मिक्लाजुङ अस्पताललाई व्यवस्थित बनाउन सरकारले आवश्यक सहयोग गर्छः स्वास्थ्यमन्त्री पौडेल
पथरी (मोरङ)। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यहाँको मिक्लाजुङ गाउँपालिकास्थित मिक्लाजुङ अस्पताललाई व्यवस्थित बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका छन्। आज यहाँ बालमैत्री अस्पताल भवनको उद्घाटन गर्दै उनले सहज सेवा प्रवाहका लागि चाँडै व्यवस्थित परीक्षण प्रयोगशाला बनाउन आवश्यक उपकरण र अन्य सुविधा उपलब्ध गराउने बताएका हुन्।
मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग देशका विभिन्न एक सय स्थानमा प्रयोगशाला बनाउने सम्झौता भएको र त्यसमध्ये मिक्लाजुङ अस्पतालमा पनि व्यवस्थित प्रयोशाला बनाइने घोषणा गरे। उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार सरकारको प्राथमिकता रहेको बताए।
गाउँपालिका अध्यक्ष बबिकुमार राईले अस्पतालमा दन्त उपचार सेवा शीघ्र सुरु हुने जानकारी दिए। उपाध्यक्ष दिनेश पौडेलले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर निरन्तर काम भइरहेको बताए।
कार्यक्रममा अस्पतालका लागि जग्गा प्रदान गर्ने दाताहरूलाई सम्मान गरिएको थियो। संघीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा करिब रु एक करोड ९८ लाख ६१ हजार २८३ को लागतमा यहाँ बालमैत्री अस्पताल भवन निर्माण गरिएको हो।







डिसी नेपाल








Facebook Comment