खाइराइड हास्यव्यङ्ग्य पुरस्कारका लागि निबन्ध आह्वान
नेपाली हास्यव्यङ्ग्य साहित्यको दीर्घकालीन प्रवर्द्धन गर्ने उद्देश्यले ‘खाइराइड निबन्ध सङ्ग्रह’ का सर्जक राजेन्द्र कार्कीद्वारा स्थापित ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ हरेक वर्ष फरक विधामा प्रदान गरिन्छ । यस वर्षको प्रतियोगिता निबन्ध विधामा हुनेछ ।
नेपाली हास्यव्यङ्ग्यको विश्वव्यापी अभियानमा जुटेको बाङ्गा अक्षरले यो पुरस्कारको व्यवस्थापन गर्नेछ । यस खाइराइड हास्यव्यङ्ग्य पुरस्कारको प्रतियोगितामा भाग लिन विद्यालय तहमा अध्ययनरत नेपालीभाषी विद्यार्थीहरूबाट हास्यव्यङ्ग्य निबन्धको माग यसै सूचना मार्फत गरिएको छ । खाइराइड हास्यव्यङ्ग्य पुरस्कार चार जनालाई प्रदान गरिनेछ । पुरस्कारको राशी प्रथम – रू २०,००० (बीस हजार), द्वितीय – रू १०,००० (दश हजार) र तृतीय (दुई जना) – जनही रू ५,००० (पाँच हजार) हुनेछ ।
धेरैभन्दा धेरै विद्यार्थीहरूलाई यो प्रतियोगितामा भाग लिन प्रेरित गरिदिनुहुन अभिभावकहरू, साहित्यानुरागी र सम्बद्ध सम्पूर्णमा बाङ्गा अक्षर विनम्र अनुरोध गर्दछ। आफ्ना सम्पर्कमा रहेका विद्यालय र विद्यार्थीमा यो सूचना उपलब्ध गराइदिनुहुनसमेत बाङ्गा अक्षर निवेदन गर्दछ।
हास्यव्यङ्ग्य निबन्ध प्रतियोगितामा भाग लिनका लागि निम्न बमोजिमका शर्तहरूको पालना गर्नुपर्ने छ :
१. यस प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने जुनसुकै देशका नेपाली भाषी विद्यार्थीले भाग लिन सक्नेछन् । भाग लिने विद्यार्थी कुन कक्षामा पढ्दै गरेको भन्ने जानकारीका लागि विद्यालयको प्रधानाध्यापक वा प्रिन्सिपलद्वारा लेखिएको औपचारिक सिफारिश पत्र निबन्धसँगै पठाउनु पर्ने छ ।
२. निबन्ध मौलिक हुनुपर्ने छ ।
३. निबन्ध कम्तिमा ११०० र बढीमा १८०० शब्दको हुनु पर्नेछ ।
४. निबन्ध देवनागरी लिपिमा टाईप गरेर पठाउनु पर्ने छ । शुद्धा शुद्धीलाई बिशेष रूपमा ध्यान दिनु पर्ने छ ।
५. एआई वा चोरी र नक्कल गरी लेखिएको निबन्धलाई प्रतियोगितामा समावेश गरिने छैन ।
६. निबन्ध जुनसुकै विषयमा पनि लेख्न सकिन्छ । निबन्धले प्रवृतिलाई व्यङ्ग्य गरको हुनु पर्नेछ। तर कुनै व्यक्ति, जात, धर्म, वर्ण, सम्प्रदाय र लिङ्गलाई व्यङ्ग्य वा गाली गलौज गरिएको निबन्ध स्वीकार्य हुने छैन ।
७. प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीहरूले २०८२ साल कात्तिक २५ गतेसम्म बाङ्गा अक्षरको इमेल ठेगाना bangaakshar@gmail.com मा आफ्नो निबन्ध, एक प्रति फोटो र छोटो व्यक्तिगत विवरण सहित पठाउनु पर्नेछ ।
८. निबन्ध पठाउदा WORD फाइल र PDF दुबै फर्म्याटमा पठाउनु पर्नेछ।
प्रतियोगिताका लागि प्राप्त भएका निबन्धहरू बाङ्गा अक्षरद्वारा नियुक्त निर्णायक मण्डलले अध्ययन गरेर उत्कृष्ट रचनाहरू पुरस्कारका लागि सिफारिस गर्नेछ । यसरी सिफारिस गरिएका रचनाहरूलाई २०८२ पुष १२ गते बाङ्गा अक्षर स्थापना दिवसको उपलक्षमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ ।







डिसी नेपाल








Facebook Comment