‘छलफलबाट उखु किसानका माग सम्बोधन गर्नुपर्छ’

डिसी नेपाल
१२ भदौ २०८२ १७:४३
24
Shares

महेन्द्रनगर (धनुषा)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका माग सम्बोधन गरी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले सरोकार भएका निकायसँग छलफल गर्नुपर्ने बताएका छन्।

आज जनकपुरधाम विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले उखुको उत्पादन बढाउने विषयमा सरकारले सरोकार भएका निकायसँग छलफल गरी आवश्यक पहल गर्नुपर्ने सुझाव दिए। सरकारले आन्दोलनमा रहेका उखु किसानका माग तत्कालै सम्बोधन गरी उहाँहरूलाई उत्पादन वृद्धिमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

कृषि मन्त्रालयले किसानलाई अनुदानबापतको ७० रुपैयाँ उपलब्ध गराउन महामन्त्री थापाले आग्रह गरे। उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेसको सहकार्यमा बनेको वर्तमान सरकारमा केही असमानता रहे पनि सरकार परिवर्तन नहुने उल्लेख गरे।

उखुको मूल्य तोक्न ढिलाइ गर्ने, भुक्तानीमा समस्या हुने, अनुदान नपाउनेलगायत किसानसँग जोडिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्न तत्काल छलफलका माध्यमबाट उपाय खोज्नुपर्ने उनको भनाइ छ। उखु किसानद्वारा गरिएको आन्दोलनलाई प्रधानमन्त्री र अर्थमन्त्रीले कुनै प्रतिष्ठाको विषय नबनाउने हो आजै समस्या समाधान हुने उनले धारणा राखे।

‘चालु आर्थिक वर्षमा अनुदानका लागि रु दुई अर्ब बजेट छुट्याइएको छ। कृषकलाई अनुदान उपलब्ध गराउन उक्त रकम छुट्याइएकाले समस्या समाधान गर्न कुनै द्विविधा छैन’, थापाले भने। उनले किसानका माग पूरा गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न सरकारले छलफल गर्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.