जब ऊकहाँ कुनै एउटा कच्चा गीत आइपुग्छ तबदेखि त्यो गीतलाई कस्तो आवाजले न्याय गर्ने भनेर ऊभित्रको सिर्जनशीलता जाग्नु पर्छ।
चलचित्र दक्षिणाको ‘यो मुटुलाई कसरी सम्झाइ बुझाऊँ…’ भन्ने गीतमा स्वरसम्राट नारायण गोपालले जुन भ्वाइस दिनु भएको छ त्यो अरू गीतमा पाइन्न। त्यो पीडा मिश्रति वजनदार भ्वाइसको फ्लेवर निकाल्न उनले एक डब्बा आइसक्रीम खाएर रेकर्ड गरेका थिए रे भन्ने किस्साहरू सुन्न पाइन्छ जब कि चिसो र गुलियो खानेकुरा गलाको लागि खराब चिज हो।
बलिउडका आजका चल्ताफिर्ता गायक अरिजित सिंहले पनि आफूले आफ्नो स्वर ‘तोडतोडके’ बनाएको भन्ने गरेका छन्। त्यसैले गीतको भावलाई न्याय गर्ने जिम्मेवारी मूलरूपमा गायककै हुने भएकोले गीतको प्रकृति हेरी आफ्नो आवाजमा नवीनतम प्रयोग गर्न सक्ने खुबी उनमा हुनैपर्छ। र त्यसरी सिर्जनात्मक प्रयोग गर्दा ऊ स्वयंको गलाको लागि त्यो एक नयाँ ‘टेक्स्चर’ को रचना हुन पुग्दछ। एक सफल गायकको रंग हरेक नयाँ गीतमा नयाँ देखिनु हो । त्यही नयाँपनको ऊ रचनाकार हो।
के उसो भए माथि सुरुमा प्रस्तुत पुस्तकमा भएको कमजोरीको सन्दर्भमा यी सब कुराहरू बुझेर नै पुस्तकको लेखक/प्रकाशकले त्यसरी रचनाकार अम्बर गुरुङ हुन् भनेर उल्लेख गरेको होलान् त? यहाँनिर ‘बेनेफिट अफ डाउट’ दिने ठाउँ अलिकति पनि छैन।
किनभने गीतकार राजेन्द्र थापालाई सम्पूर्ण रूपमा गायब पारिएको छ। उनीप्रति अन्याय भएको छ। त्यसैले यो सरासर त्रुटिपूर्ण छ। याद राख्नु पर्ने कुरा के छ भने नेपाली विषयमा जान्ने हुनु भनेको केवल व्याकरणमा अब्बल हुनु, राम्रा अक्षर लेख्नु र धेरै अंक प्राप्त गर्नु मात्र होइन।
मुख्य कुरा नेपाली संगीत,कला र साहित्यमा कतिको जानकार छ भन्ने नै हो। नेपाली विषयका शिक्षक गीत/संगीत र कला साहित्य बुझेको, हँसिलो, रमाइलो र फूर्तिलो स्वभावको हुनुपर्छ, न कि सबैले छाडेको विषय भनेर हेपिएको भावनाले ग्रसित कुनै दु:खी आत्मा जस्तो उदास। त्यसो नहुने हो भने यस्ता गल्तीहरू अरू सय पटक फेरिफेरि पनि दोहोरिने छन्।
Facebook Comment