अमेरिकाबाट नेपाली मतदातालाई अनुरोध पत्र
स्वदेश तथा विश्वका कुनाकाप्चामा रहनुहुने सम्पूर्ण आदरणीय नेपाली मतदाता महानुभावहरू, प्रणाम!
हामी सबै एउटै माटोको सन्तान, एउटै इतिहासका उत्तराधिकारी, र गौरवशाली नेपाल राष्ट्रका सचेत नागरिक हौँ। समय र परिस्थितिले हामीलाई धर्तीका विभिन्न भूभागमा कर्मका लागि पुर्याए पनि हाम्रो मन, माया र पहिचान सदैव नेपालमै धड्किरहेको छ।
नेपालमा हुन गइरहेको यो चुनाव केवल संवैधानिक प्रक्रिया मात्र होइन-यो हाम्रो साझा भविष्यको दिशा तय गर्ने ऐतिहासिक घडी हो। यो निर्णयले राष्ट्रको गति, समाजको स्वर, र आउने पुस्ताको सम्भावनालाई आकार दिनेछ।
हामीलाई विश्वास छ-चुनावमा होमिनु भएका हरेक दल र नेताहरूमा राष्ट्रप्रेम, सेवा भाव, वैज्ञानिक परिवर्तन र समर्पणको उज्यालो चाहना अवश्य छ। तर, यो निर्णायक मोडमा हामी सबैले एकपटक शान्त मनले, छातीमा हात राखेर, शहीदहरूको अमर बलिदान सम्झेर सोचौँ-
कुन निर्णयले नेपाललाई स्थिरता दिन्छ?
कुन छनोटले सुख, शान्ति, सद्भाव र समृद्धिको ढोका खोल्छ?
यो पटक विनम्र आग्रह छ-सिद्धान्त र नाराभन्दा माथि उठेर, राष्ट्रहितलाई केन्द्रमा राखेर, विवेक र जिम्मेवारीका साथ सही विकल्पलाई बहुमत प्रदान गरौँ। परिवर्तनको सपना केवल अपेक्षाले होइन, सही निर्णयले साकार हुन्छ।
गत चुनावमा मैले सिर्जना गरेर यहाँहरू समक्ष पठाएको कविता, फेरि एकपटक यही पवित्र भावनासहित समर्पण गर्न चाहन्छु। कृपया श्रवण गरी अनुभूति गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु।
नेपालको उज्यालो भोलिका लागि-हामी सबै नेपाली, गैर आवासीय नेपाली तथा सबै नेपाली मूलका मनहरू एकजुट बनौँ।
– हार्दिक धन्यवाद तथा कृतज्ञता।
अमेरिकाबाट – कवि कवीन्द्र सिटौला
No ads found for this position


Facebook Comment