लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्छः मानवअधिकार आयोग

डिसी नेपाल
२५ भदौ २०८२ १८:१८
4
Shares

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै संकटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आमनागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएकाले सबैले आआफ्नो भूमिका निर्वाह गर्न आयोगले आग्रह गरेको बताएका छन्।

आयोगले वर्तमान अन्योलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्ने बताए। ‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ। अतःजनताका हकअधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्योलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनु पर्दछ’, आयोगले भनेको छ।

आयोगले देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबैपक्ष संयमित हुनु पनि आग्रह गरेको छ।

‘विगत दुई दिनमा घटेका हिंसात्मक कार्य, आगजनी र तोडफोडले देशको ठूलो जनधनको क्षति भएको दुःखद् घटनाप्रति सबैको चिन्ता हुनु स्वाभाविकै हो। अब यसप्रकारका घटना हुने छैनन् भन्ने कुरामा विश्वस्त हुँदै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन हुन आयोग सबैमा आह्वान गर्दछ’, आयोगले अगाडि भनेको छ।

आयोगले सम्बद्ध सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्योलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक रहेको भन्दै यसका लागि राष्ट्रिय मानव अधिकार आयोग आवश्यक भूमिका निर्वाह गर्न सदैव तत्पर रहेको बताएको छ।

आयोगका प्रवक्ता डा पोखरेलले काठमाडौंलगायत देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा आयोगले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ।

उनले देशका विभिन्न सहरमा भएको दुई दिनको प्रदर्शनपश्चात् लागेको निषेधाज्ञाको समयमा समग्र मानवअधिकारको स्थिति एवं मृतकका परिवार र घाइतेहरूको अवस्था बुझ्ने कार्यलाई आयोगले आज पनि निरन्तरता दिएको जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.