रवि लामिछानेलाई सेवा सुविधामा विभेद नगरी बसाइको व्यवस्था मिलाइएको छः कारागार प्रशासन

लुम्बिनी। कारागार कार्यालय रूपन्देहीले सहकारी ठगीसम्बन्धी मुद्दामा भैरहवा कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको सुरक्षालाई ध्यानमा राखी व्यवस्थापन गरिएको जनाएको छ। कारागार प्रशासनले आज जारी गरेको विज्ञप्तिमा उनको कारागार बसाइको व्यवस्थाका लागि एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको जनाएको छ।
रूपन्देही कारागार प्रशासक सुरेश भण्डारीले जारी गरेको विज्ञप्तिमा हाल निलम्वनमा रहनुभएका प्रतिनिधिसभा सदस्य लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा थुनुवाका रूपमा विगत चार महिनादेखि उक्त कारागारमा रहेको जनाइएको छ। लामिछानेलाई समयसमयमा भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधानसमेत गर्ने गरेको विज्ञप्तिमा जनाइएको छ।
कारागार कार्यालयको विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति कार्यालयको गम्भीर ध्यानकर्षण भएको र समाचारमा प्रकाशित तस्बिर यस कारागारभित्र रहेको भवनको नभएको र समाचारमा उल्लेख भएजस्तो अवस्था नरहेको जनाइएको छ।
विज्ञप्तिमा थुनुवा लामिछानेलाई अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उनलाई पनि कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको र उनले चाहेको खण्डमा मात्र बाहिरबाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको उल्लेख गरिएको छ।
सुरक्षाका दृष्टिले कारागार संवेदनशील क्षेत्र भएको र कारागारसँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सृजना हुनेगरी चित्र तथा सामग्री नराखिदिन विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।
Facebook Comment