दोलखाका अर्जुन पार्चुगलमै अस्ताए
लिस्बन। वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाले आत्महत्या गरेका छन्। विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका दोलखाको तामाकोशी गाउँपालिका-६, ढिकीचौरका ३३ वर्षीय अर्जुन आपगाईंले झुन्डिएर आत्महत्या गरेका हुन्।
खाना खाएर सुत्न गएका आपगाईंले आइतबार बिहान भान्साकोठामा झुन्डिएर आत्महत्या गरेको पोर्चुगलमै रहेका उनका भाइ शिवजी आपगाईंले जानकारी दिए। सँगै बस्ने साथी राति कोठामा पूग्दा उनी भान्साकोठामा झुन्डिएको अवस्थामा देखेपछि दाजुका साथीहरूले आफूलाई खबर गरेको आपगाईंले बताए। दाजुले के कारणले आत्महत्या गरेका हुन् भन्ने विषय भने खुलिनसकेको उनले बताए।
दाजुको घटनाको विषयमा घरपरिवारलाई जानकारी गराइसकेको र दाजुको अन्त्यष्टि पोर्चुगलमै गर्ने पारिवारिक सल्लाह भएको बताउँदै उनले शव व्यवस्थापनका लागि पोर्चुगलस्थित नेपाली समुदायसँग सहयोगको याचनासमेत गरे। उनको शव परीक्षणका लागि बेजास्थित अस्पतालको शवगृहमा राखिएको छ।
वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल आएका उनी बेजास्थित एक कृषि कम्पनीमा कार्यरत थिए। घरका जेठा सन्तानसमेत रहेका मृतक आपगाईंको वृद्ध बुबाआमा, श्रीमती, एक छोरी र एक छोरा नेपालमा रहेका छन्।
















Facebook Comment