‘कामदार अलपत्र पारेर अध्यक्ष लिन जहाज हङकङ’ भन्ने समाचारप्रति निगमको आपत्ति
काठमाडौं। नेपाल वायुसेवा निगमले केही सञ्चार माध्यममा प्रकाशित ‘कामदार अलपत्र पारेर अध्यक्ष लिन जहाज हङकङ’ भन्ने समाचारलाई आधारहीन, भ्रामक र दुष्प्रचारपूर्ण भन्दै खण्डन गरेको छ।
निगमले मंगलबार विज्ञप्ति गर्दै नियमित उडान तालिकाअनुसार हङकङ उडान भएको भए पनि त्यसलाई विषयान्तर गरी गलत ढंगले प्रस्तुत गरिएकोमा दुःख प्रकट गरेको छ।
विज्ञप्तिमा एउटा जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं-दम्माम सेक्टरको उडान रद्द गरिएको उल्लेख छ। होल्ड भएका यात्रुलाई निगमकै खर्चमा बासको सुविधा दिइएको र अर्को दिन वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइएको निगमले जनाएको छ।
उक्त दिनको हङकङ उडानमा कार्यकारी अध्यक्ष युबराज अधिकारी, मार्केटिङ डाइरेक्टर टंकनिधि दाहाल र वरिष्ठ पाइलट विजय लामाको संयोगवश उपस्थितिमात्र परेको निगमले स्पष्ट पारेको छ।
निगमका अनुसार यो भ्रमण एक महिना अगाडि नै स्वीकृत भएको योजना हो, जसको उद्देश्य उडान सेवा विस्तार, बजार सुदृढीकरण, कार्गो तथा यात्रु सेवा सुधार र स्थानीय सरोकारवालासँग प्रत्यक्ष छलफल गर्नु रहेको थियो।








डिसी नेपाल








Facebook Comment