तराईको अपरिहार्य संस्कृतिभित्र घुर…
राजेश खनालको ‘घुरको धुवाँ’ (संस्मरणसंग्रह)को आवरण आइडियल डिजाइनर्स सुन्दर श्रेष्ठको पारंगत कौशलताले घुुरको विम्बलाई जीवन्त रुपमा उत्तारेका हुन भन्ने अनुभूति हुन्छ। यसमा शंका छैन।
पुस्तकको अर्कोपट्टिको आवरणको माथि स्रष्टाको आकर्षक तस्बीर छ। त्यसमुनि धीरेन्द्र प्रेमर्षि एवम् श्रीओम श्रेष्ठ रोदनद्वयले प्रस्तुत पुस्तकका सन्दर्भमा व्यक्त गरेका उद्गार छापिएका छन्। पुस्तक हातमा लिई सुमसुम्याउँदा नै पाठकका आँखा त्यतैतिर तेर्सिन्छन्। ती उद्गार साँच्चै शक्तिशाली छन्। अनि त संस्मरणका प्रत्येक पोका (थैली)को सुर्काउनी खुकुल्याई दिएको बोध गर्न सकिन्छ।
अझ, खासमा “‘घुरको धुवाँ’ मा रङगमगिएको एउटा म” शीर्षकमा डा. राजेन्द्र विमलज्यूले सरल र रोचक शैलीमा पुस्तकको पृष्ठभूमिको संकेत गर्दै भूमिका लेखी पाठकलाई पुस्तक पढ्नप्रति प्रेरित गर्नु भएको छ।
बहुप्रतिभाका धनी लेखक कुशल पत्रकार, साहित्यकार राजेश खनालका अठारवटा स्मृति विम्बका १३९ पृष्ठको पुस्तक कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठी (दोस्रो संस्करण सुन्दर स्वदेश प्रकाशन)ले प्रकाशित गरेको रहेछ। र पुस्तक प्रकाशकीयकै सन्दर्भमा किरण थापाज्यूले पनि “तत्कालको त्यो घटना स्मरण गर्दा आज मेरो मन मस्तिष्कमा पनि तमाम मधेशका स्मृतिहरु स्वतः आइरहेका छन्” भनी प्रकाश पार्नु भएको छ। यो प्रशंसनीय पक्ष हो।
मैले तापेको घुर, शीर्षकमा स्रष्टाले आफू जन्मिए, हुर्किएर बढेको, खेलेको, डुलेको, पढेको धरा मधेशप्रतिको मोह आज पनि मेरो मनमा भकारी भरिए झैँ भरिएको छ भनी लेख्नु भएको छ।
महोत्तरी, जलेश्वरमा जन्मिएँ। मामाघर सिरहाको भलुवाही र घर जलेश्वरमा हुर्किएँ। जागिरे बुवाको सरुवासँगै जनकपुर, वीरगंज, सप्तरी हनुमाननगरतिरै पछि लागेँ। बुवाको यो दौडादौडले गर्दा नै होला, आमाले हामीलाई भलुवाही छोडिदिनु भयो।
स्रष्टाका मावली गाउँका सबै आफन्त हुनाले गाउँकै भाञ्जा भएको प्रसंग रमाइलो छ। र भलुवाही, जलेश्वर हुँदै बाल्यकाल र किशोरकाल बिताएको हुँदा देहात् भए पनि त्यहाँको स्मृतिको धङधङीले लेखकलाई छाडेन। र, नै यो ग्रन्थले सिर्जित हुने अवसर पाएको हो।
स्रष्टाले भोगेको बाल्यकालीन प्रसंगका १८ वटा सस्मरणका पोकाहरु फुकाउँदै र पढ्दै जाँदा पाठकका पनि आफ्ना विगतका दृश्य आँखैअघि पक्कै सल्वलाउँछन्। यसले अतीतलाई वर्तमानमा ब्यूँत्याई दिन्छ। यस अर्थमा संस्मरण शक्तिशाली लाग्दछ। अनि त रोचक, पठनीय एवम् प्रशंसनीय घुरको धुवाँ स्वस्थकर छ।
अब भने, घुरको धुवाँको अठारवटै शीर्षकका सन्दर्भतर्फ लागौँ न त।
डिबियाको उज्यालोमा पुस्तक, अचम्मको समय थियो। यतिबेला सम्झिन्छु आफूले पनि विनाबिजुली नानाभाँतीका उपन्यासका पाना पल्टाइयो। सधैँ लालटिन पाइँदैनथ्यो। झोल औषधीको सानो सिसीको बिर्कोमा प्वाल बनाएर कपडाको सलेदो हालेर डिबिया बनाइन्थ्यो। अनि त्यसमा मट्टितेल हालेर घण्टौं बालेर ती उपन्यासलाई पार लगाइन्थ्यो। जबकि कोर्सको किताब पढ्दा त्यही डिबियाको धुवाँले नाक र आँखा पोल्थ्यो भनेर बहाना बनाउदै चाँडै निदाइन्थ्यो। (पृष्ठ २४)
लुकीलुकी खैनी च्याप्नु, कसैकसैले खैनीको धुलो नाकमा नस हाल्नु, वार्डनले सिरानी उचालेर खैनीको डब्बा फेला पार्नु, लुकीलुकी हिन्दी उपन्यास पढ्ने गरेका कुरा पद्ढा रोचक लाग्छन्।
सीता बिंडी खाइरहेकी छिन््, त्यो चिसो रातमा रामलीला हेर्दा हेर्दै कम्लुमामालाई पिसाबले च्यापो। १२–१५ वर्षका उनी मञ्चको पछिल्तिर पिसाब फेर्न गए। त्यहाँ उनले जुन दृश्य देखे, त्यसले उनको दिमाग रन्थनियो। हतारहतार पिसाब फेरेर भिडमा फर्किए र आमालाई सुनाए, “आमा, आमा। पछाडि सीता भगवान् त बिडी खाइरहेकी छिन्।” (पृष्ठ २७)
कम्लु मामाको कुरा सुनेर आमाहरु सबै हाँसे। कम्लुमामाले कुरा बुझ्न सकेनन्। आमाहरु किन हाँसे ? शायद सीताको भूमिकामा अभिनय गर्ने ती केटा मान्छे हुन् भन्ने आमाहरुलाई थाहा थियो। त्यसैले हाँस्नु भयो।
सुन्दर मामाका सुन्दर स्मृति, म सम्झिरहेछु त्यो रङ्गमञ्च-जहाँ मेरा मामा र फुपाजू स्टेजमा उक्लिएर प्रहसन भन्थे
‘लखपतिया जनकपुर कितना दूर है ?’
‘चलिए चलिए हजुर, अब थौड्वे दूर है।’ (पृष्ठ ३३)
प्रत्येक दशैं गाउँमा नाटकको आयोजना गरिन्थ्यो। र नाटकमा लेखकका मामाहरु नेपालका ख्यातिप्राप्त प्रथम सर्जन डा. अञ्जनीकुमार शर्मा र सुन्दरमणि उपाध्यायको विशेष भूमिका रहन्थ्यो। उहाँहरु दुवैले भलुवाहीको साँस्कृतिक परिवेशलाई थप उज्यालो बनाएका थिए।
न्यारोगेज नोस्टाल्जिया,मा त्यसताका गुडिरहेको रेलबाट मानिस ओर्लेर “पिसाब” गरेर चढ्न भ्याउँछन् भन्ने आहान एनजेजेआरका लागि प्रयोग हुन कहिल्यै बन्द भएन। कहिलेकाहीँ रेल्वे लिक वरपरका गाउँका मानिस दगुर्दै आएर गाडी चढ्छन पनि नभनिएको होइन। हो पनि। किनभने जनकपुर जयनगर २९ किलोमिटरको यात्रामा रेलले करीब साढे तीन घण्टाको समय जो लिन्थ्यो। (पृष्ठ ४१)
जयनगर जनकपुर रेल चढेर सिनेमा हेर्न जाँदा हनुमान टाकिजका मच्छडको टोकाइ, जयनगरका हलमा र जयहिन्द हलमा सिनेमा हेर्न जाँदाको दृश्य अनि मिठाई, खजुरीमा प्याजी पकौडा खाएको स्वाद आदिको मीठो सम्झनाको वर्णन गरिएको पक्ष रोचक लाग्दछ।
तिर्सनामा सुकेको रोटी, नेपाली नाटक गाउँमा भेटिएन। सिराहाको सिमावर्ती बजार जयनगर पुगेर ‘एक सुखी हुई रोटी’ किनेर ल्याएका थिए, मभन्दा पाकाहरुले। अवधेश दाइले त्यही हिन्दी नाटक नेपालीमा उल्था गरे। उल्थासँगै पात्र पनि चयन गर्दै गए। (पृष्ठ ४६)
भलुवाहीमा हिन्दी नाटक ‘सुखी रोटी’लाई नेपालीमा उल्था गरी नाटक खेलेको मीठो सम्झनाका रोचक प्रसङ्गहरु छन् पुस्तकमा।
विस्मृतिको गर्तमा छोपिएको स्मृति,मा अहिले पनि हरियाले फोन उठाउनासाथ भन्ने गर्छ, “कही बौवा, कथि हाल खबर है ? भेटोघाट नै होइहौ।” ऊसँग कुरा गर्दा म काठमाडौंको कुनै कुनोमा रहे पनि भलुवाही वा जलेश्वर मै रहन्छु। हरिया रहन्छ थलाहातिर। (पृष्ठ ५१)
रेश्माबाईको नौटंकी हेर्न अँध्यारो रातमा हिँडेको कथासँगै जनकपुर, जलेश्वर र सिराहासँग आफू गाँसिएकोले भ्याएसम्म लोकल लवजमै बोल्ने प्रसङ्गले संस्कार संस्कृतिप्रतिको शुद्ध भाव जगाएको अनुभूति हुन्छ।
घुरको धुवाँमा बडो मिहिनेतकासाथ घुर बल्थ्यो। तिनताक बिजुली पुगेको थिएन गाउँमा। लालटिनभन्दा बढी डिबिया (टुकी) कै प्रयोग अधिक हुन्थ्यो। कहिलेकाँही घुरले घुर्की देखाउँदा त्यही लालटिन अथवा डिबियाबाट मट्टितेल खन्याएर घुर दन्काउथे सीताराम, जुगुत, बस्देव र मंगलाहरु अनि जगमगाउँथ्यो सारा दरबज्जा, झलझल। (पृष्ठ ५७)
गाउँघरमा घुरको विशेष महत्व हुन्छ। घुरको वरिपरि छरछिमेकहरु झुम्मिएर बस्ने, एकता र समताको थलोको रुपमा रहेको भनी चित्रण गरिएकोले रोचक विम्ब बनेको भान हुन्छ। घुरको धुवाँले गाउँको संस्कृति झल्काएको हुन्छ नै।
अन्धडको टिकुलामा जब चैत–वैशाखमा अन्धड बिहाइर चल्थ्यो, टिकुला र ठूलै आँप पनि भटाभट झर्थे। आफ्नो गाछीको आँपमा अरुले रजाई नगरुन् भनेरै अन्धड आउनु अघि नै सबै घरका हजुरआमाहरु, मामाहरु, बोरा र ढकिया बोकेर फूलबारी दगुर्न तम्तयार रहनु हुन्थ्यो। (पृष्ठ ६५)
हावा हुण्डरीले आँपका चिचिला (टिकुला) झार्ने हुँदा, टिकुला टिप्नेहरुको भीड, जातजातका आँपहरु काँचै चपाएको र हजुरआमाले कच्चा, फँडा र खटमिट्ठी अचार बनाएको पनि लेखकले सम्झनामा राखेको सन्दर्भ रमाइलो लाग्दछ।
त्यो शुक्रबारे लकडाउन- त्यसैबेला शायद कसैले बार्दलीको घोप्टे तानेर चुकुल लगाइदिए। हामी आठ केटाको आँपगाछीमा गएर उछलकुद गर्ने योजनामा ह्वाल-ह्वाल्ती पानी-पोखियो। त्यहाँबाट उम्किने अरु कुनै उपाय नै थिएन। (पृष्ठ ७०)
ऊबेला शुक्रबारे सन्तोषी माताको व्रत लिने गरिन्थ्यो। सन्तोषी मातामाथि हाम्रा आमा, दिदीबहिनीहरुको ठूलो आस्था विश्वास थियो। प्रसाद ग्रहणपछि अमिलो खान वर्जित हुनाले अष्टमूर्तिलाई बार्दलीमा राखी घोप्टे लगाइएको प्रसङ्गलाई रोचक शैलीमा कोरोनाको लकडाउनसँग दाँज्दै कोरोनाकालमा घोप्टे जरुरी भएको सन्दर्भलाई लेखकले जोेडनु भएको छ।
भलुवाहीदेखि भलुवाहीसम्म- डाक्टरमामा काठमाडौंदेखि सपरिवार भलुवाही पुग्नु हुन्थ्यो। त्यसताका काठमाडौंदेखि भलुवाहीसम्मको यात्रा सजिलो थिएन। तथापि, कसैगरी मामा, माइजू, अनिता दिदी र अनिल, सुनिल दाजु भलुवाही पुग्नु नै हुन्थ्यो। कारण बाबाको हातको टीका सितिमिती मामा माइजू छोड्नु हुन्थेन। (पृष्ठ ७४)
भलुवाहीमा स्रष्टाले किशोरवयमा बिताएका सम्झनाका पोका खोल्दै नेपाली समाजमा दशैंको महत्वमाथि प्राकश पार्नु भएको अनुभूति हुन्छ।
भोरहरवी भजनको शोले सनक- मावल बस्दा यस्तो आवाजको संसार थिएन। किनभने, बिजुली थिएन। डिबिया, लालटिन र मेन्टुलको उज्यालोले साँझ चहकिलो हुन्थ्यो। मैन्टुल कसै कसैकोमा बल्थ्यो। त्यो पनि पवनी र त्योहारको बेला। (पृष्ठ ८०)
आफ्नो बाल्यकालमा मावल भलुवाहीको अवस्थासँगै शहरोन्मुख जलेश्वरमा समेत बिजुली (तारबत्ति) थिएन। गाउँ परिवेशसँगको एकाबिहान सबेरै घरघर, मठ मन्दिरको भजन, मस्जिदको प्रार्थनाले तान्दथ्यो भने, अर्कोतिर त्यो शोले फिलिम नहेरी मन थामिनेवाला थिएन।
त्यही शोले फिल्म हेर्ने सनकले भोग्नुसम्म भोग्नु परेको हण्डरको प्रसङ्गले शुरु शुरुमा शोले फिल्म चल्दै गर्दा हेर्न जाँदा, लेखकले झैँ पाठकले पनि भोगेको अनुभूत हुन्छ। आफूले पनि विराटनगरको जलजला हलमा झण्डै पुलिसको डण्डा भेटेको सम्झना गरेँ।
बाईजी नाचको झट्का- हाम्रा लागि मनोरञ्जनका साधन तिनै थिए। कहिले रामलीला, कहिले कब्बाली, कहिले पटना मुजफ्फरपुरबाट आएका बाईजी सम्मिलित थिए। पैसा तिरेर सिनेमा हेर्नु सपना नै हुन्थ्यो। (पृष्ठ ९१)
उसबेला मनोरञ्जनको साधन बाइजीको नाचगान नै हुन्थ्यो। कहिले हिउँदमा रामलीला, कबाली अनि कहिलेचाँहि पटना, मुजफ्फरपुरबाट आएका थिएटर चल्थे। लेखकले इमानदारीपूर्वक पैसा तिरेर सिनेमा हेर्ने हैसियत नभएको भनी लेख्नु भएकोले प्रायः उमेरले पाका पाठकहरुको आ–आफ्ना अतीतलाई कोट्याई दिनु भए झैँ लाग्दछ।
जन्मभूमिमा अन्तिम शिविरमा किन्चित थकान महसूस नगरिकन हजारांैको उपचारमा लागेका चिकित्सकहरुको त्यो कार्य सिङ्गो भलुवाही गाउँलाई अभिप्रेरित गर्ने खालको थियो। मामा (अञ्जनी) त दङ्ग हुनुहुन्थ्यो नै, कहिले तराई नटेकेका डाक्टर र नर्सहरु पनि फुरुङ्ग थिए। (पृष्ठ १००)
प्रसिद्ध डा. अञ्जनीकुमार शर्मा र डा. गौरीशंकर लालदासको टीमका २५ जना चिकित्सकहरुले गाउँमा स्वास्थ्य शिविर चलाएको प्रसङ्गले डाक्टरहरुमा भएको उच्च सेवाभावलाई जीवन्तता दिएको प्रसङ्ग भने उदाहरणीय छ।
तिर्न नसकेको त्यो पाँच रुपैयाँ, मेरो मानसपटलमा त्यो पाँचको नोट आज पनि नाचिरहेको छ र त्यसैले तिरिमिरीझयाइँ पनि पारिरहेको छ। कारण, त्यो पाँच रुपैयाँ मैले आजसम्म तिर्न सकेको छैन। (पृष्ठ १११)
तिर्न नसकेको त्यो पाँच रुपैयाँ शीर्षकले त्यति बेलाको रुपैयाँको महत्व कति ? र कस्तो थियो ? भनी आफूले सापटी लिएको रुपैयाँ तिर्न नसक्दा मनमा उब्जेका खुल्दुलीलाई मनोवैज्ञानिक आधारमा दर्शाउनु भएको छ।
बानर बनेर उफ्रिँदा- सबैलाई टेलिभिजनले तानेको छ। मोबाइलले खिचेको छ। नौटंकी हेर्न झै चारकोस पर पैदल हिँड्नु पर्दैन, कसैले। युटुबमा घण्टौं रमाउने बानी परेको छ। (पृष्ठ ११३)
मध्यरातमा रामायण र नौटंकी हेर्दाको पूर्व स्मृतिको चक्करले उसबेलाको मनोरञ्जनका आधारलाई सम्झदै समयसँगैको बदलावलाई ऐलेको परिस्थिति संग दाँज्नु पनि परिवर्तनको नै मानक हो। र, नवपीढिका लागि ऐना।
मुरही कचरीले थकान मार्दा- प्याजीको नाम सुन्नासाथ मुखबाट पानी रसायो। चार दशकअघि खजुरी रेल्वे स्टेसनमा खाने प्याजी र मुरही–चिउराको सम्झना मुखको पानीझै दिमागमा सरोवरी फैलियो। (पृष्ठ ११९)
ऐलेको चाउमिन पिजा वर्गरले विस्थापित उबेलाका गाउँका ठेलामा पाक्ने स्थानीय खाजाको स्वादलाई सम्झिँदै अनि हाम्रो परम्परा र संस्कृति कसरी लोप हुँदै गए ? भनी खाजा संस्कृति र परम्पराकोे महत्व दर्शाउनु भएको छ ?
साथी हो, आज परोर पाकेको छ- महँगा तरकारी मेसमा पाक्दैन थियो। त्यसैले मेसमा परवर वर्जित झैँ थियो। त्यतिखेर परोर आठ आना किलो थियो कि ?(पृष्ठ १३१)
त्यसदिन मेसमा सितिमितीसंग परोर (परबर) को तरकारी पाकेको होइन। कृष्ण सरले एम.ए. पास गरेको खुशीयालीमा सरको कृपाले थियो। स्रष्टाको सम्झना भने ताजै लाग्दछ किनकि महंगीको जमाना हो यो त।
कुर्थीदालको बास्ना र साइँला मामा, कुर्थी अर्थात गहतको दाल खानेलाई उहिले हेपिन्थ्यो। तर, आज त्यही कुर्थीको माग बढेको छ। कुर्थीको औषधीय गुणले यसलाई भान्सासम्म पुर्याएको छ। र, लेखकको लागि मेरो लागि साइँला मामालाई सम्झिने एउटा आधार बनेको छ कुर्थी। (पृष्ठ १३९)
मधेशको पारिलो हिउँदका घाम, अर्गानिक शुद्ध आहार (दाल, भात तरकारी) मुरही, कचरी र झिल्लीको स्वादलाई पाठकसामु शब्दले पस्किनुका साथै खासमा कुर्थी (गहत), कोदो, फापर जस्ता अन्न हाम्रो लागि अति उपयोगी छन् त्यसैले अन्नलाई हेला नगरौं भन्ने सन्देश छ।
घुरको धुवाँ संस्मरणसंग्रह पढ्दा पढ्दैमा पाठकका बाल्यकाललाई ब्युझाई खुशी उमार्ने शक्ति पैदा गराउँदछ। यस्तै करिव चार वर्ष पहिले प्रा. डा. गोविन्दराज भट्टराईज्यूको सम्झनाको सागरमा केही दिन (२०७२) संस्मरण संग्रह पढ्ने अवसर पाएको। सो संस्मरण पढ्दा मन पुलकित भएको महसूस गरेकाले थोरै सन्दर्भ जोड्ने जर्मको गरे।
सम्झनाको सागरबाटै लिएका केही सन्दर्भ, मंसिरको त्यो चिसो स्याँठमा देउथानको जात्रा, रेडियो भिरेको, जुल्फी कोरेका, काटेका, धान नाच, बेघा दाजु, सुवेदी कान्छो, वाला चतुर्दशीमा देउथानमा लाग्ने जात्रा, फुपूकी छोरी जात्रामा चिउरा बेच्न जाने तयारी, भर्तीवालाहरु बुट बजाएर ‘आरिन्ने’ भन्दै हिँडेका, सुनले झकिझकाउ सुब्बिनीहरुले ‘आम्बो’ भनेका, उसिनेका तरुलको हरहर बास्नासँगै पहाडी जनजीवनसँग जोडिएको हाट बजारको रमझमको झल्को पाइन्छ।
साथै स्कूलको गिरानमा फालिन लागि पीटी खेलेको, घाँसका भारीसँगै, पानीको गाग्रासँगै, माथ्लो गाउँका स्कूल जान नपाएका हामीजस्ता केटाकेटीले डिलमथिबाट हाम्रो तमासा हेरेको लेफ्टराइट लेफ्ट। विद्यालयको नाच लिएर घरघर हिँडेको मादल, हार्मोनियम, झ्याली र मझिराको तालमा महाजनकी कान्छी छोरी पार्वतीले कति राम्ररी नाचेको।
उबेला पहाडमा छँदा ठाडे खोला बगरको त्यो वनभोजमा ब्राह्मण परिवारको सन्तान भएकै कारण भोकै बस्न परेको जस्ता सस्मरणले पहाडी जनजीवनको चित्रण गरे झैं त्यसरी नै राजेश खनाल सरको घुरको धुँवाले ऊबेलाको मधेशी समाजको यर्थाथ चित्रण गरेको छ।
घुरको धुवाँमा स्रष्टाले रामलीलाको सन्दर्भ उठाउनु भएझै हाम्रो पूर्वी तराई (मधेश) झापातिर पनि रामलीलाको चलन थियो। त्यतिबेला मनोरञ्जनको अन्य कुनै साधन थिएनन्। त्यसैले सिनेमा, टिभी आदिको चलन आएपछि रामलीला, नाटक आदि क्रमशः विस्ताफित हुँदैगए।
घुरको सन्दर्भलाई बुझ्दा घुर एक अपरिहार्य परम्परागत उर्जा स्रोत हो। यसले केवल चिसोबाट बचाउँछ अनि मधेशी संस्कृतिमा चल्तिको घुर (खाने परिकार) संस्कृतिसँग पनि जोडिएको पाइन्छ।
मधेशमा घुरको विशेष महत्व रहेको पाइन्छ। समग्रमा घुरको धुवाँ संस्मरणको बिम्ब भनौं वा पृष्ठभूमि मधेशको वैभवशाली सभ्यता र संस्कृतिभित्रको चित्रण हो।
मधेशी सभ्यता र संस्कृतिसँग परिचित स्रष्टाले मधेशको वास्तविक पनलाई सुन्दर र रोचक ढंगले प्रस्तुत गर्नु भएको छ।
दमक, झापा
















Facebook Comment