भएभरका राष्ट्रिय सम्पत्ति स्वाहा भएपछि संरक्षण गर्न सेनाको विज्ञप्ति

डिसी नेपाल
२४ भदौ २०८२ १८:०९
916
Shares

काठमाडौं। जेनजी पुस्ताको प्रदर्शनका क्रममा अधिकांश राष्ट्रिय सम्पत्ति जलेर राख भएपछि नेपाली सेनाले त्यसको संरक्षण गर्न आग्रह गरेको छ।

प्रदर्शनकारीले सिंहदरबार, संसद भवन, प्रहरी चौकी, राष्ट्रपति भवनसमेतमा आगजनी गरेर ध्वस्त बनाएपछि नेपाली सेनाले विज्ञप्ति जारी गर्दै ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको जनाएको हो।

नेपाली सेनाले विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको दायित्व भएकाले विद्यमान परिस्थितिलाई थप जतिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकताmलाई कायम राख्दै संयमित हुन युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको हो।

सेनाले भनेको छ, ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ।’

सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरुबारे नेपाली सेनाले विश्लेषण गरिरहेको उल्लेख गरेको छ।

‘यस आन्दोलनको क्रममा हुनपुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति नेपाली सेना हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दछ’, सेनाले भनेको छ, ‘साथै घाइते बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ।’

सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहिआएको उल्लेख गर्दै युवाहरुलाई संयमित रहन आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.